Wednesday, 20 September 2017 06:45 pm, Nepal

हामी चुनाव लड्छौंभन्दा पनि जान दिइएन

मेचीकाली : 2014-01-04 14:58:53


मोहन वैद्य

अध्यक्ष, नेकपा-माओवादी

संविधानसभाको चुनाव बहिस्कार गरेको नेकपा माओवादीले चुनावबाट गठन भएको संविधानसभा नमान्ने बताएको छ । उसले अब तीन महिना सरकार र संविधानसभाको कार्यशैली हेर्ने र त्यसपछि सशक्त संघर्ष गर्ने निर्णय गरेको छ । उसले गोलमेच सभाबाट समस्या समाधान गर्नुपर्ने पनि माग राखिरहेको छ । यसै विषयमा उक्त पार्टीका अध्यक्ष मोहन वैद्यसँगको कुराकानी ।

यहाँ र यहाँको पार्टी अहिले केमा व्यस्त हुनुहुन्छ ?

हाम्रो भर्खरै केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा बहिष्कार आन्दोलनको मूल्यांकन गरियो । अब अघि कसरी बढ्ने भनेर कार्यक्रम बनाइएको छ । तत्काल संगठन सुदृढीकरण गर्ने भनेर ३ महिने अभियानमा लागेका छौं ।  संगठन सुदृढीकरणसँगै चैत र वैशाखपछि आन्दोलनमा जान्छौं ।

कस्तो आन्दोलन हुन्छ ?

सडक संघर्ष नै हो ।

केका लागि सडक संघर्ष गर्ने ?

धेरै विषयमा गर्नुपर्नेछ । राष्ट्रिय स्वाधीनताको रक्षा, अहिलेको समयमा लिएको कार्यनीतिक नारा हो । सर्वपक्षीय राजनीतिक सभाको पनि माग गरेका छौं । नयाँ राजनीतिक सहमतिको आवश्यकता छ । यिनै विषयलाई लिएर हामी सडकमा जान्छौं ।

तपाईंहरूको बहिष्कार आन्दोलन पूर्ण असफल भयो होइन ?

बहिष्कार आन्दोलन असफल होइन, सफल नै भयो । मुख्य रूपमा यसको लक्ष्य के हो भन्नेमा कुरा आउँछ । हाम्रो मुख्य योजना नै चुनावलाई केहीपछि सार्ने भन्ने थियो । त्यसमा हामी सफल हुन सकेनौं । हामीले राखेका एजेन्डा जनताको पक्षमा थिए । मुलुकलाई गलत ढंगले अघि बढाउन पाइँदैन । शक्ति पृथकीकरणको सिद्धान्तलाई नाघेर, पार्टीहरूका बीचमा हुने सहमतिलाई नाघेर जनताको संविधान बन्दैन भनेर हामीले भनेका हौं । यसरी बन्दैन पनि । तर अहिले त्यस्तै भयो । ०५२ सालमा जसका विरुद्ध संघर्षको सुरुवात गरेका थियौं दुईतिहाइ बहुमत लिएर त्यही शक्ति आयो । अब वर्गीय, मधेसी, मुस्लिमलगायतको माग सम्बोधन गर्ने कुरै आउँदैन । त्यसकारणले नै संविधान बन्ने वाला छैन है भनेर संकेत गरेका थियौं । तर जबरजस्त चुनाव गराइयो ।

८० प्रतिशत जनताको सहभागितामा चुनाव भएको छ । यसले आन्दोलन असफल भयो भन्ने पुष्टि गर्दैन ?

निर्वाचनको पक्षमा ७० बढी प्रतिशत मत भनिएको छ । वास्तवमा नेपालको सम्पूर्ण भोटरको संख्या बढी नै छ । १ करोड ६८ लाख नेपालका भोटर हुन् । त्यो सबै घटाएर १ करोड २१ लाख बनाइयो । त्योबीचको संख्या कहाँ गयो ? मतदाता नामावलीमा बहिष्कारवादी समूहलाई दर्ता नै गराइएको थिएन । त्यहाँबाट बालिगहरूको पनि केही छुटेको छ ।

यसमा साँच्चै डाटा लिने हो भने ५० प्रतिशत नाघेको छैन । त्यसपछि पनि विभिन्न ठाउँमा धाँधली भयो । १ बजेपछि मत दिन कोही पुगेनन् ।

प्रचण्डहरूले भनेको धाँधली जहिले पनि जहाँ पनि हुन्छ, भइरहेकै हुन् । तर यसपटक चुनावको माहौल बनाउन मिडिया किन यसरी लाग्यो भन्ने भइरहेको छ । राजनीतिक पार्टीले बनाएको होइन कि मिडियाले बनाएको माहौलमा निर्वाचन भयो । ठूला भनिएका मिडियाहरू पनि निर्वाचन गराउन लागेको देखेर छक्क नै परियो । पार्टीले त प्रचार पनि गरेनन् । मिडियाले यसरी वातावरण बनाइदियो कि निर्वाचन आयोगलाई पनि पत्यार थिएन । यो पक्षको पनि समीक्षा गर्न आवश्यक छ । हाम्रो बहिष्कारको उद्देश्य जनतालाई पूरै रोक्ने भन्ने होइन । चुनाव तत्काललाई रोक्ने भन्ने हाम्रो टार्गेट सफल हुन सकेन त्यो साँचो हो । हामीपछि सार्न चाहन्थ्यौं । तर एजेन्डाको प्रचार–प्रसार गर्ने कुरामा हामी असफल भयौं ।

हामीले चक्काजामका कार्यक्रम पनि ग¥यौं । तर सबै हामीविरुद्ध उतारियो । सेना परिचालन भएको छ । ०५६ मा पनि सेना परिचालन गरिएको थिएन । सरकारले उद्योग वाणिज्य महासंघलाई प्रतिकार नै गर्न लगायो । सरकारले लगाए पनि उनीहरू आउन त सकेनन् । एमाओवादीवालाहरूले पनि काठमाडौंमा हाम्राविरुद्धमा मोटरसाइकल जुलुस गरिदिए । चक्काजामको बेलामा त कहाँसम्म गरे भने सेना, प्रहरी सबै लगाएर चलाउन लगाए । बहिष्कार आन्दोलन गर्ने क्रममा मान्छे सडकमा निस्कन दिन्नौं भनियो ।

निर्वाचनको विरोध गर्ने क्रममा तपाईंहरूले पनि विभिन्न ठाउँमा पेट्रोलबम प्रहार गर्नुभयो । केही व्यक्तिको ज्यान नै गयो । यस्तो बेलामा पनि सरकार मुकदर्शक बन्ने त ?

हामीले नै गरियो भन्ने त होइन । सबै कुरामा रोक लगाइएपछि जनता आक्रोशित भएकै हुन् । कार्यकर्ता आक्रोशित भएकै हुन् । बहिष्कार आन्दोलनलाई पुरै रोक लगाउन पाइन्छ त ? हामीलाई सांस्कृतिक कार्यक्रम पनि गर्न दिइएन । कतिपय दुखद् घटना घटेका पनि छन् । यो जनताले दिएको जवाफ हो ।

नेतृत्वको हिसावले जिम्मा त लिनुपर्ला नि !

हामीले गरेको भनेर लिंदैनौं । जनता र कार्यकर्ताले गरेका काम ठीकै गरेका हुन् ।

एमाओवादीले निर्वाचनअघि जस्तो व्यवहार देखाएको भए पनि पछि त कार्यगत एकताको कुरा गरेको थियो नि होइन र ?

हो । उहाँहरूले भन्नुभएको हो । उहाँहरूले हामीसँग प्रतिगमन भयो भन्नुभयो । अनि हामी बहिष्कार गर्छौं भन्नुभयो । बहिष्कार गरेर आइयो भने एकता गर्न सकिन्छ कि सकिन्न भन्ने उहाँहरूको आग्रह थियो । बहिष्कार गरेर आएमात्र सहकार्य हुनसक्छ भनेर हामीले भनेका थियौं । आन्दोलनमा उहाँहरू त्यसरी जानै हुँदैनथ्यो । हामीले चक्काजाम राखेका छौं । उहाँहरूले त्यही बेलामा मेची–महाकाली अभियान किन चलाउनपथ्र्यो ? अरू बेला समय थिएन ? कांग्रेस र एमालेले चै हाम्रो विरोध नगर्ने उहाँहरू चै मैदानमा हाम्राविरुद्ध आएपछि हामीले पनि जवाफ त दिनुपर्ने भयो । फेरि राजनीति हो गलत गरियो मिलेर जाउँ भनेर आएपछि हुन्छ त भन्नै प¥यो ।

कार्यगत एकता गरेर अघि बढ्ने सम्भावना छ कि छैन ?

अहिले त छैन । अहिलेको हकमा छँदै छैन । उहाँहरू अत्यन्तै लत्रेर ४ बुँदे सहमति गर्नुभयो । किन भनेर उहाँहरू नभए पनि संविधान बन्छ । कांग्रेस र एमालेको दुईतिहाइ बहुमत आएको छ । संविधान बन्नका लागि एमाओवादीको आवश्यकता पर्दैन । अधिकार सम्पन्न संयन्त्र भन्नुभयो त्यो भएन । आयोग भन्नुभयो त्यो पनि भएन । संसदीय समिति मात्र बन्यो । उहाँहरू लत्रेर गएपछि हाम्रो पनि कार्यगत एकता हुँदैन ।

निकासका लागि तपाईंहरूलाई पनि सरकार र संसद्मा लैजाने कुरा छ । तपाईंहरूसँग पनि कुरा भएको छ ?

त्यो गर्नका लागि गरिएको हो । हामी सरकार र संविधानसभामा जाँदैनौं । हामी चुनाव लड्छौंभन्दा पनि जान दिइएन । अहिले हामी डुब्न जाँदैनौं । घुमेर ०४७ सालमा आइसक्यो । अहिले त झन आउने वातावरण नमिलाउने उहाँहरू नै हो ।

भनेपछि मुलुक फेरि द्वन्द्वमा जाने भयो होइन ?

त्यो हाम्रो कुरा भएन । सबै जिम्मेवारहरूले सोंच्ने कुरा हो । बेलैमा सोंच्नुपर्ने थियो । हामी द्वन्द्वमा जान चाहेका होइनौं । यो संविधानसभाबाट जनताको संविधान बन्दैन । जुन शक्तिकाविरुद्ध लडियो त्यसैको दुईतिहाइ आएपछि एमाओवादीलाई लिनै पर्दैन । एमाओवादी जुठोपिरो खान भनेर पनि त्यहाँ जान्छ । स्वाभिमानसहित जान सक्नुप¥यो । जनताका एजेन्डा हामीसँग हुन्छ त्यसैले सडक हाम्रो पक्षमा हुन्छ । तर उच्चस्तरीय राजनीतिक सभा गरौं भनेर भनेका छौं । त्यसमा सहमति हुन सक्छ ।  

त्यो सभाले के गर्ने ?

निकासका बारेमा बहस गर्नुप¥यो ।

सर्वपक्षीय सभाले गरेका निर्णयको अनुमोदन संविधानसभाले गर्ने ?

त्यो त हुँदैन । संविधानसभामा लैजान मिल्दैन । विश्वका संविधान संविधानसभाबाट मात्रै बनेका छैनन् । यो पनि बुझ्नुप¥यो ।

त्यही संविधानसभाका लागि भनेर ०५२ सालदेखि हतियार उठाउने अनि अहिले बाहिरबाट संविधान भन्न मिल्छ ?

त्यो त हो । लडेकै हो । त्यो हाम्रो हातबाट खोसियो ।

२०६४ सालमा तपाईंहरू ठूलो शक्ति बन्नुभयो । अहिले २ पार्टी भएर छिन्नभिन्न हुनुभयो । औचित्य तपाईंहरूको सकियो कि उहाँहरूको ?

त्यो बेलामा विगार्ने भनेको हाम्रै साथीहरू नै हुन् । माओवादी नेतृत्वले नै बिगारेको हो । पहिलो संविधानसभाबाट सवै कुरा मिल्थ्यो । विवाद समाधान उपसमिति आवश्यक नै थिएन । त्यही बनाइदिनुभयो । तलबाट प्रतिवेदन आएको थियो । त्यो बेलामा एजेन्डा पास गर्न विधि र प्रक्रियामा लगेको भए टुंगिन्थ्यो । त्यहाँ पनि दलहरूबीच सहमति हुन सकेन । बुँदा त्यही सहमति गर्न खोज्दा संविधान नै बनेन । प्रक्रियामा गएको भए जसरी पनि बन्थ्यो ।

प्रजातन्त्रमा बनेको संविधान कसैले मान्छ कसैले मान्दैन त्यो उसको इच्छा भयो । सबैले मान्नुपर्छ भन्ने छैन । तर कुरा अल्झिदैनथ्यो । हामीले भनेको पनि हो । हामीले तत्कालीन अध्यक्षलाई भनेको हो मान्नुभएर अहिले उहाँहरू नै बिग्रिनुभयो । उहाँहरूले आंकलन गर्न सक्नुभएन । एजेन्डा ल्याएको हामीले हो तर एउटा माओवादी बाहिर रह्यो अर्कोभित्र रहे पनि उसको आवश्यकता नपर्ने भयो । त्यो माओवादी नभए पनि संविधान बन्ने भयो ।

संविधानसभाबाट बनेको संविधानको पनि विरोध गर्नुको औचित्य के रहन्छ र ?

त्यसो भनेर हुँदैन । निरपेक्ष संविधानसभा त मान्दैनौं । हामीले जनवादी संविधानका लागि लडेको हो । यही संविधानको लागि लडेको त होइन । त्यस्तै नभए पनि नजिकको त हुनपथ्र्यो । यो त ‘पुनरमुसीको भवः’ भन्ने उखान छ त्यस्तै भयो ।

Source : Karobar Daily

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु