Wednesday, 15 August 2018 09:13 am, Nepal

पाँच वर्षीया बालिकाको हत्या

रासस : 2013-12-12 11:13:41


रोल्पा, २७ मंसिर : घरछेउमै खेलिरहेकी पाँच वर्षीया बालिकाको एक महिलाले हत्या गरेकी छिन् । स्थानीय ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । 

गोठनजिकै चारपाँचजना समूहमा साथीहरूसँग खेलिरहेकी बालिकालाई कालिनी पुनले हानेपछि स्वास्थ्यचौकी ह्वामा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । 

घटनापछि फरार भएकी ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक बालिकाका बुबा ओबिराज पुनका अनुसार यसअघि ती महिलासँग कुनै पनि रिसइबी थिएन । सदरमुकामबाट चार घण्टाको पैदल दूरीमा पर्ने घटनास्थलतर्फ प्रहरी टोली गएको बताइएको छ । 

यस्तै रोल्पाको लिबाङ–८ गुरुङगाउँमा भीरबाट लडेर बुधबार एक गर्भवती महिलाको ज्यान गएको छ । घाँस काट्न गएको अवस्थामा गुरुङगाउँको निलरह भन्ने भीरबाट लडेर ३६ वर्षीया हुर्मती केसीको ज्यान गएको हो । केसी सिर्जनशील कृषि महिला सहकारीकी सदस्यसमेत थिइन् । केसीको निधनले सहकारी परिवार दुःखी भएको भन्दै अध्यक्ष हिरा घलेले शोक व्यक्त गर्नुभएको छ ।

केसीका श्रीमान् वैदेशिक रोजगारका लागि कतारमा भएको बताइएको छ । परिवारका अनुसार श्रीमान् घरमा नभएकाले दाहसंस्कार गर्न केही समय लाग्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु