Tuesday, 26 September 2017 11:08 am, Nepal

संरक्षणको पर्खाईमा ऐतिहासिक चौदण्डी गढी

मेचीकाली : 2014-05-13 16:42:04


हरिकुमार राई

उदयपुर- उदयपुर जिल्लाको पूर्वी क्षेत्रको पहाडी गाविसमा रहेको ऐतिहासिक चौदण्डी गढी उचित संरक्षणको अभावमा जीर्ण बन्दै जानुका साथै अस्तित्वमाथि नै सङ्कट बढेको छ । विसं १८३० भन्दा अघिसम्म सेनवंशी राजाहरुले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ । तीन जना सेन राजा जगत सेन, कर्ण सेन र मुकुन्द सेनले चौदण्डी गढीबाट सम्पूर्ण राजकाज चलाएको इतिहासबाट थाहा हुन्छ । 

विसं १८३० मा राजा मुकुन्द सेनको पालामा गोरखाका राजा पृथ्वीनारायण शाहका सेनापति अभिमानसिंह बस्नेतको नेतृत्वमा गएको गोरखाली सेनाले आक्रमण गरेपछि पूर्र्वको चौदण्ढी राज्य गोरखामा विलय भएको थियो । 

उदयपुरको सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्र्वी पहाडी क्षेत्रमा रहेको चौदण्डी गढी अझै पनि सेनवंशको राजधानी भनेर चिनिँदै आएको छ । 

सेन राजाहरुको पालामा निर्माण गरिएका चौदण्डीका दरबार, देवीदेवताका मन्दिर, बगँैचाहरुको उचित संरक्षण र मर्मतसम्भार नहुँदा अहिले जीर्ण र भग्नावशेषका रुपमा परिणत भएका छन् । 

पूर्र्वकै ऐतिहासिक तथा पुरातात्विक हिसाबले समेत महत्वपूर्ण रहेको चौदण्डी गढीको तत्काल उचित संरक्षणमा ध्यान नदिने हो भने यहाँका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु लोप हुने खतरा बढेको स्थानीयवासी बताउँछन् । 

पुरातात्विक विभागबाट गत वर्ष रु पाँच लाख र यस वर्ष रु चार लाख रकम उपलब्ध भए पनि त्यसले चौदण्डी गढी संरक्षण गर्न पर्याप्त नभएकाले थप रकमको आवश्यकता रहेको चौदण्डी गाविसका सचिव राजेन्द्र अधिकारी बताउनुहुन्छ ।

विभागबाट उपलब्ध गराइएको रकमबाट गढीको वरपरको क्षेत्रमा तारबार लगाई घेराबेर गर्ने काम भए तापनि गढीभित्रको पुराना वस्तुहरुको खोजी गर्न र देवीदेवताका जीर्ण भएका मन्दिरहरुको जीर्णोद्धार गर्न नसकिएको गाविस सचिव अधिकारीको भनाइ रहेको छ । 

चौदण्डी दरबारका केही पर्खालहरु लड्न लागेको र यसको संरक्षण गर्नुपर्ने अवस्थामा रहेका छन् । गाविसबाट केही बजेट विनियोजन गरी सेन राजाहरुले स्थापना गरी कुलदेवीका रुपमा पूजा गर्ने गरेको बिसासय काली भगवतीको मूर्तिको जीर्णोद्धार गरिएको छ । 

बजेटको अभावमा अहिले पनि गढीभित्रको धेरै मूर्ति तथा बाटो र जमिनमुनि रहेका इँटाका पर्खाल र अन्य वस्तुहरुको उत्खनन गर्न नसकिएको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहितमान तामाङ बताउनुहुन्छ ।

गढी तथा दरबार क्षेत्रका धेरै जग्गा जमिन यसअघि नै केही स्थानीय व्यक्तिले कब्जा गरेर जोतपोत गर्दै आएकाले चौदण्डी दरबार तथा गढी क्षेत्रको धेरै भू–भाग अतिक्रमण भएको स्थानीयवासी विष्णु कटुवालले गुनासो गर्नुभयो । 

अहिले गाविसको पहलमा गढी क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्य रोकिए पनि यस क्षेत्रको वरपर धेरै भू–भागमा पक्की ढङ्गबाट पर्खाल लगाई संरक्षण नगरिएमा अतिक्रमण हुने क्रम नरोकिने उहाँको भनाइ छ । 

गढी र दरबार क्षेत्रमा रहेका अधिकांश मूर्ति तथा ऐतिहासिक महत्वमा वस्तुहरु हराइसकेको बताउँदै गाविस सचिव अधिकारी भन्नुहुन्छ, “दरबारभित्रका पुराना मूर्ति तथा पुरातात्विक वस्तुहरु हराइसके पनि केही भने गाविसको सक्रियतामा खोजी गर्दा स्थानीय गाउँलेको घरबाट फेला पारी पुनः गढीमा नै राखेका छौँ ।” 

गढीको उचित संरक्षणतर्फ ध्यान नदिइएमा अझै यहाँका महत्वपूर्ण एवम् ऐतिहासिक वस्तुहरु हराउन सक्ने अवस्था रहेको पर्यटन विकास समितिका अध्यक्ष तामाङ बताउनुहुन्छ । गढी वरपर ठूलै क्षेत्रमा पर्खाल निर्माण गर्ने र स्थायी रुपमा रेखदेख गर्ने व्यवस्था नगरेसम्म यहाँका ऐतिहासिक वस्तुहरु हराउने र गढीको ऐतिहासिकता नै लोप हुनसक्नेमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । 

जिल्लामा अवस्थित मुलुककै ऐतिहासिक एवम् पुरातात्विक यस स्थलको संरक्षणका लागि अहिलेसम्म जिल्ला विकास समितिबाट ध्यान नदिइएको स्थानीयवासीको गुनासो रहेको छ । जिविसले यसको संरक्षणमा उचित बजेटको व्यवस्था गरी पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा उनीहरुले माग गर्दै आएका छन् । 

चौदण्डी गढीको संरक्षण र विकासका लागि जिविसले अहिलेसम्म बजेट व्यवस्थापन गर्न नसकेको स्वीकार गर्दै स्थानीय विकास अधिकारी गोपाल अधिकारी भन्नुहुन्छ, “जिविसले सम्बन्धित निकाय तथा मन्त्रालयमा यसको संरक्षण र विकासका लागि बजेट व्यवस्थापन गरिदिन अनुरोध गर्दै आएको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चौदण्डी गढीको पर्यटन विकासका लागि सहयोग गरिदिन पटकपटक अनुरोध गर्दै आएको तर अहिलेसम्म ठोस कार्यक्रम र बजेटको व्यवस्था हुन नसकेको उहाँको कथन छ । 

मुलुककै पुरातात्विक महत्वको यस गढीको संरक्षणतर्फ पुरातात्विक विभाग बढी संवेदनशील बन्नुपर्ने भए तापनि विभागले गत वर्ष र यस वर्ष केही रकम दिएर पन्छिन खोजेको अर्का स्थानीयवासी बलबहादुर कटुवालले टिप्पणी गर्नुभयो । 

अझै पनि यहाँका पुरातात्विक वस्तुहरुको संरक्षण र मर्मतसम्भार गरी यसको उचित संरक्षण गर्दै पर्यटनको विकास गर्नसके यसले नेपालको पर्यटन विकासमा समेत टेवा दिनसक्ने उदयपुरवासीको आशा रहेको छ । यहाँ बर्सेनि सयौँ स्वदेशी पर्यटक अवलोकन भ्रमणमा जाने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु