Wednesday, 20 September 2017 06:37 pm, Nepal

स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि हेलिकोप्टर चार्टर गरेर अन्यत्र जान बाध्य

रासस : 2014-07-22 10:32:50


खोटाङ, ६ साउन : स्थापनाकालदेखि नै स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि जिल्लाका दुई क्षेत्रका बिरामी चर्को मूल्यमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि अन्यत्र जान बाध्य छन् ।  पन्ध्र वर्षअघि स्थापना भएको ऐसेलुखर्क र चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नआएपछि आसपासका बिरामी उपचारका लागि रु एक लाख ३० हजारदेखि रु एक लाख ५० हजारसम्म तिरेर उपचारका लागि अन्यत्र जान बाध्य भएका हुन् । 

मन्त्रालय र विभागले एमबिबिएस चिकित्सक पठाएको पत्र आए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै चिकित्सक नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका नायब सुब्बा मणिराम ढकालले बताउनुभयो ।

चिकित्सक नहँुदा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य चौकीले सरह मात्र सेवा प्रदान गरिरहेको ऐसेलुखर्क–१ का स्थानीय तेजप्रसाद निरौलाले बताउनुभयो । निरौलाले भन्नुभयो–“गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर चिकित्सक आउँदैनन्, त्यसकारण जटिल किसिमका बिरामीलाई डोकोमा बोकेर वा रु डेढ लाख खर्चेर हेलिकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता छ ।” 

विभागबाट प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा चिकित्सक रवीन्द्र श्रेष्ठलाई पठाइएको पत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आए पनि उहाँ बेखबर छन् । हाल चिकित्सकविहीन सञ्चालन हुँदै आएको ऐसेलुखर्क स्वास्थ्य केन्द्र स्वास्थ्य सहायक ओमजङ्ग शाहीको भरमा सञ्चालन हुँदै आएको छ । 

यस्तै चिसापानी स्वास्थ्य केन्द्र वरिष्ठ अहेब राजकुमार दासको भरमा सञ्चालन हुँदै आएको छ । चिसापानी स्वास्थ्य केन्द्रका लागि तोकेर पठाइएका चिकित्सक पुजन बल्ललाई जिल्ला अस्पताल दिक्तेलमै राखिएको छ । 

मेडिकल सुपरिटेन्डेन्ट कल्याण बस्नेत लामो समयदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बसेको र मेडिकल अधिकृत ओमबिजु पन्त अध्ययन बिदामा रहेकाले स्वास्थ्य केन्द्र चिसापानीका लागि पठाइएका चिकित्सक बल्ललाई जिल्ला अस्पतालमै राख्नुपर्ने बाध्यता आएको कार्यालयले जनाएको छ ।

कोही पहुँचका बलमा नआउने र आइहाले पनि काज मिलाएर केही दिनमै फर्कने प्रवृत्तिका कारण स्वास्थ्य केन्द्र लामो समयसम्म चिकित्सकविहीन बनेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक नवलकिशोर झाले बताउनुभयो । तोकिएर पठाइएका चिकित्सकले ठाउँ ओगटेर अन्यत्र बस्दा उनीहरूको ठाउँमा अन्य चिकित्सक ल्याउने कानुनी बाटो पनि बन्द भएको चिकित्सक झाको भनाइ छ । 

महिना दिनअघि मात्र लोकसेवा आयोगबाट ५० अहेव र २९ अनमीको पदपूर्ति गरिए पनि जिल्लामा अझै ५१ जना स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालले जनाएको छ । जिल्लामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, २४ स्वास्थ्य चौकी र ४९ वटा उपस्वास्थ्य चौकी सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु