Tuesday, 26 September 2017 11:50 pm, Nepal

दुई समितिको विवादले एकअर्काको बस तोडफोड

मेचीकाली : 2014-06-05 14:30:41


धनगढी, २२ जेठ : बस सेवा सञ्चालनको विषयलाई लिएर कैलालीमा दुई  बस व्यवसायी समितिबीच उत्पन्न विवादले उग्र रुप लिएपछि दुवै पक्ष एकार्काका बस तोडफोडमा उत्रिएका छन् । गन्तव्यतर्फ गइरहेका र बसबिसौनीमा रोकिराखिएका बसमा भइरहेको तोडफोडको घटनाले यात्रुले सास्ती झेल्नुपरेको छ । 

सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका सम्बन्धमा तीन हप्तादेखि विवाद छ । कर्णाली रिभरले फूलबारी (कैलाली)–काठमाडौँ रुटमा वाइफाई र इन्टरनेट सुविधासहितका बस सञ्चालनको तयारी गरेपछि सुदूरपश्चिमले गरेको विरोधसँगै दुई समितिबीचको विवादले उग्र रुप लिएको हो ।

जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार बुधबार साँझदेखि आज बिहानसम्म दुवै बस समितिका गरी झन्डै एक दर्जन बसमा तोडफोड भएको छ । आज बिहान गन्तव्यतर्फ गइरहेको कर्णाली रिभरको ना४ख ६६५८ नंको बसमा सुदूरपश्चिम यातायात व्यवसायी पक्षधरले पूर्वपश्चिम राजमार्गको लम्की–चिसापानी सडकखण्डमा तोडफोड गरेको कर्णाली रिभरसाइड यातायातले जनाएको छ । 

घटनापछि तोडफोड भएको बस सडकमा तेस्र्याइएपछि लम्की–चिसापानी राजमार्ग सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति धनगढीस्थित बसबिसौनीमा रोकिइराखिएको दुई वटै बस समितिका बससमेत तोडफोड गरिएको छ । घटना नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि हातपात गर्ने धनगढीका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक विष्ट र प्रहरी जवान प्रकाश सिंह सामान्य घाइते भएका छन् । 

दुवै समितिबीचको विवाद समाधान गर्न केही दिनअघि बसेको बैठकले एक खालको सहमति गरेको भए पनि सहमतिको पालना नगरेको आरोप सुदूरपश्चिम यातायात व्यवसायी समितिले लगाएको छ । यद्यपि कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिले प्रचलित कानुनबमोजिम आफ्ना बस सञ्चालनमा सुदूर पश्चिम यातायातले रोक लगाउँदै अहिलेको प्रतिस्पर्धा युगमा एकाधिकार लाद्न खोजेको आरोप लगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु