Tuesday, 26 September 2017 02:58 pm, Nepal

फलफूलको बिरुवा बिक्री गरेर वार्षिक सात लाख कमाई

रासस : 2014-08-09 16:59:43


खोटाङ, २४ साउन : फलफूलको बिरुवा बिक्री गरेर खोटाङका एक कृषकले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले बाँझो रहेको दश रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिको फलफूलको नर्सरीबाट उत्पादित बिरुवा बिक्री गरेर वार्षिक सात लाख ५० हजारभन्दा बढीको आम्दानी गर्ने गरेका हुन् ।

आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरिलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायत फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा त त्यति राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षिक रु सात लाखभन्दा बढीको अम्दानी हुने गरेको छ ।”

अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले पनि असर नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उहाँले बताउनुभयो । आचार्यका अनुसार उत्पादित फलफूलको नर्सरी प्रतिवटा रु २० देखि ५० मा घरैबाट बिक्री हुने गरेको छ । 

पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न गाविस, छिमेकी जिल्ला भोजपुर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । नर्सरी खेतीसम्बन्धी धनकुटामा लिएको तालिमपछि आफ्नो नाङ्गो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले जानकारी दिनुभयो । 

पछिल्लो समय उहाँको कमाइ देखेर छिमेकीहरू पनि पुरानो खेती प्रणालीलाई छाडेर आधुनिक खेतीतर्फ लागेका छन् । उहाँ भन्नुहुन्छ, “जाँगर भए यहीँ कमाउन सकिन्छ, कमाउनकै लागि किन अर्काको देश जाने !”

नर्सरीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले थप पाँच रोपनी जग्गामा समेत यसै वर्षबाट खेती गर्ने तयारी गर्नुभएको छ । जिल्लाका कृषकबाट अत्यधिक माग आउन थालेपछि आफूले यसलाई बढाउने तयारी गरेको उहाँले बताउनुभयो । 

जिल्लाका अगुवा कृषकका रूपमा पुरस्कृत भइसक्नुभएका उहाँले गाविसका नौवटै वडामा कृषक समूह गठन गरेर नर्सरी लगाउने तरिकाका बारेमा जानकारी दिएको बताउनुभयो । 

जिल्लामा आफ्नै लगानीबाट उल्लेख्य प्रगति गरेको भन्दै तीन छोरा र एक छोरीका बुबा आचार्यलाई जिल्ला कृषि विकास कार्यालयलगायत विभिन्न सङ्घसंस्थाले सम्मानसमेत गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु