Saturday, 23 September 2017 06:05 am, Nepal

रकेट चुलोले ल्याएको खुसी

रासस : 2014-07-05 12:44:33


-कृष्ण अधिकारी

डडेल्धुरा, २१ असार : बिहान झिसमिसेमै भुटेका मकै, चिउरा पोल्टामा हालेर दाउरा खोज्न निस्कने धर्मदेवी रुपाली बेलुका साँझमा मात्रै कुर्लुम्म दाउराको भारी बोकेर घर आइपुग्छिन् । गाउँ नजिकै वन जङ्गल नहुँदा तीन÷चार घण्टा टाढा पर्ने भातडाँडाको जङ्गलबाट दाउरा ल्याउनुपर्ने बाध्यता भोग्दै आएकी अमरगढी नगरपालिका वडा नं ११ रुपाली गाउँकी धर्मदेवीको थाप्लोमा चार दशकदेखि दाउराको भारीले छोडेको छैन । 

घरको कमजोर आर्थिक अवस्था, पाँच छोराछोरीको लालनपालन, पढाइ, बिहे दान उनको एक्लो काँधमा छ । चार वर्षअघि श्रीमान्को पेटको रोगबाट मृत्यु भएपछि ज्याला, मजदुरीबाट मुस्किलले उनको घरखर्च चल्ने गर्दछ । आफ्नो आयस्ताले दुई महिना पनि खान नपुग्ने उनलाई सधैँजसो अर्कैको काम गरेर गुजारा चलाउनुपर्ने बाध्यता छ । 

दाउरा खोजेर वा मेलापातबाट साँझ घर पुगेपछि पनि उनलाई आराम हुँदैन । परम्परागत चुलोमा निस्कने धुवाँले आँखा मिच्दै घरधन्दा गर्नु उनको नियमित कार्य नै थियो । यसले गर्दा ५१ वर्षको उमेरमै आँखा पोल्ने, छाती दुख्नेजस्ता अनेक समस्याबाट पीडित उनको जीवनमा अहिले सुधारिएको रकेट चुलोले नसोचेको परिवर्तन आएको छ । 

गत वर्ष फलामे सुधारिएको रकेट चुलो जडान गरेपछि दाउराको खपत आधा नै कम हुन थालेपछि उनलाई धेरै राहत मिलेको अनुभव भएको छ । उनी भन्छिन्, “पहिले हप्तामा दुई दिनजसो त दाउरा खोज्न जङ्गल जानुपथ्र्यो तर अहिले एक दिन जङ्गल गए झन्डै दुई हप्तालाई पुग्दछ । यो समयमा अरुको मेलापात गरेर घरखर्च चलाउन केही सजिलो भएको छ ।”

सदरमुकाम नजिकै भएर पनि आर्थिक, सामाजिक रुपमा पछाडि रहेका यस गाउँका बासिन्दा वर्षौंदेखि दाउराको समस्या झेल्दै आएका छन् । यहाँका अधिकांशले दाउरा खोजेरै गुजारा चलाउने गर्दछन् । आर्थिक अवस्था कमजोर हुँदा दाउरा किनेर बाल्न सकिँदैन, खोजेरै जीविका चलाउनुपर्छ । यहाँ किन्नुपरेमा एक भारीको रु ४०० पर्न आउँछ, त्यो पनि भनेको बेला किन्न पाइँदैन भने एलपी ग्यासको प्रयोग उनीहरुका लागि धेरै टाढाको कुरा हो । 

स्थानीय मीनादेवी रुपाली पनि सुधारिएको चुलोले गाउँमा खासगरी महिलालाई धेरै सजिलो भएको बताउँछिन् । घरधन्दा, मेलापातदेखि दाउराको प्रबन्ध गर्नुपर्ने जिम्मेवारी पनि महिलाकै हुने हुँदा दाउराको खपत कम हुनु, भान्छामा धुवाँमा बसेर काम गर्न नपर्नु र खाना पनि छिटो पाक्ने भएकाले रकेट चुलो आफूहरुका लागि बरदान नै सावित भएको बताउँछिन् । 

रकेट चुलोमा आधा दाउरा कम खपत हुने भएकाले महिनामै तीन÷चार हजार रुपैयाँ दाउरा खरिदमा खर्चिने रामप्रसाद जोशीको परिवारलाई अहिले रु १५०० ले पुग्दछ । महिनामै दाउरामा दुई हजार रुपैयाँ बचत भएको उनी बताउँछन् । सुरुमा रकेट चुलो जडान गर्न भएको हजार रुपैयाँको लगानी १५ दिनमै उठ्यो उनी भन्छन्, “सुधारिएको चुलोले घरको वातावरण निकै स्वच्छ भएको छ ।”

यहाँका अधिकांश महिला पुसदेखि चैतसम्म हरेक दिनजसो जङ्गलमा गई दाउरा ल्याउने गर्दछन् र त्यसरी सङ्कलन गरेको दाउराले वर्षदिन पु¥याउनुपर्ने हुन्छ । त्यतिबेला मेलापात, गाईवस्तुको हेरविचार र अन्य कामधन्दा छोडेरै दाउराको व्यवस्थापनतर्फ उनीहरुको ध्यान जाने गर्दछ । जङ्लमा पनि पहिलेको जस्तो सजिलै दाउरा पाइँदैन डम्बरदेवी जोशीले भनिन्, “कहिलेकाहीँ त दिनभरमा एक भारी पु¥याउन पनि मुस्किल पर्दछ ।”

पहिले एक भारी दाउराले तीन÷चार दिन पनि पुग्न मुस्किल हुन्थ्यो तर अहिले रकेट चुलोमा खाना पकाउन थालेपछि आठ÷नौ दिन पुग्न थालेपछि उनीहरुको कार्यबोझ निकै कम भएको छ । अब उनीहरुलाई सरदर हप्तामा एक दिन मात्रै जङ्गल गए पुग्दछ । 

पहिले बिहानको चिया नास्ता, खाना, दिउँसोको खाजा र साँझको खाना पकाउनुपर्ने बाध्यता चुलो सुधार भएपछि धेरै कम भएको मीनादेवी रुपालीको कथन छ । “अहिले त धेरै सजिलो भएको छ, छोराछोरी र श्रीमान्ले पनि खाना पकाउने काममा सहयोग गर्न थालेका छन्”, उनी भन्छिन्, धुवाँ नआउने, आँखा नदुख्ने हुँदा चुलो बालेको पत्तै हुँदैन  । 

हरेक घरमा सुधारिएको चुलोको विस्तार गर्न सकिए आफूजस्तै धेरै महिलालाई सुविधा पुग्ने उनको धारणा रहेको छ । आफ्नो घरमा रकेट चुलो जडान गरेपछि उनले बडममड्लेस्थित माइती घरमा पनि चुलो प्रयोग गर्न लगाएकी छन् ।  

नौ कक्षा अध्ययन गर्दागर्दै बिहे गरी सो गाउँमा आएकी सरस्वती कोहोरोलाई अहिले चुलो बनाउने कामले भ्याइनभ्याइ भएको छ । गतवर्ष चुलो निर्माणसम्बन्धी चारदिने तालिम लिएपछि चुलो प्रवद्र्धक बनेकी उनी यसबाट गाउँका दिदीबहिनीको दुःख कम गर्न सकिने र आफूलाई पनि धेरथोर आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको बताउँछिन् । 

नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा घरभित्रको धुवाँ स्वास्थ्य तथा वातावरणीय प्रमुख समस्या रहेको छ । साना घर, झ्याल वा हावा छिर्ने ठाउँ नहुने हुँदा परम्परागत चुलोमा आगो बाल्दा घरभित्र लामो समयसम्म धुवाँ गुम्सिने गर्दछ । यसले भान्छामा काम गर्ने महिला, उनीहरुसँग रहने बालबालिका र परिवारका अन्य सदस्यको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गर्दछ । 

विश्व स्वास्थ्य सङ्गठनले घरभित्रको मृत्युको चौथो मुख्य कारण मानेको छ । धुवाँको समस्याले बढी आक्रान्त बनेको त्यस क्षेत्रलाई लक्षित गरी सुधारिएको चुलो कार्बन कार्यक्रम सञ्चालन गरिएको नेदरल्यान्ड विकास संस्था (एसएनभी)का वरिष्ठ नवीकरणीय ऊर्जा सल्लाहकार सरोज राई बताउनुहुन्छ । सुधारिएको चुलोले कार्बन उत्सर्जनमा ल्याउने कमीका आधारमा उपभोक्तालाई प्रतिचुलो रु ४०० अनुदानको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

सुधारिएको चुलो कार्यक्रम कार्यान्वयनबाट एसएनभीको आर्थिक तथा ग्रामीण प्रविधि केन्द्र एवम् क्षेत्रीय साझेदारी संस्था ग्रामीण विकास सेवा केन्द्रको प्राविधिक सहयोगमा स्थानीय ग्रामीण दलित सुधार समितिको साझेदारीमा २०१२ देखि डडेल्धुरालगायत सुदूरपश्चिमका सात पहाडी जिल्लामा सुधारिएको चुलो कार्बन कार्यक्रम सञ्चालन भएको छ । 

पाँच वर्षे सो कार्यक्रमबाट डडेल्धुरामा मात्रै १८ हजार ७३० घरमा सुधारिएको रकेट चुलो जडान गर्ने लक्ष्य रहेकामा हालसम्म करिब सात हजार जडान भइसकेको एसएनभीका स्थानीय प्रतिनिधि सुवास ढकाल बताउँछन् । 

नेपाल सरकारले सन् २०१७ सम्म सबैका लागि सफा चुलो भन्ने अभियानको घोषणा गरेको सन्दर्भमा यो कार्यक्रम नमुनाका रुपमा कार्यान्वयन गरिएको छ । यसले स्थानीय जनताको स्वास्थ्यमा सुधार, वातावरण संरक्षणमा योगदान पुग्नुका साथै लैङ्गिक मूल प्रवाहीकरण र सामाजिक समावेशीकरणमा समेत बल पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु