Tuesday, 26 September 2017 12:38 am, Nepal

समाचारले बनाइदियो आइतबहादुरको घर

रासस : 2014-08-08 14:20:07


-केदार मगर

खोटाङ, २३ साउन : पाँच भाइ छोरा एकैसाथ बिरामी परेका थिए । उहाँलाई थाहा थिएन के भएर बिरामी भयो । एकैसाथ बिरामी परेका छोराहरुलाई टुलुटुलु हेर्नुबाहेक कुनै विकल्प थिएन उहाँको । सम्पत्तिको नाममा १२ आना जग्गा, त्यो पनि बन्धकी, एउटा चुहिने घर । 

खोटाङको दिक्तेल–९ सोल्मा (हाल दिक्तेल नगरपालिका–६) का धुस्मन भनिने आइतबहादुर र प्रेमकुमारी राई परिवारको समस्या हो यो । टाइफाइडका कारण पाँच भाइ छोरा ओछ्यानमा छटपटिरहँदा अस्पताल लग्ने खर्चसमेत थिएन उहाँहरुको साथमा । खर्च नभएका कारण ओछ्यानमा छटपटिइरहेका छोरालाई हेरिरहनबाहेक अन्य विकल्प थिएन राई परिवारको । 

टाइफाइडले एकैसाथ बिरामी परेका छोरामध्ये साइँलो छोरा जीवनलाई गरिबीका कारण अस्पताल पु¥याउन नपाउँदै गुमाउनुप¥यो । अस्पताल जाने खर्च खोज्दाखोज्दै २०६९ असार १३ गते करिब ११ वर्षको उमेरमा जीवनलाई बाटैमा गुमाएका हुन् । पैसाको नाममा फुटेको कौडीसमेत नभएका धुस्मन र प्रेमकुमारी राई परिवारमा आइपरेको यो विपत्तिमा साथ दिन कोही तयार भएनन् त्यो बेला । साइँलो छोरो गुमाएर अन्य चार बिरामी छोरा हेर्दै भगवान्को प्रार्थना गरिरहेका राई परिवारलाई अन्य छोराहरु बचाउमा दिलबहादुरको अगुवाइमा आर्थिक सङ्कलन अभियान सुरु भयो । 

राईको नेतृत्वमा सङ्कलन भएको रु पाँच हजार ८०० थापेर राई दम्पतीले चार छोरा नवराज, रोशन, दिवन र दीपेशलाई जिल्ला अस्पताल खोटाङ पु¥याए । तर, थप उपचारका लागि राई परिवारलाई आर्थिक समस्या भने उस्तै रह्यो । ‘डेढ सय रुपैयाँ सापट नपाउँदा राईले साइँलो छोरा गुमाएको, अन्य चार छोराको उपचारका लागि आर्थिक अभाव भएको’ विषयमा स्थानीय तथा राष्ट्रिय छापा तथा विद्युतीय सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भयो । जिल्लामा सबैको ध्यान यसै घटनातर्फ तानिएको थियो । समाचार प्रकाशन÷प्रसारण भएकै दिनदेखि राईको लागि जिल्ला र जिल्ला बाहिरबाट सहयोगी हातहरु जुट्न थाल्यो । समाचारको प्रभावका कारण राई परिवारको सहयोगका लागि रु तीन लाख ५० हजारभन्दा बढी समाचार बाहिर आएको भोलिपल्टै सङ्कलन भयो । 

अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशन भएको समाचारका कारण जिल्लाभित्र र बाहिरका सहयोगीबाट सङ्कलन भएको रु एक लाख पाँच हजार रकम २०६९ असार २१ गतेका दिन राई परिवारलाई हस्तान्तरण गरियो । यस्तै, कान्तिपुर दैनिकमा छापिएको समाचारका कारण हङ्कङ बस्दै आएका खोटाङवासीको पहलमा रु एक लाख १११ साउन २२ गते प्राप्त भयो । उक्त रकम हस्तान्तरण गर्नेक्रममा जिल्लाका सञ्चारमाध्यमबाट खबर पाउने नेता, कर्मचारी, व्यवसायीबाट पनि उत्तिकै मात्रामा आर्थिक सहयोग प्राप्त भयो । 

अन्नपूर्णमा प्रकाशित समाचार पढेपछि उसबेला जिल्लावासीबाहेक काठमाडौँका श्यामकिरण श्रेष्ठ, सोलुखम्बुका ग्याल्जेन शेर्पा र नेपाली काँग्रेस दोलखाका पूर्व सांसद जिपछिरिङ लामाले समेत राई परिवारलाई रु १०÷१० हजार सहयोग रकम पठाएका थिए । कतिसम्म भने सुरुमा नाम खुलाउन नचाहेको श्यामकिरणले ‘नाम नबताए आर्थिक सहयोग लिन्नौँ’ भनेपछि मात्र पत्रकारलाई परिचय खुलाउनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको सो रकम हस्तान्तरण कार्यक्रममा राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठले रु ५०० दिएपछि क्रमशः उपस्थित सबै नेता, गैससकर्मी, कर्मचारीबाट सहयोग रकम जुटेको थियो ।  छोराहरुको उपचारका लागि दयास्वरुप प्राप्त भएको आर्थिक सहयोगबाट राईले चार छोरा बचाए, भएभरका ऋण तिरे र जग्गा किनेर नयाँ तीन तले घरसमेत बनाउन सफल भए । बाह्रै महिना अरुको घरमा बनी गरेर आउने पैसाले परिवार धान्दै आएका राई परिवार छोराहरुको उपचार गरेर बचेको रकमले घर निर्माण गर्नुका साथै ऋण मुक्त बन्यो । 

ऋण लिएको कम्तीमा छ वर्षदेखि ११ वर्ष नाघिसकेका चतुरमान राई, पगरमान राई, सर्वजित राईलगायतको ऋण पत्रकारहरुकै रोहबरमा तिरेर तमसुक च्यात्ने काम भयो । त्यसबेला चतुरमानको रु २० हजार र पगरमानको रु चार हजार ऋण तिरिएको थियो । पत्रकारहरुको आग्रहमा कतिपय साहुले आइतबहादुरका लागि ऋणको ब्याज मिनाहा गरिदिए भने, कतिपयले ऋणसमेत मिनाहाको घोषणा गरेर सहयोग गरेका थिए । उपचारको नाममा जुटेको रकमले फेरिएको नयाँ घर संसारमा अहिले सुखदुःखका साथ जीवन बिताइरहेका छन् । हुन पनि बाबु गजुरमानले सबै जग्गा जमिन सिध्याएकाले आइतबहादुरसँग ओत लाग्ने एउटा जीर्ण र चुहिने घरबाहेक बाँकी केही थिएन । 

तरकारी लगाउने एक चपरी जग्गासमेत थिएन । आर्थिक कमजोरीकै कारण उनले अन्य जग्गा जोड्न पनि सकेनन् । प्रेमकुमारीले भन्नुभयो, “तपाईंहरुको सहयोगले हाम्रा छोराहरु बचे, हामी ऋण मुक्त भयौँ, उपचार खर्च गरेर बचेको पैसाले घर पनि बनायौँ, हाम्रा लागि नयाँ जीवन दिनुभएको छ ।”सबैको सहयोगबाट बचेका चार बालकमध्ये राई दम्पतीको जेठो छोरो नवराजले यस वर्षको एसएलसीमा बिहीबार गणित विषयको मौका परीक्षा दिनुभएको छ भने माइला रोशन गाउँकै हिमालय निमावि कक्षा–८, काइँला दिवन कक्षा–३ मा र कान्छा दिपेश कक्षा–१ मा अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु