Tuesday, 26 September 2017 11:57 pm, Nepal

पारसमाथि अत्याचार !

मेचीकाली : 2014-10-12 16:14:13


उमेश चौहान

थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर पारसप्रति घृणा गर्नेहरूले सामाजिक सन्जालमा आगो ओकलिरहेका छन्, सोमालियास्थित राष्ट्रसंघीय शिविरमा भेटिएको कुपोषित शरणार्थीजस्तो पारसको अनुहार देखेर दया गर्नेहरू चुकचुकाइरहेका छन्, राजालाई विष्णुको अवतार मान्ने कतिपयले यो तस्बिर पारसको होइन, उनको जस्तै अनुहार मिल्ने अरू कसैको रहेछ भन्ने समाचार आओस् भनेर कामना गरिरहेका छन् । तर, सर्वसाधारणको यो घृणा, करुणा र कामनाबाट बेखबर पूर्वयुवराज पारसको अनुहारमा अझै मन्द मुस्कान छ ।

अधिराजकुमार तथा युवराजका रूपमा पारसले नेपाली समाजबाट त्यस्तो आदर कहिल्यै पाएनन् जसको उनी संवैधानिक हकदार थिए । मदिराको लतमा गाडी कुदाउँदै मान्छे किचेर, डिस्कोथेकमा फायरिङ गरेर तथा आफ्नै साथी र श्रीमतीलाई पेस्तोल ताकेर उनी पटक–पटक विवादमा आए । यसमा उनको व्यक्तिगत स्वभावको पनि दोष होला, तर राजपरिवारको सदस्यका रूपमा उनलाई सिकाइएको संस्कार झन् बढी जिम्मेवार छ । राजपरिवारको सदस्यलाई भगवान् बनाउने भन्दै उनीहरूको मानवता खोसियो, त्यसैले शाही परिवारमा पारसभन्दा अघि पनि धेरै धुन्धुकारी प्रकट भए कहिले सुरेन्द्रका नाममा कहिले धीरेन्द्रका नाममा ।

नेपालमा मात्रै किन ? विश्वका सबैजसो शाही परिवारमा टाइप–टाइपका धुन्धुकारी जन्मिएका छन् । नेपालको राजसंस्था त विघटन भइसकेको छ, तर बेलायतको राजसंस्था अहिले पनि संसारभर आदरणीय छ । रानी एलिजाबेथ द्वितीया आजका मितिमा पनि बेलायत मात्र होइन, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्युगिनी, जमैका र बेलिजजस्ता १६ देशकी राष्ट्रप्रमुख हुन् । तर, तिनका नाति प्रिन्स ह्यारी कहिले चरेस घोट्दै गरेका भेटिन्छन्, कहिले पत्रकार कुट्दै गरेका भेटिन्छन् । आमा डायनाको मृत्युपछि प्रिन्स ह्यारी बेलायती सञ्चारमाध्यमका लागि यस्ता सनसनी हुन् जसले डेस्क क्लोज गरिसकेका सम्पादकहरूलाई पनि नयाँ स्क्यान्डल सिर्जना गरेर स्टप द प्रेस भन्न बाध्य पार्छन् ।

पारस अहिले थाइल्यान्डमा बन्दी छन्, तर त्यही देशको राजसंस्था पनि विवादमुक्त छैन । अमेरिकाको बोस्टनमा जन्मिएका र स्विट्जरल्यान्डमा हुर्किएका अहिलेका राजा भुमिबोल अदुल्यादेज १९ वर्षको उमेरमा त्यतिवेला गद्दीमा बसे जब उनका दाजु गोली लागेर आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिए । तत्कालीन राजालाई कसले र किन गोली हान्यो, बन्दुक बोकेर राजाको शयनकक्षसम्म पुग्ने सक्ने दुस्मन को थियो ? यो विषयलाई रहस्यमै राखेर राजा भुमिबोलले थाइल्यान्डमा ६८ वर्ष अविच्छिन्न शासन गरिसकेका छन् । सबैभन्दा लामो शासन गर्ने जीवित राजा भुमिबोलका छोरा महा भाजिरालोङकर्न उमेरले त ५७ वर्षका भइसके, तर उपद्रो गर्न छाडेका छैनन् । थाईभूमिमा चर्चा गर्नु जोखिम मानिन्छ, तर पश्चिमा मिडियाका लागि यी वृद्ध राजकुमार सधै न्युजमेकर हुन् । पहिलो श्रीमतीबाट एउटी छोरी हुँदा उनले गर्लफ्रेन्डबाट पाँचवटी छोरी जन्माइसकेका थिए । आमासँगै बेलायत गएका छोरीहरूलाई अपहरण गरी ल्याएको भनेर ब्रिटिस मिडियामा थाई राजकुमारको निकै ठूलो आलोचना भयो । यी सबै आलोचनालाई बेवास्ता गर्दै नयाँ बेहुली भित्र्याएका राजकुमारको व्यक्तिगत तर आपत्तिजनक भिडियो देखेर संसार चकित भयो । सुट लगाएका राजकुमार र कम्मरमा धागोको एउटा धर्सो मात्र झुन्डयाएकी राजकुमारीले ह्याप्पी बर्थडे टु यु भन्दै कुकुरलाई केक खुवाइरहेको भिडियो दरबारमै खिचिएको थियो । राजकुमारीको तस्बिर पश्चिमा मिडियाले त मोज्याक गरेर छापे, तर जनावरको बर्थडे मनाउँदा जनावरजस्तै नांगै हुनुपर्छ भन्ने भावी राजारानीको विवेक संसारभरि छर्लंग भएको छ ।

शाही सदस्यको उन्माद अनौठो होइन, तर आफ्नो सन्तान निराश, हतास र बर्बाद हुँदा पनि तिनका अभिभावकको बेवास्ता अनौठो र चिन्ताजनक छ । तर, यसमा पनि सर्वसाधारणको घरबारभन्दा नितान्त फरक राजाको दरबारको संस्कार नै जिम्मेवार छ । जब एउटा सर्वसाधारण बालक भोकाउँछ, खेतमा धान रोप्दै गरेका, बगरमा गिटी कुट्दै गरेका र कार्यालयमा किबोर्ड चलाउँदै गरेका आमाको दूध चस्कन्छ, त्यही दूधले जोड्छ सर्वसाधारणको परिवारमा मायाको माला । तर, धाई आमाको दूधले हुर्किएका र तस्बिर खिचाउन मात्र बाबुआमाको काखमा बस्ने अवसर पाएका ती दरबारिया बालबालिका साँच्चै अभागी हुन् । तिनले न आफ्ना बाबुआमाको न्यानो काख पाए, न आफ्ना बाबुआमाको साख जोगाउन सके ।

जावलाखेलस्थित सेन्टमेरिज स्कुलको एउटा प्रसंग निकै मार्मिक छ । तत्कालीन अधिराजकुमारी श्रुति विद्यार्थी हुँदा स्कुलले अभिभावक दिवसमा तत्कालीन महारानी ऐश्वर्यलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो । स्कुल व्यवस्थापनले दरबारीया सचिवहरूसँग जाहेर गरेपछि महारानीबाट ४० मिनेटको समय बक्स भएको थियो । आफ्नै परिसरमा महारानीका लावालस्कर देखेर रंगिबिरंगी नानीहरू खुसीले फुरुंग हँुदै नाचिरहेका थिए, गाइरहेका थिए । नाचगानबीच समय बितेको पत्तै भएन, तर ४० मिनेट बितेपछि महारानीले घडी हेरेर एडिसीलाई घुर्न थालिन् । डराएका एडिसी आयोजकसँग गएर कार्यक्रम समापन गर्न अनुरोध गर्न थाले । आयोजकले भन्न थाले–अधिकाराजकुमारी श्रुतिको विशेष प्रस्तुति त आउनै बाँकी छ हजुर । एडिसीले यो विषय जानकारी गराउँदा पनि महारानीको मन पग्लिएन, उनले फेरि घडी हेर्न थालेपछि एडिसीले निर्धारित समय सकिएकाले कार्यक्रम समापन गर्न निर्देशन दिए । महारानीको यो स्वभाव देखेर पश्चिमा संस्कारबाट आएकी प्रिन्सिपल पनि आश्चर्यचकित भइन् र उनले ठूलो स्वरमा प्रश्न गरिन्, इजन्ट सी अ मदर ? अंग्रेज प्रिन्सिपललाई नै आश्चर्यचकित बनाउने नेपाली आमाको यो कथा सुनाउने प्रत्यक्षदर्शीहरू अहिले पनि जिब्रो टोक्छन् ।

दरबारको नाता कति चिसो हुँदो रहेछ भन्ने उदाहरण पारसलाई हृदयाघात हुँदा पनि स्पष्ट भयो । गत वर्ष फागुनमा बैंककको समितिवेज अस्पताल पुर्‍याइएका पारस अलमोस्ट डेड भनेर समाचार आउँदा उनका बाबुआमा पूर्वी तराईको भ्रमणमा थिए । अपेक्षा थियो, छोरालाई भेट्न बाबुआमा अविलम्ब बैंकक पुग्नेछन् । म ठोकुवाका साथ भन्न सक्छु, पारसलाई जस्तै मलाई केही भएको खबर पाउने हो भने ७० नाघेका मेरा बुबा अर्घाखाँचीबाट जिपको ढोकामा झुन्डिएर, नाइट बसको छतमा बसेर रातारात काठमाडौं आइपुग्नुहुन्छ । तर विस्मय, पारसका बाबुले अन्तिम अवस्थामा पुगेको छोरो भेट्न एअरकन्डिसन भएको जहाज चढेर जाने अवसर पनि सदुपयोग गर्न सकेनन् । पारस अचेत छन् भनेर साताभरि समाचार आइरहँदा पनि उनका बाबुले ज्योतिषिसँग छोरो भेट्न जाने दिन हेराएर समय गुजारे र नौ दिनपछि छोरो होसमा आएपछि मात्र पत्रकारलाई अन्तर्वार्ता दिँदै बैंककतिर गए । यो ढोंग र आडम्बर दरबारमा मात्र चल्छ, सर्वसाधारणको घरमा कहिल्यै देख्नु पर्दैन ।

पारस बैंककमा चौथोपटक लागुऔषधसहित पक्राउ परेका छन् । तर, लागुऔषध खाने पारस एक्लो नेपाली होइनन् । अहिले पनि यो देशमा थुप्रै किसान ज्ञानबहादुरका छोराले गाँजा खान्छन्, थुपै शिक्षक ज्ञानप्रसादका छोराले सिरिन्ज हान्छन् र थुप्रै उद्यमी ज्ञानचन्द्रका छोराले चरेस खान्छन् । तर, तिनका बाबुआमाले छोरालाई गाली गरेर, छोरासँग रोएर, सुधारगृहमा लगेर सुधार्ने प्रयत्नमा हुन्छन् । तर, पारसको दुर्भाग्य, उनी पूर्वराजा ज्ञानेन्द्रका छोरा हुन्, त्यसैले उनको दु:खमा रोइदिने बाबुआमा उनीसँग छैनन् । त्यसैले राजदण्ड समाउने भनेर प्रशिक्षित हातमा हत्कडी लगाएर प्रहरीले तस्बिर खिच्दा पनि उनी मन्द मुस्कान दिन्छन् । उनको लाचार तस्बिर देख्दा लाग्छ–उनी सेल्फ भिक्टिमाइजेसन डिस्अर्डरका सिकार भएका छन् । यो त्यस्तो अवस्था हो जब एउटा व्यक्तिले आफूलाई समाज, परिवार र परिस्थितिबाट सम्पूर्ण रूपमा लुटिएको महसुस गर्छ र आफ्नो पुनरुत्थानका सबै ढोका अँध्यारा देख्छ । त्यो अँध्यारोबाट उज्यालोमा ल्याउने सबैभन्दा ठूलो भरोसा परिवार हो, तर निर्मलनिवासमा यस्तो कठोर आत्माहरूको बास रहेछ, जसले बिग्रेको सन्तानलाई छोए आफ्नो प्रतिष्ठा जान्छ भन्ने आडम्बर पालेको छ । त्यो आडम्बरबाट निस्कने हो भने पूर्वराजा ज्ञानेन्द्रका लागि बेलायतको शाही परिवारकै उदाहरण काफी छ जहाँ दुव्र्यसनी छोरा ह्यारीलाई आफैँ हातमा समातेर दक्षिण लन्डनको पेखामस्थित फेदरस्टोन सुधारगृहमा पुगेका थिए युवराज चाल्र्स । राजकुमार ह्यारी अहिले पनि टाइसुट लगाएर स्विमिङपुलमा हाम फाल्छन्, म पुरुषसँग सहवास गर्न मनपराउँछु भनेर सार्वजनिक रूपमा बोल्छन्, तर उनको परिवार उनीसँगै छ । त्यसैले ह्यारीको हातमा हत्कडी छैन ।

नि:सन्देह पूर्वराजा ज्ञानेन्द्र फेरि कुनै न कुनै रूपमा शक्तिमा आउन चाहन्छन्, राजनीतिशास्त्रले यसलाई असम्भव भनेर इन्कार पनि गर्न सक्दैन । शाहीशक्तिको पुनरुत्थान आफैंबाट नभए बुहारी हिमानी अथवा नाति हृदयन्द्रबाट हुन सक्ला, तर पारसबाट सम्भव हुँदैन भन्ने ठहरमा ज्ञानेन्द्र पुगेका छन् भन्ने देखिन्छ । त्यसैले एउटा सचेत मानसिकताका साथ निर्मलनिवासले छोरा पारससँग दूरी बनाएको छ, भविष्यको एउटा राजनीतिका लागि वर्तमानको एउटा छोराको बलि दिन निर्मलनिवास तयार भएको छ । साँच्चै यसो भयो भने यो शृंखला एउटा छोरा पारसमाथि बाबु ज्ञानेन्द्रको अत्याचारका रूपमा मात्र होइन, मानवतामाथि राजनीतिको अपराधका रूपमा भविष्यले मूल्यांकन गर्नेछ ।

-२०७१ असोज २६ गतेको नयाँ पत्रिकाबाट साभार

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु