Tuesday, 26 September 2017 12:37 am, Nepal

अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न सरकार सफल : शान्ति, स्थायित्व र विकासको बाटोमा अग्रसर हुने आधार तयार

मेचीकाली : 2014-09-06 17:10:41


-शरच्चन्द्र भण्डारी

प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठन भएको वर्तमान सरकारले संविधान लेखनसहित विकास–निर्माणका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएकामा नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वासमा वृद्धि भई शान्ति, स्थायित्व र विकासको बाटोमा मुलुकलाई अग्रसर गराउने आधार तयार भएको छ ।

    संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ, विश्व बैंक र एसियली विकास बैंकजस्ता बहुपक्षीय र चीन, भारत, अमेरिका, जापान, बेलायत, जर्मनी, दक्षिण कोरियालगायत नेपालको विकासका द्विपक्षीय साझेदारले मुलुकको पछिल्लो राजनीतिक एवम् आर्थिक विकासक्रमलाई सकारात्मक रूपमा ग्रहण गर्दै समावेशी विकासको आधारशीला खडा हुँदै गएकामा सन्तुष्टि प्रकट गर्दै नेपालको विकास प्रयासमा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपालको विकासका साझेदारहरूसँग शुक्रबार अर्थमन्त्रालयका भएको छलफलमा अर्थमन्त्री डा. रामशरण महतले शान्ति प्रक्रियालाई निष्कर्षमा टुङ्ग्याएर सबै पक्षलाई मान्य हुने समावेशी संविधान आगामी माघ ८ गतेभित्र जारी गर्न संविधानसभामा प्रतिनिधित्व गरेका सम्पूर्ण दल गम्भीर रूपमा लागेका जानकारी दिँदै सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सरकारले निर्धारण गरेको लक्ष्यमा सघाउन गरेको आग्रहमा दातृ निकायबाट सहायताको बचनबद्धता र प्रतिबद्धता प्राप्त हुनुले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास जागृत गरेको प्रमाणित हुन्छ ।

    छलफलका क्रममा राष्ट्रसङ्घका मानवीय समन्वयकर्तालगायत यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले संविधानसभा, सरकार र अन्य सरोकारवाला निकायको क्रियाशीलताको सराहना गर्दै पारदर्शिता, जवाफदेहिता, सुशासनजस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गरिएका कारण नेपालको सङ्क्रमणकाल शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नु र यहाँको चौतर्फी विकासमा आडभरोसा दिने घोषणा गर्नुलाई वर्तमान सरकारको उपलब्धि मान्नुपर्छ । त्यसमा प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीको योगदानलाई पनि बिर्सन मिल्दैन ।

    मुलुकको विकाससम्बन्धी आवश्यकताको पहिचान, प्राथमिकता निर्धारण तथा विकास प्रयासलाई उपलब्धिमूलक बनाउने कार्ययोजनासहित सामाजिक–आर्थिक रूपान्तरणका संवाहक मानिएका पूर्वाधार निर्माणका क्षेत्र, जलविद्युत्, लगानी, व्यापार, पर्यटन र कृषि क्षेत्रमा बृहत् लगानीको आवश्यकतालाई परिपूर्ति गर्न बाह्य तथा आन्तरिक लगानी भित्र्याउने सरकारी प्रयासमा योगदान गर्ने विकासका साझेदारहरूको वचनबद्धताले पनि सरकार र जनतालाई उत्साहित बनाएको छ ।

    प्रधानमन्त्री कोइरालाले म्यान्माको नेपिटमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग गर्नुभएका उच्चस्तरीय राजनीतिक भेटवार्ता, चीनको युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित दक्षिण एसियाली व्यापार मेला र भारतका प्रधामन्त्रीको शपथग्रहण समारोहका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका कूटनीतिक तहमा राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग भएका भेटवार्ताले नेपालको अन्तर्राष्ट्रिय छवि उजिल्याउन मात्र कारगर साबित भएन, त्यसले पारस्परिक लाभ र हितका क्षेत्रमा ती मुुलुकसँग सहकार्य गर्ने मार्ग पनि प्रशस्त ग¥यो । त्यस्तै उपचारका क्रममा अमेरिका पुग्दासमेत राष्ट्रलाई नै केन्द्रमा राखेर राष्ट्रसङ्घको थप सहयोग र सद्भाव जुटाउन उहाँले महासचिव बानकी मुनलाई भेटेर मातृभूमिप्रतिको आफ्नो दायित्व निर्वाह गर्नुभयो र यसले क्रमिक रूपमा परिणाम देखाउँदै गएको छ ।

    तेइस वर्षपछि नेपाल–भारत संयुक्त आयोगको बैठक हुनु, १७ वर्षपछि भारतका प्रधानमन्त्री द्विपक्षीय भ्रमणमा नेपाल आउनु र सन् १९५० को शान्ति तथा मैत्री सन्धि समीक्षा गर्न भारत राजी हुनु प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारको कूटनीतिक सफलता हो । दुवै मुलुकका प्रधानमन्त्रीको चाहना बमोजिम वर्षौंदेखि थाँती रहेका तथा विवादित विषयमा छलफल गर्ने सहमति हुनु र मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको जलस्रोतको उचित विकास एवम् उपयोगका निम्ति केही दिनअघि मात्र भारतसँग ऊर्जा व्यापार सम्झौता र आयोजना विकास सम्झौता हुनु नेपालका लागि गौरव र गर्वको विषय हो ।

दृढ इच्छाशक्ति बोक्नुभएका प्रधानमन्त्री कोइरालाको राष्ट्रोत्थानको चाहनामा काँधमा काँध मिलाएर अघि बढेमा गरिब राष्ट्रको सूचीबाट माथि उठ्न बेर लाग्दैन भन्ने सन्देश भारतसँगको पछिल्लो सम्झौताबाट पुष्टि भएको छ ।

    नेपालको शान्ति प्रक्रियालाई विश्व समुदायले संसारकै निम्ति अनुपम उदाहरणका रूपमा चित्रण गरिरहेका बेला संविधानसभाको निर्वाचनपछि सरकारको नेतृत्व सम्हाल्नुभएका सन्तजस्ता नेताको नेतृत्वमा गठित सरकारलाई सघाउन भियतनामका गृहमन्त्री, मलेसियाका गृह र मानव संशाधनमन्त्री, बेलायतका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी मन्त्री, संसदीय मामिलासम्बन्धी जापानका उपमन्त्रीको भ्रमणले नेपाल शान्ति र स्थायित्वको मार्गमा अग्रसर भएको सन्देश प्रवाह भयो ।

    यसैबीचमा चीनका अर्थसचिवको भ्रमणले एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक मुलुक बन्ने अवसर नेपाललाई प्राप्त भयो । नेपाल र बेलायतबीच परामर्श संयन्त्रको पहिलो बैठक पनि सम्पन्न मात्र भएन बेलायतका विदेश मामिलासम्बन्धी मन्त्रीले नेपालको भ्रमण पनि गर्नुभयो । संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् शान्ति स्थापना विभागका प्रमुखले नेपाली शान्ति सेनाको सौर्यको प्रशंसा मात्र गर्नुभएन उनीहरूलाई उपलब्ध हुँदै आएको पारिश्रमिक बढाउने घोषणा पनि गर्नुभयो । यसलाई मुलुकको कूटनीतिक सफलता र उपलब्धि मान्नुपर्छ ।

    सहयोगका निम्ति हात फैलाउने मात्र होइन मौकामा हीरा पनि फोर्नुपर्छ भन्ने मान्यताअनुसार प्रधानमन्त्री कोइरालाले नोबेल शान्ति पुरस्कारबाट सम्मानित म्यान्माकी प्रजातन्त्रवादी नेत्री एवम् नेशनल लिग फर डेमोक्रेसीकी अध्यक्ष आङ सान सुचीलाई नेपालको भ्रमण गराएर अन्तर्राष्ट्रिय जगत्मा लोकतन्त्र, विकास र मानवअधिकार रक्षाप्रति आफ्नो सरकारको प्रतिबद्धता जाहेर सफल हुनुभयो ।

    मुलुकको कूटनीति सञ्चालनका शीर्ष व्यक्तित्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्रीकै सुझावमा अल्जियर्समा सम्पन्न असंलग्न आन्दोलन (नाम)को १७ सम्मेलन, चीनसहित समूह ७७ का राष्ट्र तथा सरकार प्रमुखहरूको बोलिभिया बैठकका साथै लण्डन र सोलमा भएका छलफलमा भाग लिएर नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभयो । त्यसले नेपाल राजनीतिक स्थायित्वको बाटोमा अग्रसर भएको सन्देश मात्र प्रवाह गरेन मुलुकको पर्यटन, व्यापार र लगानी प्रवद्र्धनमा पनि योगदान पुग्यो ।

    नेपालमा बन्दै गएको अनुकूल वातावरणलाई दृष्टि गरेर नै अन्तर्राष्ट्रिय दातृ निकायले प्राविधिक एवम् अन्य सहायतास्वरूप चालु आर्थिक वर्षमा झन्डै रु २१ अर्बको सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् भने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि रु १० अर्बको हाराहारीमा भौतिक, आर्थिक एवम् प्राविधिक सहयोग गर्ने लिखित प्रतिबद्धता वर्तमान सरकारसामु गरेका छन् ।

    प्रधानमन्त्री कोइरालाले सत्ता सम्हालेपछि नेपालको विकासका साझेदारमा बढेको विश्वासको परिणामस्वरूप विकास–निर्माणका विविध बीसवटा परियोजनाका निम्ति रु २५ अर्ब ७९ करोड बढी अनुदान प्राप्त भइसकेको छ भने रु ४२ अर्ब ५५ करोड ९० लाख ऋण सहायता प्राप्त भएको छ । यसरी स्थानीय विकास, पेयजल, स्वच्छ ऊर्जा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पूर्वाधार विकासको क्षेत्रमा अनुदान एवम् ऋण सहायता उपलब्ध गराउने मुलुकमा जापान, नर्वे, एसियाली विकास बैंक, बेलायत, साउदी विकास कोष, दक्षिण कोरिया र विश्व बैंक छन् । सात महिनाको अविधिमा यति धेरै अनुदान र सहयोग प्राप्त हुनु सरकारको अर्को उपलब्धि हो ।

    नेपाली काँग्रेसले संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा आफूलाई स्थापित गरे पनि स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा दोस्रो ठूला दल नेकपा (एमाले)लाई सत्ता साझेदार बनाएर पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा गत माघ २८ गते गठन भएको वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्दै आएको छ ।

संवाद, सहमति, सहकार्य र सहमतिबाटै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा अडिग प्रधानमन्त्री कोइरालाले अन्य केही साना दललाई पनि सरकारमा सामेल गराउनाका कारण आगामी माघ ८ गतेभित्र देशलाई नयाँ संविधान दिने एकमात्र अभीष्ट हो । दोस्रो जनआन्दोलनका प्रमुख उपलब्धि गणतन्त्रलाई संस्थागत गर्दै अन्तरिम संविधानको मर्म र भावनाअनुरूप संविधानसभाबाटै संविधान बनाउन संविधानसभा बाहिर रहेका नेकपा–माओवादीसहित ३३ दलसँग उनीहरूको माग बमोजिम सर्वपक्षीय सम्मेलन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधानप्रतिको उहाँको प्रतिबद्धता पुष्टि हुन्छ ।

    व्यवस्थापिका–संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाउनु, २६ मध्ये १७ जना सभासद्को मनोनयन र ढिलै भए पनि छ मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस हुनुले वर्तमान सरकारका कामकारबाहीप्रति आलोचना गर्दै गर्नेहरूलाई गतिलो जवाफ प्रधानमन्त्रीले दिनुभएको छ ।

प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलको धर्म नै आलोचना गर्नु हो र लोकतन्त्रमा सकारात्मक आलोचना र टीकाटिप्पणी अस्वाभाविक होइनन् । संयुक्त सरकारका बाध्यता र सीमा बुझेर पनि बुझ पचाउने कटु आलोचकहरूलाई जनताले राम्ररी परख गर्न पाएका छन् । र, सङ्क्रमणकालीन अवस्थामा सत्ता सञ्चालन गर्नु फलामको च्यूरा चपाउनुसरह हुन्छ भन्ने वास्तविकतालाई पनि उनीहरूले राम्ररी बुझेका छन् ।

    सत्य निरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी ऐन प्रमाणीकरण हुनु, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरी तदनुरूप कार्यसम्पादनमा सरकार जुट्नु, सदनले झन्डै १३ वटा प्रतिस्थापन विधेयकलाई अनुमोदन गर्नु, पेश्की विधेयक पारित गर्नुका साथै समयमै आर्थिक वर्ष २०७१÷७२ को बजेट संसद्बाट सार्वजनिक हुनु कोइराला सरकारका महत्वपूर्ण उपलब्धि हुन् । यद्यपि, आलोचकहरूले ती कामलाई नियमित प्रक्रिया भने पनि त्यसमा सरकारको सक्रिय भूमिका रहेको यथार्थ बिर्सन मिल्दैन ।

    प्रधानमन्त्री कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि भएको राष्ट्रिय योजना आयोगको पहिलो पूर्ण बैठकमा उहाँले देशलाई विकासको बाटोमा अघि बढाउने मूल आधार लोकतन्त्र र राजनीतिक स्थायित्व नै भएको दोहो¥याउँदै लोकतन्त्रको सुदृढीकरणसँगै राजनीतिक स्थायित्वको वातावरण बन्दै गएकाले गरिबी र पछौटेपनको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्ने ठोस योजना तर्जुमा गरी तिनको इमानदार कार्यान्वयनमा जोड दिनुले पनि वर्तमान सरकारको राष्ट्र विकासप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुन्छ । छ दशक लामो योजनाबद्ध विकासको यात्रामा आयोगले विगतको भन्दा परिणाममुखी र जनता केन्द्रित विकासलाई प्राथमिकता दिन आग्रह गर्दै अध्यक्षका नाताले आयोगलाई जस्तोसुकै सहयोग गर्ने दृढता प्रकट गर्नुले विकासप्रतिको उहाँको अठोट एवम् दृढ इच्छाशक्ति मुखरित हुन्छ । सत्ता साझेदारमात्र होइन विपक्षी र संविधानसभा बाहिर रहेका दलहरूले समेत राष्ट्र विकासको महायज्ञका सारथि बन्नु भएका प्रधानमन्त्रीलाई सघाउनै पर्छ ।

अबको आठवर्षपछि देशलाई विकसित मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य प्राप्तिका निम्ति सबै राजनीतिक दल, नागरिक समाज, नेपालको विकासका साझेदार, निजी क्षेत्र र विद्वत् वर्गको सक्रिय सहयोग अपरिहार्य हुन्छ । राष्ट्र निर्माणका काममा दलगत एवम् व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर अघि बढ्नुको विकल्प छैन । नेपालकोे सामाजिक–आर्थिक विकासका प्रशस्त संभावनालाई देखेर नै अन्तर्राष्ट्रिय समुदायले आफ्ना सहयोगी हात बढाउने तत्परता देखाएका छन् । विकासका निम्ति बाह्य सहयोग जुटाउने अवसरको भरपूर उपयोग गर्न पनि नयाँ सोच र जाँगरका साथ लाग्नै पर्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु