Sunday, 24 September 2017 02:34 pm, Nepal

राम्रो भविष्यका लागि प्रेस स्वतन्त्रता

मेचीकाली : 2014-05-03 17:05:12


एकराज पाठक

सूचना सम्प्रेषण र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा कार्यरत विश्वका लाखौँ पत्रकार मे ३ का दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइरहेका छन् । उनीहरूले आ–आफ्नो पेशागत हकहितको संरक्षण र सम्बद्र्धनका लागि एकतावद्ध हुन आह्वान गर्दै आजका दिनलाई विगत दुई दशकभन्दा लामो समयदेखि प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउदै आएका हुन् । यस वर्ष युनेस्कोले तय गरेको राम्रो र सुनिश्चित भविश्यका लागि प्रेस स्वतन्त्रता भन्ने नारामा विश्वका सञ्चारकर्मीहरू गोलबद्ध भएका छन् । 

सन १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवस यस वर्ष आज मे ३ का दिन विश्वका सञ्चारकर्मीले आ–आफ्ना पेशागत हकहितका कुरा गरेर मनाउदै छन् । 

विशेषगरी विश्वमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न र हरेक नागरिकले आफुले विचार बनाउन पाउने, त्यो विचार र आफ्ना अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्न पाउने र विना कुनै अवरोध जुनसुकै माध्यमद्धारा प्रसार गर्नपाउने दफा १९ को अवधारणा नै प्रेस स्वतन्त्रताको मर्म र मान्यता हो । 

संयुक्त राष्ट्र संघको स्थापनाको तीन वर्षपछि सन १९४८ मा राष्ट्र संघको महासभाद्धारा पारित विश्व मानवअधिकार घोषणापत्रको दफा १९ मा गरिएको व्यवस्थाले नै विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गरेको हो । 

सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिवियाको विन्डहकमा अफ्रिकी देशका पत्रपत्रिकाका सम्पादकहरूले आयोजना गरेको प्रेस स्वतन्त्रता सम्मेलनले पारित गरेको पाँचबुँदे घोषणापत्र नै अहिलेको विश्व प्रेस स्वतन्त्रता दिवसको उद्भव हो । 

विन्डहक घोषणा नाम दिइएको सो घोषणापत्रले विशेषगरी प्रेस स्वतन्त्रता, प्रेसको स्वतन्त्र अडान, प्रेसमा बहुलवादी अवधारणा, सहभागितामूलक प्रजातन्त्र र समाचार एवं लेखकीय स्वतन्त्रताजस्ता आधारभूत पाँच सिद्धान्तलाई अघि सारेको थियो । 

प्रजातान्त्रिक शासन व्यवस्था र नागरिक स्वतन्त्रताको अभाव झेलिरहेका अफ्रिकी नागरिकलाई यसबाट मुक्ति दिलाइ प्रेस स्वतन्त्रताको माध्यमबाट नागरिक अधिकार स्थापित गराउने पहलस्वरूप अफ्रिकी राष्ट्रका सम्पादकहरूको यस प्रयासले नै पछि विश्व प्रेस स्वतन्त्रताको रूपा लियो । 

विशेषगरी सन १९८० को दशकमा अफ्रिकी प्रेस पूरै राजनीतिक दमनबाट पीडित थियो । यही दबदबाबाट प्रेस क्षेत्रलाई मुक्ति दिन त्यहाँका पत्रकारहरूले यस अभियानको थालनी गरेका थिए । 

सन १९९३ मा बसेको युनेस्कोको महासभाले यही घोषणापत्रको मर्मलाई पारित ग¥यो र सो घोषणापत्र पारित भएको दिन मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन अनुमोदन भएको हो । 

यस दिन विश्वका सञ्चारकर्मीले आफ्ना व्यावसायिक समस्या र कानुनी सुनिश्चतताका विषयलाई बुलन्द गर्ने गर्छन । आ–आफ्ना देशका सरकारलाई आफ्ना हकहितका विषयमा विश्वका पत्रकारहरूले आजका दिन घच्घच्याउने गर्छन् । 

विन्डहक घोषणापत्रले प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शासन व्यवस्था र बहुलवादको अवधारणाको आधारभूत मान्यता अघि सारेको छ, त्यही आधारभूमिमा विगतदेखिका विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका पक्षमा वकालत गरिएको छ ।

यस वर्ष युनेस्कोले राखेको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा राम्रो भविष्यका लागि प्रेस स्वतन्त्रता कुनै एक देशका लागि मात्र नभएर विश्वका लागि हो । त्यसैले यस नाराले विश्वमा प्रेस स्वतन्त्रताको अवस्थालाई अझै दरिलो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । 

विश्वका पत्रकारले प्रेस स्वतन्त्रताको माग गरी यस दिवस मनाइरहँदा उनीहरू कार्यस्थलमै हुने हत्याहिंसाको मारबाट पीडित बनिरहेका छन् । पत्रकारको हत्याको शृङ्खला रोकिएको छैन र उनीहरू बन्दुकको ताकमा बसेर काम गर्नुपर्ने अवस्था रहिआएको छ ।

 

पाकिस्तानको एक प्रसिद्ध टेलिभिजन च्यानलमा चर्चित कार्यक्रम प्रस्तोता हमिद मिरमाथि गत शनिबार कराचीमा गोली प्रहार भयो । तीनपटकसम्म गोली लाग्यो र हाल उहाँ अस्पतालमा उपचार गराइरहनुभएको छ ।

टिभीमा कार्यक्रम प्रस्तुत गरी घर फर्किरहेका पत्रकार मिरमाथि सो हमला भएको थियो भने उहाँ हाल जीवितै हुनुहुन्छ । उहाँमाथि पटकपटक यस्ता हत्या प्रयास भएका थिए । 

पाकिस्तानलाई पनि विश्वमा पत्रकारका लागि सबैभन्दा बढी असुरक्षित वा खतरापूर्ण देशका रूपमा लिइन्छ । त्यहाँ हरेक वर्ष पत्रकारको हत्या हुने गरेको छ । प्राप्त एक समाचारअनुसार पाकिस्तानमा सन् २००१ देखि अहिलेसम्म कम्तीमा पनि ५० जना पत्रकारको ज्यान गएको छ ।

दक्षिण एसियामा पाकिस्तानजस्तै अफगानिस्तान पनि पत्रकार असुरक्षित हुने देशका रूपमा रहिआएको छ । त्यहाँ पनि गत महिना मात्र पत्रकारिता जगतमा विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार पुलिट्जर पुरस्कार प्राप्त एक महिला पत्रकारको हत्या भएको थियो ।

यी दुई त उदाहरण हुन् । विश्वमा यसरी कयौँ देशमा पत्रकार मारिएका छन् । तीन वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी रहेको सिरिया पनि पत्रकारका लागि असुरक्षित देश हो । त्यहाँ वर्षेनी कयौँ पत्रकार मारिएका छन् । 

विश्व पत्रकारितासम्बन्धी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले दिएको जानकारी अनुसार सन् २०१३ मा मात्र कम्तीमा पनि ७० जना पत्रकारको हत्या भएको छ । तीमध्ये आन्दोलन सुरु भएयता तीनवर्षमा सिरियामा मात्र २९ जना पत्रकार मारिएका छन् । 

त्यसैगरी इराक पनि पत्रकारका लागि अर्काे असुरक्षित भूमि हो । त्यहाँ सन् २०१३ मा १० जना पत्रकारको हत्या भएको छ । त्यस्तै ६ जना पत्रकार इजिप्टमा मारिएका छन् भने दक्षिण एसियाली राष्ट्रमध्ये पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का पनि पत्रकारहरूका लागि असुरक्षित भूमि बनेका छन् । 

सो संस्थाको प्रतिवेदनअनुसार सन् २०१२ मा पनि विश्वमा ७६ जना पत्रकार मारिएका थिए । उनीहरू पनि काम गर्ने क्रममा नै विभिन्न पक्षको तारो बनेका थिए । त्योभन्दा अघिल्लो वर्ष अर्थात सन् २०११ मा विश्वमा १०३ जना पत्रकार कार्यसम्पादनकै सिलसिलामा मारिएका थिए । एसियामा १७ पत्रकार मारिएका थिए भने सो वर्ष दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा छजना पत्रकार मारिएका थिए । 

पत्रकारमाथि धाकधम्की र हत्याका कारण देशको भूराजनीतिक परिस्थिति र व्यवस्था अनुरूप फरकफरक हुने गर्छन् । त्यसैले फरक भौगोलिक, राजनीतिक, धार्मिक र सांस्कृतिक बनावट भएर विश्वका विभिन्न राष्ट्रको पत्रकारिता प्रतिदिन चुनौतीपूर्ण बनेको छ र चूनौती पनि फरकफरक रूपमा देखिने गरेका छन् । तर प्रेस स्वतन्त्रता नै सबैभन्दा राम्रो भविष्यको औजार हो भन्ने बारेमा विश्वले बुझ्नु जरुरी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु