Saturday, 23 September 2017 05:49 am, Nepal

काठमाडौँबाटै देख्न सकिन्छ सगरमाथा

रासस : 2013-12-02 15:44:05


वासुदेव पौडेल

किर्तिपुर- काठमाडौँबाटै विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिम शृङ्खलाहरु हेर्ने उपयुक्त गन्तव्य बनेको काठमाडौँ दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ । विगतमा ओझेलमा परेपनि विस्तारै प्रचार हुन थालेपछि विदेशी पर्यटकहरु हिमशृङ्खलाको अवलोकनका लागि यस क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन् । 

आठ हजार ८४८ मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसममा दुई हजार २५० मिटर उचाइमा रहेको चम्पादेवीबाटै नाङ्गा आँखाले स्पष्ट देख्न सकिन्छ भने मकालु, लाक्पादोर्जे, गौरीशङ्कर लगायतका हिम शृङ्खलाहरुसमेत एकसाथ अवलोकन गर्न सकिन्छ ।

 

अत्यन्त सफा मौसम भएका अवस्थामा पोखराको सुन्दर हिमाल माछापुच्छ«े समेतको हिमशृङ्खला पनि  यहीँबाट देख्न सकिने हुँदा पनि चम्पादेवी क्षेत्र काठमाडौँ उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ । 

चम्पादेवीको डाँडाबाट केवल सुन्दर प्राकृतिक दृश्य र हिमशृङ्खला मात्र हैन सूर्योदय र सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ । “काठमाडौँ उपत्यका, हिमशृङ्खला, सूर्योदय र सूर्यास्त मात्र हैन प्राकृतिक दृश्यको साङ्गोपाङ्गो अवलोकन गर्नको लागि काठमाडौँबाट नजिकको उचाइको स्थल चम्पादेवी हो, त्यसैले पर्यटक यहाँ बढ्दै गएका छन्, ” चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो ।

  उहाँले काठमाडाँै, भक्तपुर र ललितपुरमा आउने पर्यटकले उपत्यका नजिकको पदयात्राको खोजी गर्दा अचेल चम्पादेवीलाई पनि रोज्ने गरेकाले यहाँ पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको बताउनुभयो । 

काठमाडौँ, चक्रपथस्थित बल्खुबाट लगभग १५ मिनेटको बस यात्राबाट पुग्न सकिने चाल्नाखेलस्थित खहरेबाट लगभग डेढ घन्टाको पैदल यात्राबाट चम्पादेवी पुग्न सकिन्छ । यहाँ पदयात्रा गर्न राम्रो घाम लाग्ने  मौसम कात्तिक, मङ्सिर उपयुक्त हुने यस क्षेत्रका बासिन्दाको भनाइ छ । 

कात्तिक, मङ्सिरको समयमा बिहानको सूर्योदय समेत सगरमाथाको टुप्पोबाट उदाएको देखिने भएकाले पनि यसको आकर्षण विशेष रुपमा बढेको तामाङको भनाइ छ । दैनिक न्यूनतम ४०÷५० देखि सय डेढसयसम्म पनि स्वेदशी विदेशीको यहाँ भीड लाग्ने गरेको छ । 

बल्खु दक्षिणकाली मार्गमा पर्ने खहरेबाट जान सकिने चम्पादेवीमा पछिल्लो समयमा मकवानपुरको हेटौँडा, कुलेखानी, दक्षिणकाली हुँदै बल्खुमा यातायात सुलभ भएकाले यहाँ पर्यटकको आवागमनको क्रम समेत बढ्दै गएको छ ।

 

काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, मकवानपुरलगायत एक साथ विभिन्न जिल्लाको अवलोकन गर्न सकिने चम्पादेवीलाई धार्मिक दृष्टिबाट पनि उत्तिकै महत्वको स्थलका रुपमा लिइन्छ ।

चम्पादेवीको फेदीमा पर्ने उपत्यकाको मनोरम प्राकृतिक दह टौदह चम्पादेवीबाट अत्यन्त सुन्दर देखिन्छ भने चम्पादेवीकै स्पष्ट छायाँ टौदहमा देख्न सकिनु पर्यटकीय आकर्षणको अर्को महत्वपूर्ण पक्ष हो ।

प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिका दिन विशेष मेला लाग्ने चम्पादेवीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासले यहाँको धार्मिक महत्वलाई थप उजागर गरेको चम्पादेवी माध्यमिक विद्यालय वोसन काठमाडौँकी शिक्षिका शारदा भट्टराईले बताउनुभयो ।

चम्पादेवीमा हाल सामान्य पर्खालको बीचमा खुला मन्दिर भए पनि यहाँ एउटा भव्य मन्दिर निर्माण गर्नसके यहाँको आकर्षण अझै बढ्न सक्ने यस क्षेत्रका स्थानीयवासी बताउँछन् । चम्पादेवीकै आधार क्षेत्रका रुपमा रहेको चम्पादेवी पाउ मन्दिरमा प्रत्येक वर्षको मार्ग शुक्ल चतुर्दशीमा विशेष मेला लाग्ने गरेकोमा यस वर्षको मेला आगामी पुस १ गते लाग्ने भएको छ ।

बाघ, भालु, चितुवासहित विभिन्न किसिमका वन्यजन्तु पाइने चम्पादेवीमा दुर्लभ मेची बिरालो, वन बिरालोसहित मलसाप्रो, लोखर्के, दुम्सी, बाँसोजस्ता वन्य जन्तुहरु समेत पाइने कारण वन्य जन्तुहरुको अध्ययनका लागि पनि यो एउटा खुला चिडियाखानाको रुपमा रहेको छ ।

चम्पादेवी क्षेत्रमा कालिज, चित्रालगायतका विभिन्न जातका पंक्षीहरुको चिरविराहट समेतले यहाँ प्रकृतिसँगको निकटतम् सामिप्यता अनुभव गर्न सकिन्छ । दुर्लभ  चिराइतो, पाखनवेद, वन लसुन जस्ता जडीबुटी तथा लप्सी, ओखर, काफलजस्ता फलहरु पनि चम्पादेवीमा पाइन्छन् ।

कीर्तिपुर क्षेत्र पर्यटक विकास समाजका अध्यक्ष विजय महर्जन पर्याप्त पर्यटकीय पूर्वाधारहरु रहे पनि विगतमा प्रचार–प्रसारको अभावमा चम्पादेवी ओझेलमा परिरहेको भए पनि पछिल्लो समयमा  बढेको प्रचार–प्रसारले यहाँ पर्यटकहरु आउने क्रम विस्तारै बढ्दै गएको बताउनुहुन्छ ।

पर्यटकीय सम्भाव्यतालाई उजागर गराउने उद्देश्यले यस क्षेत्रमा पर्यटक लक्षित पदयात्रा तथा हाइकिङजस्ता कार्यक्रम सञ्चालनको तयारी गरिएको उहाँको भनाइ छ । पछिल्लो समयमा पर्यटन पूर्वाधार विकास आयोजनाको पहलमा पदमार्गहरु निर्माण गर्ने काम सुरु गरिएको छ ।

चम्पादेवी डाँडामा चाल्नाखेलस्थित चम्पादेवी पाउ, कीर्तिपुरस्थित पुष्पलाल पार्क तथा फर्पिङ लगायतका स्थानबाट पदमार्ग निर्माण गर्ने क्रम चलिरहेको र आगामी वर्षका लागि पनि यस क्षेत्रको विकासका लागि रु एक करोड ७० लाख रकम विनियोजन भइसकेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु