Friday, 22 September 2017 05:36 pm, Nepal

सार्क सम्मेलनको तयारी उत्साहप्रद

मेचीकाली : 2014-11-23 14:02:14


सम्मेलन भव्य र सभ्य बन्नुपर्छ – सर्वसाधारण
    काठमाडौँ, ७ मंसिर :

सार्क सम्मेलनको पूर्वसन्ध्यामा सिङ्गारिएको काठमाडौँले यतिखेर काठमाडौँमा बसोवास गर्ने सर्वसाधारणलाई सधैँ सार्कजस्तै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा भए हुन्थ्यो भन्ने इच्छा जगाएको छ ।सार्कलाई लक्षित गरी भइरहेका काठमाडौँका मुख्यबजार क्षेत्रको सरसफाइ तथा रङ्गरोगनले चिटिक्क सजिएको वर्तमानको काठमाडौँ वास्तवमा नै हेर्न लायक छ ।

    काठमाडौँका मुख्यस्थल नयाँ बानेश्वर, सिंहदरबार, रत्नपार्कलगायतका क्षेत्रमा देखिएको सुन्दरताले प्रत्येक सर्वसाधारणको मन लोभ्याएको छ ।

    रानीपोखरीको सुन्दरता होस् वा रत्नपार्क, न्युरोड, कालीमाटीलगायतका क्षेत्रको सरसफाइ होस् यतिखेर सरकारले अनुकरणीय काम गरेको सर्वसाधारणको ठम्याइ छ ।

    विगत दस वर्षयता कालीमाटीमा किराना व्यवसाय सञ्चालन गर्दै आएका हरि तिमिल्सिना सार्क सम्मेलनका कारण करिब एक महिनादेखि गरिएको काठमाडौँको सडक सुधार तथा सरसफाइले यतिखेर काठमाडौँको पहिचान नै फेरिएको बताउनुहुन्छ ।

    विदेशी राष्ट्रका अतिविशिष्ट पाहुनाको आगमन हुने सम्मेलनका लागि हाल गरिएको सरसफाइ तथा सडक सुधार कार्य सरकारले नियमित रुपमा गर्नुपर्ने काम भएको बताउँदै उहाँले यसको निरन्तरता आवश्यक हुने बताउनुभयो ।

    सरसफाइ तथा सडक सुधारका लागि सरकारले काठमाडौँमा धेरै खर्च गरिसकेको छ यदि यस कार्यले निरन्तरता नपाउने हो भने सम्मेलन सकिएको केही दिनमा नै यो अर्बौं रुपैयाँको खर्च बालुवामा पानी हाले जस्तो हुन्छ– उहाँले भन्नुभयो ।

    सार्कका लागि भइरहेको तयारीले काठमाडौँ बल्ल राजधानी जस्तो बनेको बताउनु हुने कलङ्कीका वासुदेव वाग्लेको सार्कको तयारीमा गरिएको अर्बौंको लगानी दिगो हुने गरी सरकारले उचित व्यवस्थापन गर्नुपर्ने भनाइ छ ।

    सार्क राष्ट्रका अतिविशिष्ट अतिथि आउने सम्मेलनसँग नेपालको इज्जत एवम् प्रतिष्ठा जोडिएका कारण यस सम्मेलनको सफलता र अतिथिलाई प्रशन्न हुने किसिमको वातावरण तयार गर्नु प्रत्येक सर्वसाधारणको कर्तव्य भएको उहाँले बताउनुभयो ।

    सरकारले नियमित रुपमा गर्नुपर्ने आधारभूत सरसफाइ तथा सडक व्यवस्थापन सार्क सम्मेलनपछि पनि निरन्तरता दिए काठमाडौँको स्वच्छता र सौन्दर्यता वर्षौंसम्म रहिरहने विद्यार्थी फोटोकपी एण्ड स्टेसनरी सेन्टरका प्रोपाइटर गङ्गाधर पौडेलले बताउनुभयो ।

    सम्मेलनको सुरक्षालाई दृष्टिगत गरी सरकारले काठमाडौँमा गरेको शैक्षिक संस्था चार दिन तथा सम्मेलनका दुई दिन सम्पूर्ण बिदा र ८ गतेदेखि १३ गतेसम्म गरिएको सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली पनि यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

    भोलिदेखि सुरु हुने जोर बिजोर ट्राफिक प्रणालीका कारण ९ गतेदेखि १२ गतेसम्म भनिएको शैक्षिक संस्था बन्द व्यावहारिक रुपमा भने भोलिदेखि नै बन्द गर्नुपर्ने अवस्था आएको शैक्षिक संस्थाका सञ्चालक बताउँछन् ।

    सार्क सम्मेलन राष्ट्रकै गौरवको विषय भएका कारण सुरक्षालगायतका कारणबाट सर्वसाधारणमा पर्न जाने असुविधालाई सबैले सहजरुपमा लिनुपर्ने हेनरीफोर्ड इन्टरनेसनल कलेज कलङ्कीका सहायक क्याम्पस प्रमुख हेमचन्द्र ढकालको तर्क छ ।

    सार्क सम्मेलनको तयारी सबैका लागि उत्साहप्रद छ यो आम नेपालीको इज्जत र प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको विषय भएका कारण यसलाई भव्य र सभ्य बनाउनु पर्छ – ढकालले भन्नुभयो ।

    देशको समृद्धि तथा विकासका लागि सम्मेलनका क्रममा सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले नेपालका ऐतिहासिक स्थल भ्रमणका लागि देखाएको इच्छालाई सरकारले सहर्ष स्वागत गरी त्यसको उचित प्रबन्ध मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

    अर्घाखाँची घर भई स्नातकोत्तर तहको अध्ययनका सिलसिलामा काठमाडौँ बस्दै आएका विद्यार्थी उमानाथ पोख्रलको सम्मेलनलाई नेपालको गरिमा उँचो बनाउने अवसरका रुपमा उपयोग गर्नुपर्ने विचार छ ।

    पर्यटकीयलगायतका पर्याप्त सम्भावना भएको नेपाल जस्तो देशका लागि यस्ता सम्मेलन अत्यन्त उपयोगी हुने बताउँदै उहाँले सम्मेलनले दक्षिण एसियाली क्षेत्रका पर्यटकीय विकासलगायतका एजेन्डालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु