Tuesday, 26 September 2017 04:53 pm, Nepal

हराएको मलेसियाली विमान एक रहस्य वा पाठ ?

मेचीकाली : 2014-03-29 15:52:26


मोहिनी रिसाल मिश्र

मलेसियाको सरकारी वायुसेवा कम्पनी मलेसियन एअरलाइन्सको बोइङ ७७७ विमान बेपत्ता भएको आज तीन हप्ता नाघेको छ । मार्च ८ का दिन उडान एमएच३७० मा क्वाला लम्पुर विमानस्थलबाट चीनको राजधानी बेइजिङतर्फ मध्यरात १२ बजेर ४० मिनेट जाँदा उडेको विमान प्रस्थान गरेको ५० मिनेटपश्चात् वा स्थानीय समयअनुसार रातको साढे एक बजेपछि सञ्चार सम्पर्कमा नआएपछि खैलाबैला मच्चन शुरुभएको थियो ।

 पूर्वनिर्धारित उडान तालिकाबमोजिम उक्त विमान स्थानीय समयअनुसार बिहान ६ः३० मा बेइजिङ विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । विमानमा चालकदलका १२ सदस्य सहित २३९ जना यात्रु रहेका थिए र तीमध्ये १५३ जना चिनियाँ नागरिक । उक्त विमानमा धेरै सङ्ख्यामा अस्ट्रेलियाली, केही मलेसियाली, केही अमेरिकी, केही न्यूजिल्यान्डेली र बाँकी अन्य देशका नागरिकहरू यात्रा गर्दै थिए भन्ने उक्त वायुसेवाले जानकारी दिएको थियो । क्वाला लम्पुर विमानस्थलबाट दक्षिणी चीन सागरमाथिको बाटो हँुदै नियमित हवाइमार्गबाट सदाझैँ भियतनामको आकासमाथि पुगेपछि उक्त विमानले न्होम पेन वा हो ची मिन्ह टावरसँग सम्पर्क गर्नुपर्ने थियो ।

 ती टावरसँग विमानले सम्पर्क नगरेको तर आफ्नो क्षेत्रको आकाशमाथिबाट विमान उडेको भियतनामले पुष्टि गरेको छ । त्यसको केही बेरमै विमान बेपत्ता भएको आशङ्कामा मलेसियाली सरकार र बाँकी विश्व आश्चर्यचकित हुनपुगे । घटनाको केही बेरमै विमान हराएको पिरले यात्रुको अवस्थाबारे जानकारी लिन आफन्तहरू क्वाला लम्पुर र बेइजिङ विमानस्थलमा जम्मा भएका थिए । साथै विभिन्न अडकलबाजी सुरु हुन थालेको थियो । 

प्रथम दायित्व वहन गर्ने मलेसिया, आफ्ना धेरै नागरिकहरू परेका कारण चीन, अस्ट्रेलिया लगायतका मुलुकले खोजी कार्यका लागि तत्कालै नौसेना तथा वायुसेनाका पानीजहाज तथा विमानहरू सम्भावित घटनास्थलतर्फ पठाए । सर्व प्रथम भियतनामको घनाजङ्गल र विकट पहाडी इलाकामा खोजी गरियो । साथै, दक्षिणी चीन सागर र हिन्द महासागरको तटवर्ती क्षेत्रमा पनि एकैसाथ खोजी गरियो । यसैबीच विमानमा यात्रुहरूको राहदानी, यात्रासम्बन्धी कागजपत्र अनुसन्धान गर्दा चोरीका राहदानी लिई दुई जना नक्कली व्यक्तिले यात्रा गरेको पाइँदा विमान आतङ्ककारीको चङ्गुलमा परेको आशङ्का उब्जियो ।

 तर, सो राहदानी चोरीका भए पनि व्यक्ति आतङ्ककारी हुन् भन्ने पुष्टि नभएको र अलकायदा वा अन्य कुनै पनि आतङ्ककारी सङ्गठनले घटनाको जिम्मा नलिएकाले सो आशङ्का हराउँदै गयो । विमान कुनै दुर्घटनामा परी वा भयानक आगलागीमा परी वा आकाशमै विस्फोट भई दक्षिणी चीन सागर वा हिन्दमहासागरको गर्भभित्र डुबी पिँधमै पुगेको विभिन्न अडकलबाजी गरिँदैछ । त्यस्तै घटनाको निकै दिनपछि अस्ट्रेलिया, चीन, न्युजिल्यान्ड, थाइल्यान्ड जस्ता देशका स्याटलाइटले खिचेर प्रसारण गरेका फोटोमा हिन्द महासागरको केन्द्रीय र दक्षिणी क्षेत्रमा केही सरसामान तथा धातुका प्लेट जस्ता लाग्ने वस्तु  देखिएकाले यसैका आधारमा हिन्द महासागरको दक्षिणी क्षेत्रमा खोजी केन्द्रित गरिएको छ । 

खोजीकार्यलाई अमेरिका लगायत २६ भन्दा बढी मुलुकले सघाइरहेका छन् । विभिन्न मुलुकका गरी कम्तीमा ३० वटा भन्दा बढी वायुसेनाका विमान र ५० वटा भन्दा बढी ठूला र तीब्रगतिमा चल्ने पानीजहाज दिनहुँ प्रयोग गरिँदै आएका छन् । हिन्दमहासागरको वर्तमान मौसम शरद ऋृतुको जस्तै पाइएको र तीब्रगतिमा आँधीबेहरी चलिरहेको, छिनछिनमा पानीको छाल माथिमाथिसम्म उठिरहेको, अति छिटो, छिटो बदली भई कुहिरो र तुवाँलोले दृश्यनियता अत्यन्त कमजोर हुनपुग्ने जस्ता बाधा व्यवधानहरू र कठिनाइबीच बहुराष्ट्रिय खोजीकार्य अघि बढिरहेको छ । 

वर्तमानमा बीबीसी, सीएनएन, सीसीटीभी, अस्ट्रेलियाली टीभी, स्टार टीभी नेटवर्क लगायत विश्वका प्रमुख सञ्चारमाध्यमको ध्यान स्याटलाइटले देखाएका फोटो प्रसारण गर्नमा र समाचार, सूचना पछ्याउने कार्यमा केन्द्रित भइरहेको छ । रातदिन निरन्तर प्रयासको बाबजुद तीन हप्ता भन्दा बढी समयसम्म स्थलमा न जलमा विमान फेला पर्न नसक्नु, कहाँ छ भन्ने कुनै अत्तोपत्तो नहुनु, अन्योलको स्थिति कायमै रहिरहनाले सो विमानमा सवार यात्रुका स्वजनहरूको पीडा अवर्णनीय भइरहेको छ । 

हिजो मात्र प्रसारित स्याटलाइट तस्वीरमा सुन्तले रङका डोरी जस्ता, यात्रुले बोक्ने सुटकेश वा झोलाको आकारका वा विमानको कुनै अङ्गका टुक्रा झैं लाग्ने जस्ता वस्तु उत्रिरहेको फोटो देखिएको थियो । तर ती वस्तु खासमा के हुन् भनी यकिन गर्न निकै टाढाबाट सम्भव नहुने, अली नजिकै पुगी नियाल्नु पर्ने र खराब मौसम, तीब्र गतिको आँधीबेहरी र अग्लाअग्ला छाल उठिरहेका कारण तत्काल यकिन गर्न नसकिएको जनाइएको छ । सफा मौसम, कम गतिको आँधीबेहरी र कम उचाइको छाल पर्खंदापर्खंदै उत्रिरहेका वस्तुहरू अन्तै कतै गायब भइसक्ने जस्ता लुकामारीबीच बहुराष्ट्रिय खोजी प्रयास जारी रहेको छ । 

विमानमा सबार यात्रुका आफन्तबीच चिन्ता, पीडा र रुवाबासी चलिरहेको छ भने लहडबाजीमा रमाउन चाहने केही व्यक्तिले यस घटनालाई केही दिनदेखि मनोरञ्जन वा ब्यङ्ग्यको साधन बनाइ फेसबुक सञ्जालमार्फत लेख, रचना वा घटना वर्णन प्रसारण गरी ‘‘लाइक’’ वा ‘‘डिसलाइक’’ गर्न अरुको ध्यान आफूतिर तान्ने प्रयास गरिरहेका छन् । यस पङ्क्तिकारले पनि फेसबुकमा ‘‘साउदी अरबको कुनै एकजना अत्यन्त धनी मानिसले उक्त विमान अपहरण गरी सहारा मरुभूमिको एक निर्जनस्थलमा विमान सहित सबैजना यात्रुलाई बन्दी बनाएको छ’’ भन्ने खालको आलेख पढेकी थिएँ । फेसबुकमा संप्रेषित अर्को एक शीर्षकमा ‘‘सो विमान बर्मुडा त्रिकोणनजिक फेला प¥यो, सबै यात्रु सकुशल” भन्ने जस्ता हाँसो उठ्दो र बकम्फुसे लेख पनि भेटिएका छन् । 

मलेसियाली अनुसन्धानकर्ताले केही नयाँ तथ्यहरू र बलिष्ठ सम्भावना विश्लेषण गरेका छन् । हालसम्म सङ्कलित सूचनाका आधारमा विमानको प्रमुख चालक वा सहचालकले आत्महत्या गर्ने नियतले वा यात्रुमध्ये विमान चलाउन जान्ने कसैले नियतवश भियतनामको आकाशबाट फर्काइ अति तीब्रगतिमा जथाभावी मार्गबाट लगेको र असन्तुलित विमानलाई हिन्द महासागरमै कहीँ समुद्री सतहमा बजारेको र विमान तत्कालै पानीमा डुब्दै महासागरको पिँधमा पुगेको आशङ्का छ । 

सो महासागर क्षेत्रको गहिराई एक हजार ५०० देखि दुई हजार मिटरसम्म भएको अनुमान गरिन्छ । आजभन्दा करिब १०० बर्ष अघि त्यस बेलाको प्रविधिअनुसार अत्याधुनिक र अति सुरक्षित मानिएको टाइटानिक नामक पानीजहाज दुई हजार २०० यात्रु बोकी बेलायतबाट अमेरिकाको जलयात्रामा जाँदा बीच बाटोमै महासागरीय बरफमा ठोक्किई नष्ट भएर उत्तरी आन्ध्रमहासागरमा डुब्दै धेरै वर्षसम्म समुद्रको पिँधमा रहेको र धेरै पछि पत्ता लागी भग्नावशेष झिकिएको थियो ।  

फेसबुकमा संप्रेषित ‘‘बर्मुडा त्रिकोण’’ बारे पनि यहाँ अलिकति चर्चा गर्नु प्रसङ्गविरुद्ध नहोला । फेसबुकमा हालै संप्रेषित सो लेख एक ब्यङ्ग्यात्मक ख्यालठट्टा भए पनि बर्मुडा त्रिकोणको रहस्य हालसम्म पनि खुल्न सकेको छैन । उत्तर अमेरिकी महादेश क्षेत्रमा पर्ने बर्मुडा द्वीप बिन्दुबाट सुरु भइ पश्चिममा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको प्रान्तीय राजधानी मियामी बिन्दु र दक्षिणतर्फ पुएर्तो रिकोको राजधानी सान हुआँ बिन्दुसम्म फैलिएको, बहामास द्वीपसमूह सबै समेटिएको उत्तरी आन्ध्र महासागरमा एक बृहत् त्रिभुज आकारको करीब ४० लाख बर्गकिलोमिटर सामुद्रिक क्षेत्रलाई ‘‘बर्मुडा त्रिकोण’’ भनिन्छ । यस सामुद्रिक त्रिभुज क्षेत्रमा धेरै बर्षअघि धेरै सङ्ख्यामा नौसैनिक जहाज तथा विमान समेत पत्तै लाग्न नसक्ने गरी गायब भएका थिए । 

त्यसबेला देखि नै त्यहाँ टाउको घोडाको, शरीर अजिङ्गरको, ठूलाठूला खुट्टा, पन्जा र नङ्ग्रा समेत भएको आकारको अनौठो अति भीमकाय जीव वा अति विशालकाय अर्नाको जस्तो सिँग भएको, धेरै टाढाटाढासम्मका विमान, जहाज वा ठूलाठूला वस्तु तानेर मुखमा हाल्न सक्ने अति लामो जिव्रो भएका समुद्री राक्षस धेरै सङ्ख्यामा बस्छन् वा त्यहाँ हालसम्म पत्ता लगाउन नसकिएको उड्ने वस्तु धेरै सङ्ख्यामा छन् भन्ने अन्ध विश्वासले आजसम्म पनि धेरै अमेरिकी तथा युरोपेली जनसमुदायमा जरो गाडेको छ । 

स्याटलाइट फोटोमा बर्मुडा त्रिकोणको अधिकांश क्षेत्रको ठाउँठाउँमा सदैव तीब्र भुमरी परिरहने ठूल्ठूला सामुद्रिक खाल्डाहरू समेत देखिन्छन् । विगतका सयौँ वर्षदेखि उक्त क्षेत्रको बाटो भई जहाज वा विमानलाई जान दिन प्रतिबन्ध लगाईंदै आएको छ । यता भियतनामको काइन ग्याङ् बिन्दुबाट सुरु भइ पश्चिमतर्फ मदागास्कर द्वीपको आसपास बिन्दु र पश्चिमतर्फ वेस्ट अस्ट्रेलियासम्म फैलिएको हिन्द महासागरमा पनि ‘‘बर्मुडा त्रिकोण’’ जस्तै दक्षिणी चिनियाँ सागरको मध्यभागतिर त्रिभुज आकारको रहस्यात्मक स्थान त कतै छैन भन्ने आशङ्का पनि केहीले गर्न थालेका छन् ।  

सर्वत्र विज्ञान र प्रविधिको पहुंच भएको यस आधुनिक यान्त्रिक संसारमा तीन हप्ताभन्दा बढी समयसम्म एक अत्यन्त सुरक्षित मानिएको, विशालकाय विमान हराउनु र फेला पर्न नसक्नुलाई एक गहिरो रहस्यको रूपमा हेर्न सुरु गरिएको छ । सन् २००१ सेप्टेम्बर ११ को आतङ्ककारी हमलापश्चात् अमेरिकी राजनीतिज्ञ तथा वैज्ञानिक प्रथमत आफ्नो देशलाई आतङ्ककारी वा अन्य युद्धजन्य हमलाबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने तर्कनामा निश्चित रूपमा निरन्तर अभ्यासरत् होलान् । मानव मस्तिष्कले भेटेसम्मको अवधारणामा आधारित यान्त्रिक विकास र प्रबद्र्धनमा अति टाढाको फड्को मारी अत्याधुनिक विज्ञान र प्रविधि हासिल गरिसकेको अमेरिकालाई मलेसियाली विमान गायब भएको घटनाले निश्चय नै घचघच्याएको होला । त्यस्तै मानव मस्तिष्कले भेटेको तर हालसम्म पनि अविजित एक अवर्णनीय र षडयन्त्रपूर्ण चमत्कारिक शक्ति पो कतै छ कि ? अमेरिका तथा विश्वका शक्ति राष्ट्रहरूले नै यस विषयमा विवेचना गरी तथ्य पत्ता लगाउन सक्नेछन् । 

यत्ति मात्र कामना गरौँ हराएको विमान पत्तालागोस्, यात्रुहरूको स्थिति पनि पत्तालागोस्, आफन्तहरूले स्वजनलाई जिवितै फेला पार्न नसके पनि कम से कम ढुक्क भएर अन्त्येष्टि गर्नसकुन् । रासस (स्रोत ः विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्था) 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु