Tuesday, 26 September 2017 11:07 am, Nepal

सरकारको प्राथमिकतामा पर्न सकेन विज्ञान तथा प्रविधि

रासस : 2014-07-05 16:09:00


-रमेश लम्साल

विज्ञान प्रविधिका कारण संसार एउटा गाउँमा परिणत भइसक्दासमेत नेपालमा भने यस क्षेत्रलाई खासै महत्व दिइएको छैन । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएपछि सरकार गठन भएको पाँच महिना बित्न लाग्दासमेत विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले विभागीय मन्त्रीसमेत पाउन नसक्नु यसको गतिलो उदाहरण हो । 

सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाले सम्हाल्नुभएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री कोइरालाको अनुपस्थितिमा सो मन्त्रालयको कामकाज प्रभावित भएको छ । 

सरकारले यही असार १५ गते व्यवस्थापिका–संसद्को बैठकमा आर्थिक वर्ष २०७१÷७२ को नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो । तर विज्ञान तथा प्रविधिको क्षेत्रमा कुनै उल्लेख्य कार्यक्रम भने समावेश हुन सकेन । 

सरकारले आगामी तीन वर्षमा हरेक घरलाई ‘धुवाँमुक्त उज्यालो घर’ बनाउने र वातावरण संरक्षण ऐन, तथा नियमावली परिवर्तन गर्ने तथा जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्नेलगायतका केही कार्यक्रममात्र समेटेको छ ।

 

विज्ञान प्रविधिको क्षेत्रमा काम गरिरहेको विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, विपी कोइराला प्लानेटरी अब्जरभेटरी, विज्ञान प्रविधि सङ्ग्रहालयलगायतका निकायलाई बढी प्रभावकारी बनाउनेतर्फ सरकारले नीति तथा कार्यक्रममा समेट्न सकेको छैन । 

यस्तै जलवायु परिवर्तनको उच्च जोखिममा मुलुक रहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने, कार्बन व्यापारबाट प्राप्त हुने लाभका सन्दर्भमा समेत कुनै पनि विषय समावेश गरिएको छैन । यसबाट सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई हेँला गरेको हो कि भन्ने आभास भएको बताउनुहुन्छ पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश साह । 

उहाँ भन्नुहुन्छ, “सरकारले अन्य क्षेत्रमा गरेको जस्तै लगानी विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि गर्नुपर्ने हो तर विगतदेखि नै त्यस्तो भने हुन सकेको छैन । यसबाट राज्यले सो क्षेत्रलाई कम महत्व दिएको प्रतित हुन्छ ।” राज्यले केही लगानी बढाउने हो भने विश्वका जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र योग्यता भएको जनशक्ति र प्रविधिको विकास नेपाली स्वयम्ले नै गर्न सक्ने उहाँको कथन छ । 

लोकतन्त्रको स्थापना भएपछि गठन भएका सरकारहरु नै हेर्ने हो भने पनि विज्ञान प्रविधि मन्त्रालय सधँै तदर्थमा चलेको देखिन्छ । सो मन्त्रालयले थोरै सङ्ख्यामा मात्र राजनीतिक नेतृत्व पाएको छ । साह, कल्पना धमलाजस्ता एकाध मन्त्रीले मात्र मन्त्रालय सञ्चालन गरेको अवस्था हालसम्म कायम छ । 

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा दिनेश भुजु भन्नुहुन्छ, “विज्ञान प्रविधि जानेको र बुझेको राजनीतिक व्यक्तित्वको अभावमा मन्त्रालय सधैँ पछाडि प¥यो र लगानीसमेत कम हुन गयो, यसबाट पार लगाउनका लागि नागरिक तहबाट पनि राजनीतिक नेतृत्वलाई सचेत गराउनु आवश्यक छ ।” 

सरकारले कम प्राथमिकतामा राखेका कारण सो मन्त्रालयअन्तर्गतका निकायको वार्षिक बजेट एकाध करोडमात्र हुने गरेको छ । अन्तर्राष्ट्रिय दुरसञ्चार सङ्घले अन्तरिक्षमा उपलब्ध गराएको स्थानमा नेपालको आफ्नै भू–उपग्रहसमेत राख्न सकेको छैन । प्राज्ञ भुजुका विचारमा सरकारले सधैँ प्रविधिलाई पछाडि छोड्दै जाने प्रवृत्ति त्यागेर तीव्र रुपमा लगानी बढाउनु आवश्यक छ । 

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल भने सरकारले यस क्षेत्रलाई कम प्राथमिकतामा राखेको भन्ने विचारसँग सहमत हुनुहुन्न । विज्ञान तथा प्रविधिको क्षेत्रलाई कोही कसैले बाहेक गरेर हुने र नगरेर नहुने भन्ने होइन, सरकारको क्षमताअनुसार काम अगाडि बढिरहेको छ । 

आगामी आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट प्राप्त हुने र केही नयाँ कार्यक्रम पनि आउने उहाँको विश्वास छ । 

सचिव पौडेल भन्नुहुन्छ, “अन्य विकास निर्माणलगायतका क्षेत्रमा जस्तो प्राथमिकता भने सो क्षेत्र नपरेको हुन सक्छ, यसलाई सुधार गर्नका लागि सरोकारवाला सबैले सकारात्मक दबाब भने दिनु आवश्यक छ ।”

सरकारले आगामी आर्थिक वर्षको कार्यक्रममा जल तथा मौसमजन्य प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मौसम पूर्वानुमान तथा बाढी भविष्यवाणी प्रणालीलाई सुदृढ बनाउने र चट्याङबाट हुने मानवीय क्षति हुन नदिन वैज्ञानिक विधि अवलम्बन गर्ने र विज्ञान तथा प्रविधिको क्षेत्रमा गुणात्मक विकास गर्ने एजेन्डा अगाडि सारेको छ । 

तर सीमित योजना र कार्यक्रमले सोचेजस्तो उन्नति र प्रगति नहुने भएकाले यस क्षेत्रमा सरकारको थप लगानी तथा प्रतिबद्धता जरुरी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु