Wednesday, 20 September 2017 06:45 pm, Nepal

दर्जनौँ लघुजलविद्युत्को ६ करोडभन्दा बढी अलपत्र

रासस : 2013-12-16 08:44:29


मुगु, १ पुस : गाउँलाई अँध्यारोबाट उज्यालो पार्न जिल्लाको ग्रामीण बस्तीका खोलाको पानीबाट २४ भन्दा बढी स्थानमा लघुजलविद्युत् आयोजना निर्माण गरिए पनि मर्मत सम्भार हुन नसक्दा आयोजनाका लागि लगानी गरिएको रु ६ करोडभन्दा बढी अलपत्र परेको छ । यसरी मर्मत सम्भार हुन नसकी अलपत्र परेका लघुजलविद्युत् आयोजनामध्ये गरिबी निवारण कोषका आयोजना नै बढी छन् ।

गरिबी निवारण कोषमार्फत बनाइएका २१ मध्ये आठवटा आयोजना चालु अवस्थामा छन् । त्यस्तैगरी ऊर्जा विकासका खत्याड खोला ३२ किलोवाट, रिखियाँ २० किलोवाट र सुकाढिक ११ किलोवाट सञ्चालनमा छन् भने दुर्गम क्षेत्र विकास समितिका तीनवटा आयोजना अलपत्र अवस्थामा छन् । 

जिल्लामा लघुजलविद्युत् आयोजना निर्माणपछि उपभोक्ता र लगानीकर्ताबीच समन्वय नहुँदा तथा उपभोक्ताले मर्मत सम्भार कोषको समेत व्यवस्था नहुँदा रु ६ करोड रकम खेर गएको जिल्ला विकास समितिले जनाएको छ । जिल्लामा रहेका यी आयोजनाको लागत न्यूनतम १५ देखि अधिकतम ७० लाखसम्म रहेको देखिन्छ ।

विगत वर्षहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोग र निजी क्षेत्रबाट सञ्चालित  पेल्ट्रिकसेटद्वारा विद्युत् उत्पादन गरिए पनि लामो समयसम्म विद्युत् उत्पादनका लागि पेल्ट्रिकसेट टिकाउ नहँुदा बीचैमा बिग्रिएपछि दर्जनाँै लघुजलविद्युत् आयोजना अलपत्र रहेका हुन् । कतिपय आयोजना निर्माण गरिएका स्थानहरुको समेत निसाना छैन भने जिल्ला ऊर्जा तथा वातावरण शाखासँग समेत यस्ता आयोजनाको अभिलेखसमेत छैन ।

जिल्लाका हेनिकाँध, निगाले, नाउरखोला, झ्यारी, करानको छाइल, रिउस, सेरोग, मुगु , कोटिल्ला, तिर्प, रोवा, कम्फा, मुर्मा, खमाले, कालैमा चारवटा, धैनकोट दुई, सुम्ली, पाँपु, आँसिधारा लगायतका गरेर जिल्लाभरिमा २७ वटा स्थानमा विद्युत् निकाल्नको निम्ति पेल्ट्रिकसेटको प्रयोग गरेर लघुजलविद्युत् सञ्चालनमा ल्याएर गाउँलाई उज्यालो पारिए पनि उपभोक्ता, सञ्चालक र सहयोगदाताद्वारा पुनः निर्माण तथा मर्मतसम्भार नहँुदा बत्ती बिना गाउँ नै अँध्यारो हुन पुगेका छन् । 

अलपत्र अवस्थामा रहेका लघुजलविद्युत् आँकडा हेर्दा करोडौँ बजेट लघुजलविद्युत्मा लगानी गरेको पाइए पनि यसको मर्मत अभावमा जिल्लाको बजेट बालुवामा पानी हालेजस्तो भएको छ । 

सदरमुकाम नजिकैका गाउँ हेनिकाँध, निगाले कोटिल्लामा पेल्ट्रिकसेटको माध्यमबाट विद्युत् उत्पादन गरेर गाउँ उज्यालो पारिए पनि हाल यी बस्तीमा पेल्ट्रिकसेट बिग्रँदा लघुजलविद्युत् उत्पादन भएको स्थानमा विद्युत् प्रसारण नगर्ने भएका कारण सदरमुकामकै गमगाढ साना जलविद्युत् आयोजनाको विद्युत् वितरण केन्द्रले विद्युत् दिन नमानेपछि यी गाउँका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । जिल्लामा अन्य पेल्ट्रिकसेटको प्रयोगबाट विद्युत् उत्पादन गरिएका गाउँहरुका स्थानीयवासी दियालो बालेर बस्न बाध्य रहेका छन् ।

पेल्ट्रिक सेटको पुनः मर्मत गर्न सहयोगकर्ताले चासो नदिने र स्थानीयवासीले आफ्नै खर्चबाट मर्मत गर्न सक्ने आर्थिक अवस्था नभएकाले गाउँ अँध्यारो र विद्युत्का मेसिनहरु अलपत्र अवस्थामा हुने गरेको हेनिकाँध गाउँका रङ्गबहादुर कार्कीले बताउनुभयो ।

गाउँमा अलपत्र अवस्थामा लघुजलविद्युत् रहँदा न्यून आय भएका दुई हजारभन्दा बढी घरधुरी अझै दियालो बालेर बस्न बाध्य छन् भने केही घरधुरीले वैकल्पिक ऊर्जा सौर्यपाताको प्रयोग  गरेर उज्योलो पारेको पाइए पनि अधिकांश गाउँ अँध्यारोमा नै छन् । 

यी गाउँका स्थानीय बासिन्दा दियालो बालेर दुई वर्षदेखि बसेका छन् । उता जिल्लामा ऊर्जासम्बन्धी काम गर्ने सङ्घसंस्थाले पनि चासो राखेको पाइँदैन भने स्थानीय विद्यालयमा अध्ययनरत बालबालिका दियालो र टुकीको भरमा पढिरहेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु