Tuesday, 26 September 2017 04:56 pm, Nepal

सार्क बडापत्र संशोधन गर्न सुझाव

मेचीकाली : 2014-11-22 18:44:24


हरि लामिछाने
काठमाडौँ, ६ मंसिर  :

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को १८ औं शिखर सम्मेलनमा सार्क बडापत्र संशोधन गर्ने विषयमा आवाज उठाइने भएको छ ।  सार्क स्थापनाको लक्ष्य तथा उद्देश्यअनुरुप उपलब्धि हासिल गर्न द्विपक्षीय सहमति तथा असहमति बाधक भएकाले त्यसलाई हटाउन बडापत्रमा संशोधन गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो ।

क्षेत्रीय विकास र व्यापार प्रवद्र्धनसम्बन्धी बहुपक्षीय मुद्दाहरु ओझेलमा नपरुन् भन्नाका लागि सार्कका आधारभूत संरचनामा केही संशोधन गर्नुपर्ने सुझाव विज्ञले दिएका हुन् । सार्कको लक्ष्यअनुसार सार्क क्षेत्रको आर्थिक क्रियाकलापलाई गति दिन बडापत्र परिमार्जन गर्नु उचित हुने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालको सुझाव छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को निद्र्रिष्ट लक्ष्यअनुरुप आर्थिक क्रियाकलापलाई अघि बढाउन पनि द्विपक्षीय सम्झौताको प्रभावलाई ध्यान दिनुपर्छ ।

अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेलले विकासोन्मुख मुलुकले व्यापारमा तुलनात्मक लाभ पाउने वातावरण सिर्जना गर्न क्षेत्रीयस्तरमा छलफल हुन जरुरी र यो आवश्यकतालाई आसन्न सार्क शिखर सम्मेलनले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक, आर्थिक तथा राजनीतिक तहमा हुने द्विपक्षीय र बहुपक्षीय सम्झौताबीच तालमेल नहुँदा निर्धारित लक्ष्यलाई हासिल गर्न नसकिएकाले सार्कको आधारभूत संरचनामा केही परिवर्तन गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिनुभयो ।

भारत र पाकिस्तानबीच सुमधुर सम्बन्ध कायम नहुँदा  साफ्टाको मुख्य उद्देश्य प्राप्त गर्न नसकिएको गुनासो आउने गरेको छ । त्यस्ता गुनासालाई सम्बोधन गर्न पनि द्विपक्षीय मुद्दामा बहस गर्न सक्ने गरी बडापत्रमा संशोधन हुन जरुरी देखिएको हो । भारत र श्रीलङ्काबीच व्यापार सम्झौता सन् १९९९ मा भएको थियो । त्यस्तै, भारत र बङ्गलादेशबीच सन् २००६ मा व्यापार सम्झौता भयो । यी दुई घटनाबीच सन् २००४ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न बाह्रौं शिखर सम्मेलनमा साफ्टामा सहमति भयो । साफ्टाको प्रावधानभन्दा पनि द्विपक्षीय सम्झौताकै प्रावधानअनुसार व्यापारिक कारोबार हुँदै आएको छ । त्यस्तै नजिर अन्य राष्ट्रमा पनि छ । दक्षिण एसियाभित्र हुने कारोबारको तुलनामा भारत, पाकिस्तान र बङ्गलादेशको व्यापार अन्य देशसँग बढी छ । भारतको कुल वैदेशिक व्यापारको करिब ५ प्रतिशत हिस्सा मात्र दक्षिण एसियाभित्र हुने गर्छ । पाकिस्तानको चाहिँ यो हिस्सा ४ प्रतिशतको हाराहारीमा छ भनिन्छ । भारत र पाकिस्तानबीचको व्यापार सहज हुँदा पनि क्षेत्रीयस्तरमा आर्थिक समृद्धिको ढोका खुल्ने विश्वास गरिएको भएपनि व्यवहारमा त्यसो हुन सकेको छैन ।

प्रा प्याकुरेलका अनुसार नेपाल र भारतबीच व्यापार सम्झौता हुँदा १६८ वटा वस्तुमा भारतले समिकारक महसुल (काउन्टरभेलिङ ड्युटी) नलगाउने भनेपनि नेपाललाई तुलनात्मक लाभ हुने वस्तुमा महसुल लगाएको छ । नेपालले उत्पादन गर्न नसक्ने वस्तुमा मात्र  त्यस्तो महसुलमा छुट दिइएको छ । यस्ता विषयलाई क्षेत्रीय मञ्चमा उठाउन बडापत्र मै संशोधन गर्नुपर्ने आवश्यकता छ । अठारौं शिखर सम्मेलनमा क्षेत्रीयस्तरमा ऊर्जा व्यापार सम्झौता, सेवा र वस्तु निर्वाधरुपमा सबै सदस्य राष्ट्रमा पुग्ने वातावरण सिर्जना गर्नेजस्ता महत्वपूर्ण विषयमा सम्झौता हुन सक्ने भएकाले त्यसको कार्यान्वयन गर्ने आधार तयार पार्न पनि संरचनामा परिवर्तन हुन जरुरी छ ।

सार्क सदस्य राष्ट्रहरुबाट अन्य मुलुकमा रोजगारीका लागि कामदार जाने गरेको यथार्थलाई मनन गर्दै सम्मेलनमा सार्क क्षेत्रकै मजदुरहरुको सेवा शुल्क तथा सुरक्षाका लागि क्षेत्रीयस्तरमै समान धारणा तयार गर्ने योजना रहेको बुझिएको छ । त्यसैगरी, गरिबी निवारणका लागि निश्चित समयसीमा तोकेर कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको छ । त्यस्ता महत्वपूर्ण आर्थिक तथा सामाजिक विषयलाई निर्वाध रुपमा कार्यान्वयनमा लान सकिने वातावरण बन्नुपर्छ ।  भारत–पाकिस्तान सम्बन्धको दृष्टिकोण र अन्य छ मुलुकको आशयको दृष्टिकोणबाट अहिलेसम्म सार्कलाई हेर्ने र बुझ्ने गरिएको छ तर सार्क स्थापनाको उद्देश्य प्राप्तिका लागि पनि यी दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।

सार्कको साझा अवधारणालाई कार्यान्वयनमा ल्याउन तुलनात्मक लाभ भएका स्थानमा क्षेत्रीय केन्द्र स्थापना गर्नुपर्ने सुझाव अर्थशास्त्री प्याकुरेलको छ । जलविद्युत्को सम्भावना भएको नेपाललाई ऊर्जा केन्द्र, सवारी साधन उत्पादनमा आगाडि रहेको भारतलाई अटोमोबाइल केन्द्र र प्राकृतिक ग्यासको सम्भावना रहेको बङ्गलादेशलाई प्राकृतिक ग्यास केन्द्र बनाउन उपयुक्त हुन्छ । त्यसैगरी, सम्भावनाअनुरुप सामूहिक विकास लाग्नेतर्फ ध्यान दिइनुपर्छ । काठमाडौँमा हुन गइरहेको सार्कको १८ औं सम्मेलनले यी विषयहरुमा ध्यान केन्द्रित गर्नुपर्ने विज्ञहरुको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु