Sunday, 24 September 2017 12:22 pm, Nepal

पूर्वाधार अभावमा जोखिम बन्दै चोलापास

रासस : 2013-12-11 14:26:10


सोलुखुम्बु–सोलुखुम्बुको प्रसिद्ध पर्यटकीयस्थल गोक्यो तालको भ्रमण पूरा गरी सगरमाथाको आधार शिविरतिर जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ । समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको सोलुखुम्बुकै खतरापूर्ण पास मानिने चोलापासमा राम्रो बाटोघाटो नभएका कारण दिनानुदिन जोखिमपूर्ण बन्दै गएको हो ।

बाह्रै महिना हिउँले ढाकिरहने चोलापासमा बाटो देखाउने कुनै सङ्केत छैन भने बर्सेनि तापक्रम वृद्धिले भू–बनावट परिवर्तन भइरहँदा भएका बाटोघाटोको नाम निशान समेत भेटिँदैन, ग्लेसियर पग्लिएर ठाउँठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो झन कठीन बन्दै गएको हो । 

यसैका कारण चोलापास गर्ने क्रममा एक्लाएक्लै हिँड्ने विदेशी नागरिकहरु बर्सेनि हराउने गरेका छन् । साहसिक पर्यटकीय पदमार्गको नामले समेत चिनिने चोलापासमा भएको बाटो हिउँले पुर्ने, हिउँ बिलेर चलायमान हुने हुँदा पर्यटकहरु हराउने गरेको ट्रेकिङ गाइड लाक्पा तेञ्जी शेर्पाले बताउनुभयो । “ढुङ्गा झर्ने क्रम चलिरहन्छ, हिममय बाटो पार गर्नु पर्यटक र पर्यटक भरियाहरुको लागि यत्ति धेरै कठीन छ कि सँगसँगै लिएर गएन भने बाटो बिराउने सम्भावना उत्तिकै छ”–गाइड शेर्पाले भन्नुभयो । 

चोलापास गर्दा विभिन्न ठाउँमा भएका खर्पसहरु छल्दै हिँड्नु पर्यटकहरुको बाध्यता बनेको छ । करिब आधा घन्टाभन्दा बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा पार गर्नुपर्ने पर्यटक भरियाहरु बताउँछन् ।

चोलापासमा मात्र नभई चोलापास गरी सकेपछि पनि अप्ठ्यारो बाटो पार गर्नुपर्ने भएकाले यसक्षेत्रको बाटो निर्माणका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । 

सगरमाथा आधार शिविर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताललगायतका क्षेत्र हेर्न चाहनेहरुले चोलापास गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधार शिविर तथा कालापत्थर जान चाहने हो भने पनि चोलापास गर्नैपर्छ । यत्ति धेरै महत्वपूर्ण मानिएको पर्यटन पदमार्गको निर्माण तथा मर्मतका लागि अहिलेसम्म राज्यले केही नगरेको पर्यटन व्यवसायीको गुनासो छ ।

पर्यटकहरुको समस्या समाधानका लागि ठाउँ ठाउँमा फलामको पोल गाडी डोर टाँग्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु