Saturday, 23 September 2017 05:51 am, Nepal

‘भ्रष्ट राजनीतिज्ञ’ तथा ‘सम्बन्धवादी पूँजीवाद’ले तेस्रो विश्वको आर्थिक वृद्धि मन्द बनायो

रासस : 2014-08-16 14:45:45


–सुरेन्द्रबहादुर नेपाली

गत साता विश्वमै ख्यातिप्राप्त अर्थशास्त्री तथा भारतीय केन्द्रीय बैङ्क – रिजर्भ बैङ्क अफ इन्डियाका गभर्नर रघुराम राजनले केही ब्याख्यानमा ‘भ्रष्ट राजनीतिज्ञ’ (भेनल पोलिटिसियन्स) तथा ‘सम्बन्धवादी पूँजीवाद’ (क्रोनी क्यापिटलिजम) ले विकासशील मुलुकलाई सीमित व्यक्तिको शासन (ओलिगार्की) मा परिणत गरिदिएको र आर्थिक वृद्धि मन्द बनाएको आरोप लगाउनुभएको छ । सरकारबाट नियुक्त विशेषज्ञ अधिकारीहरू सामान्यतया यस्ता आरोप लगाउनबाट आफूलाई जोगाउँछन् तर स्पष्टवक्ता गभर्नर राजनको भनाइको अर्थ र त्यसको प्रभाव खोज्न थालिएको छ । 

गत साता मुम्बईमा ललित दोशी स्मृति ब्याख्यानमा उहाँले विकासशील मुलुकको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो खतरामध्ये एक ‘मध्यमस्तरीय आय बन्धन’ (मिडल इनकम ट्र््याप) भएको, यस अवस्थामा पूँजीवादले सीमित व्यक्तिको शासन सिर्जना गरेको र त्यसले आर्थिक वृद्धिलाई मन्द बनाएको बताउनुभयो । 

उहाँले भारतीय प्रजातन्त्र तथा अर्थतन्त्र बढी गतिशील भएपनि हालका निर्वाचनमा विगतको ‘सम्बन्धवादी समाजवाद’ (क्रोनी सोसियलिजम) ‘सम्बन्धवादी पूँजीवाद’ (क्रोनी क्यापिटलिजम) मा परिणत भएको र त्यहाँ धनी तथा प्रभावशाली व्यक्तिले भूमि, प्राकृतिक स्रोत तथा सञ्चारका ‘स्पेक्ट्रम’ भ्रष्ट राजनीतिज्ञलाई घुस दिएर प्राप्त गरेको आरोप लगाउनुभयो । यस विषयमा भारतको सर्वोच्च अदालतले जनसरोकारको चासोका मुद्दामा निकैपटक बोलेको छ । 

उहाँले पारदर्शीपना तथा प्रतिस्पर्धालाई मार्दा ‘सम्बन्धवादी पूँजीवाद’ स्वतन्त्र, उद्यम, अवसर तथा आर्थिक वृद्धिका लागि हानिकारक भएको बताउनुभयो । साथै उहाँले सार्वजनिक अभिरुचीलाई विशेष अभिरुचिले प्रतिस्थापन गर्दा प्रजातान्त्रिक अभिव्यक्तिको स्वतन्त्रताका लागि हानिकारक हुने उल्लेख गर्नुभयो । 

सन् २००५ मा अमेरिकी केन्द्रीय बैङ्क ‘युएस फेडरल रिजर्भ’का अध्यक्ष अलान ग्रिनस्पानको बिदाई समारोहमा राजनले तत्कालीन वित्तीय क्षेत्रको आलोचना गर्दै एक विवादास्पद कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले उक्त कार्यपत्रमा वित्तीय विकासले विश्वलाई जोखिमयुक्त बनाएको आरोप लगाउँदै विपत्ती आउनै लागेको बताउनुभएको थियो । कार्यपत्रमा उहाँले वित्तीय क्षेत्रका व्यवस्थापकहरू सानै सम्भावना भएपनि नराम्रो नकारात्मक प्रभाव उत्पन्न गराउनसक्ने जोखिम लिन अभिप्रेरित भइरहेको आरोप लगाउनुभएको थियो । 

राजनको उक्त कार्यपत्रप्रति अमेरिकामा प्रतिक्रिया नकारात्मक थिए । अमेरिकी पूर्व अर्थमन्त्री तथा हार्वर्डका अध्यक्ष लरेन्स समरले उहाँलाई गलत भावनाबाट निर्देशित तथा प्रविधिक विकासको विरोधीको रूपमा प्रस्तुत गर्नुभयो । तर सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटले राजनलाई सही देखायो र सन् २००९ मा वाल स्ट्रिट जर्नलले निकै कम व्यक्तिले मात्र उहाँको विचारलाई अस्वीकार गर्नसक्ने बतायो । 

त्यस समयमा राजनले आपूर्ति पक्षको समाधानका साथमा दीर्घकालिन संरचनागत तथा राष्ट्रिय प्रतिस्पर्धात्मक प्रणाली प्रस्ताव गर्नुभएको थियो । उहाँले औद्योगिक मुलुकलाई उक्त सङ्कटलाई सावधान गराउने तथा गत केही दशकमा गरिएका गल्तीहरू सुधार्ने अवसरको रूपमा लिन आग्रह गर्नुभयो । उहाँले कृत्रिम रूपमा सिर्जना गरिएको कुल गार्हस्थ उत्पादनको पछाडि नलागी सरकारले अर्थतन्त्रका कमजोरीलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

उहाँले अमेरिकामा पछि परेका कामदारलाई शिक्षा दिने, पुनः तालिम दिने, उद्यमशीलता तथा नविन खोजलाई अभिप्रेरित गर्ने, वित्तीय क्षेत्रको सबल पक्षलाई बलियो बनाउने र गलत मार्गमा जान नदिने काम गर्नुपर्ने बताउनुभयो । अर्कोतिर दक्षिणी युरोपलाई व्यापारिक संस्था तथा कामदारलाई प्रतिस्पर्धामा जान नदिने नियम हटाउन, सरकारको उपस्थिति व्यापारिक क्षेत्रबाट घटाउन तथा अनावश्यक र अनुत्पादक नोकरी कटाउन सल्लाह दिनुभयो । 

त्यस समयमा पनि राजनको आपूर्ति पक्षको सिद्धान्तको आलोचना नभएको होइन । अर्थशास्त्रमा किन्सवादी पाउल क्रगम्यानले राजनको आपूर्ति पक्षलाई सुदृढ बनाउने सल्लाह विपरीत माग पक्षलाई सबल बनाउनुपर्ने र वित्तीय अभिप्रेरणा (खर्च, लगानी तथा मौद्रिक अभिप्रेरणा) लाई जोड दिनुपर्ने सल्लाह दिनुभएको थियो । राजन तथा क्रगम्यानबीचको यो विवाद ‘मितव्यय विरुद्ध अभिप्रेरणा’ को विवादको रूपमा अर्थशास्त्रीहरूबीच परिचित छ भनी विकिपेडियाले उल्लेख गरेको छ । 

अन्यत्र जे भए पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाको दुई कार्यकालमा राजन तथा क्रगम्यानको सल्लाहलाई राम्रोसँग उपयोग गरिएको देखिएको छ । त्यहाँ अनावश्यक रूपमा बैङ्कहरूलाई टाटउल्टनबाट जोगाइयो भने, अमेरिकामै उत्पादन विस्तार गर्न उत्पादनशील क्षेत्रमा लगानी र कामदारलाई तालिम दिने कार्यमा व्यापक रूपमा ध्यान दिइयो । 

हालै गभर्नर राजनले टाइम पत्रिकाका माइकल सुम्यानलाई दिनुभएको अन्तर्वार्तामा विश्वको वित्तीय क्षेत्रमा पुनः उथलपुथल हुनसक्ने सङ्केत दिनुभएको छ । उहाँले वित्तीय सङ्कटको समयदेखि केन्द्रीय बैङ्कहरूले उपलब्ध गराएको न्यून ब्याजदरको रकम (सुपरइजी मनी) ले अनावश्यक रूपमा सम्पत्तिको मूल्य बढाएको र खराब क्षेत्रमा लगानी बढाएको आरोप लगाउनुभएको छ । 

पूर्व भारतीय सरकारी कर्मचारीका छोरा ५१ वर्षीय राजनले उक्त अन्तर्वार्तामा मौद्रिक नीतिले केही हदसम्म मात्र राम्रो काम गर्नसक्ने र त्यसलाई त्योभन्दा बढी प्रयोग गरे त्यसले राम्रो गर्नुसट्टा नराम्रो गर्ने बताउनुभएको छ । उहाँले यस अवधिमा विश्वमा सबै प्रकारका सम्पत्तिको मूल्य अनावश्यक रूपमा बढेको बताउनुभएको छ । उहाँले लगानीको क्षेत्र खोज्दा सबै क्षेत्रमा यस्तो अवस्था देखिएको उल्लेख गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख अर्थशास्त्री राजन यस विषयमा अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष जेनिट यालिनको नीतिसँग सहमत हुनुहुन्छ र उहाँले बजारमा दिइएको अभिप्रेरणालाई विस्तारै फिर्ता लिइ पुनः उच्च ब्याजदर लगाउनुपर्ने बताउनुभएको छ । उहाँले हाल विश्वको अर्थतन्त्र एउटा खाडलमा परेको र यस अवस्थामा छिटो र व्यापक परिवर्तन गर्दा ठूलो क्षति पुग्नेभएकाले विस्तारै र अनुमान गर्न सकिने अवस्थामा यस खाडलबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

सिकागो विश्वविद्यालयका वित्तशास्त्रका प्राध्यापक तथा भारतका अर्थमन्त्रालयका पूर्व प्रमुख आर्थिक सल्लाहकार राजनले भारतमा व्यापारिक समूदायको ठूलो दबाबका बीच अझै पनि केन्द्रीय बैङ्कको ब्याजदरमा कटौती गर्न अस्वीकार गर्नुभएको छ । उहाँले यसबीच अमेरिकी डलरमा लगानी गर्ने लगानीकर्ताहरू भारतबाट पलायन हुँदा खस्कदै गएको रूपैयाँलाई स्थिरता दिनुभएको छ । लगानीकर्ताहरू पुन भारततर्फ आकर्षित भएका छन् । भारत मौद्रिक रूपमा अति संवेदनशील स्थितिबाट बाहिर आएको छ । उहाँले हाल भारतको नयाँ मोदी सरकार तथा उसको केन्द्रीय बैङ्क अन्य कुरामा नभए पनि मुद्रा स्फीति कम गर्ने उद्देश्यमा समान धारणामा रहेको बताउनुभएको छ । 

भारतका सन्दर्भमा गभर्नर राजनले मुलुकले राजनीतिमा केही राम्रा व्यक्तिको खोजी गरेको, केही उदाउँदा उच्चमध्यम बर्गका पेसागत व्यक्तिहरूले यस मागलाई स्वीकार गरेको तर उनीहरू निर्वाचनको समयमा आफ्नो जमानत पनि फिर्ता लिन नसक्ने गरी पराजित भएको बताउनुभएको छ ।

उहाँले भ्रष्ट राजनीतिज्ञहरूले गरिब तथा विपन्न जनतालाई निर्वाचनमा विजयी हुन सार्वजनिक सेवामा न्यून पहुँच दिने गरेकाले पनि उनीहरू आफ्नो पदमा कायम रहन सफल भएको धारणा राख्नुभएको छ । भारतमा त्यसै पनि सरकारले उपलब्ध गराउने सार्वजनिक बस्तुमा गरिब र विपन्न बर्गको पहुँच पुग्दैन । रासन पसलमा रासन पाइँदैन, शिक्षकहरू सरकारी विद्यालय जाँदैनन्, प्रहरीले अपराध दर्ता नै गर्दैनन्, सरकारी अस्पतालमा कर्मचारी हुँदैन, निशुल्क औषधि प्राप्त गर्न सकिन्न । गरिब जनताको अधिकारको रूपमा रहेका यी कुरा प्राप्त गर्न पनि भ्रष्ट राजनीतिज्ञको भर पर्नुपर्छ र यसैले उनीहरू सफल हुन्छन् र मत प्राप्त गर्छन् । 

यिनै भ्रष्ट राजनीतिज्ञले भ्रष्ट कर्मचारीलाई आफ्नो पक्षमा र आफ्नो निर्वाचन क्षेत्रको पक्षमा राम्रोसँग सञ्चालन गर्न सक्छन् । गभर्नर राजनका अनुसार तेस्रो मुलुकमा यो प्रणाली दिगो भएको छ । यसरी यहाँ एउटा चक्र तयार हुन्छ – गरिब तथा विपन्न जनतालाई नोकरी तथा सरकारी सेवा पाउन राजनीतिज्ञको आवश्यकता पर्छ । भ्रष्ट राजनीतिज्ञलाई यस्ता जनतालाई आफ्नो संरक्षणमा राख्न निर्वाचनमा विजयी हुन व्यापारीको सहयोग चाहिन्छ । भ्रष्ट व्यापारीलाई सार्वजनिक स्रोत तथा ठेक्का सस्तो दरमा प्राप्त गर्न भ्रष्ट राजनीतिज्ञ चाहिन्छ । भ्रष्ट राजनीतिज्ञलाई मत प्राप्त गर्न गरिब तथा विपन्न जनता चाहिन्छ । यसरी हरेक निर्वाचन क्षेत्रमा यस्ता निर्भरताको चक्र तयार भएको हुन्छ र त्यसले परिस्थितिलाई यथावत कायम राख्छ । 

उहाँले हाल बजार अर्थतन्त्रमा व्यक्तिको आय तथा उसको स्तरका कारण सरकारी कर्मचारी, प्रहरी तथा शिक्षकको धारणामा परिवर्तन आउँदै गरेको र बजार अर्थतन्त्रलाई शीपयुक्त व्यक्तिको आवश्यकता पर्ने भएकाले अवस्थामा परिवर्तन हुन थालेको बताउनुभएको छ । यसले सार्वजनिक सेवामा जनताको निर्भरता घट्न थालेको उहाँको धारणा छ । यसैले गरिव तथा विपन्न व्यक्तिलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउनुभन्दा उनीहरूलाई प्रत्यक्ष रूपमा नगद प्रदान गर्नु उपयोगी हुनसक्ने धारणा उहाँले राख्नुभएको छ । 

यसबीच शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकको ६८ औँ स्वतन्त्रता दिवसको अवसरमा जनताको बैङ्क खाता, सो खातामा ऋण सुविधा तथा बिमा सुविधाको बारेमा घोषणा गर्नुभएको छ । विस्तारै सार्वजनिक सेवा यिनै खाताबाट गरिब तथा विपन्न जनतालाई उपलब्ध हुने अपेक्षा अर्थशास्त्रीहरूले गरेका छन् । रासस (स्रोत ः विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाका साथमा इन्टरनेटका सामग्री) 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु