Saturday, 23 September 2017 05:56 am, Nepal

नर्वे र नर्वेलीबाट सिक्न लायक केहि कुरा

मेचीकाली : 2013-09-20 17:47:36


प्रकाश सापकोटा

# २०१० को क्रिस्मस एक नर्वेली परिवारको आमन्त्रणमा उनिहरुसँग मनाउने मौका मिल्यो । नर्वेमा विद्यार्थीको रुपमा रहेको आफुलाई नेपालमा लेखक थिएँ भनेर चिनाउन मन लाग्यो । दुइओटा किताब प्रकाशित गरिसकेको र तेस्रोको तयारीमा रहेकोसमेत बताउन भ्याएँ । त्यसो गर्नासाथ मलाई त्यो परिवारले अर्कै इज्जत गर्न थाल्यो । मेरा कृतिहरु इन्टरनेटमा खोज्न थालियो । नभन्दै एक उपन्यास र एक मुक्तक संग्रहको लेखकको रुपमा मलाई देखाइदियो इन्टर्नेट्ले ।

 उनिहरु मलाई झन्-झन आदर गर्न थाले । त्यती मात्र गरेनन, नेपालीमा प्रकाशित ती पुस्तकमध्य कुनै एकलाई नर्वेजियनमा उल्था गरेर पढ्ने इच्छा जनाए । आफुले आफुलाई निकै ठुलोबडो सम्झन पनि भ्याएँ, लौ जा ! त्यस्को हप्तादिन पछी मोबाइलमा एसएमएस आयो- कसैले भेट्ने इच्छा गरेको छ ! गमक्क पर्दै 'ठिक छ' जवाफ पठाएँ । भेट्ने ठाउ र स्थान तय भयो । थिएटरमा दलाई लामा सम्बन्धी डकुमेन्ट्री हेर्नेगरी मलाई बोलाइयो र त्यहिँ इच्छा गरेका व्यक्तीसँग भेट्ने योजना तय भयो । तोकिएको समयमा तोकिएको ठाउँमा म पुग्दा उनिहरु पहिले नै आइपुगेर पर्खिरहेका थिए । पर्खिनेमध्यका एक नयाँ थिए । हात अघी बढाउदै आफ्नो नाम बताए- म रग्नार निल्सेन । साधारण चप्पल लगाएका, झुस्स दारी पलाएका, कपाल उतीसारो नमिलाएका, दुब्ला-पातला, उमेरले तीन बिस कटेका झै देखिने निल्सेनसँग पनि उस्तै रवाफ्का साथ आफु दुईओटा नेपाली कितावको लेखक भएको सुनाएँ । उनी मसँग निक्कै झ्याम्मिए । नेपाली कला-साहित्यका बिषयमा लामै कुराकानी भयो । उनले पनि मेरो सम्पर्क नम्बर लिए । साँझ छुट्टीयौं र आ-आफ्ना बाटो ततायौ । तीन-चारदिन पछी तिनै मान्छे सडक पेटिमा लुखुर्-लुखुर हिडिरहेका भेट्टिए । परैबाट देख्नेबित्तिकै पहिला उनैले बोलाए । यो भेट्मा उनले मसँग हुलाक ठेगाना माग्दै भने- तपाईंलाई हुलाकमार्फत केही चिज पठाउन चाहन्छु । त्यस्को हप्तादिनमा हुलाकमार्फत मेरो ठेगानामा एउटा पार्शल् आयो । एउटा मोटो किताब थियो, अङ्ग्रेजी भाषामा लेखिएको । लेखकको नाम हेरें- रग्नार निल्सेन ! उनी उत्तरी नर्वेमा यती कहलाएका प्रसिद्द विद्वान लेखक रहेछन, जब उनको बारेमा बुझ्न थालें आफुसँग आफैलाई लज्जाबोध भो । 

# सन् २०११ को सुरुवाततिर सानोतिनो कामकै सिल्सिलामा एक नर्वेली बयोब्रिद्धको घर पुगियो । निकै आदर र सत्कारपुर्वक स्वागत गरे । चिनापरिचय शुरु भो । विद्यार्थीका रुपमा नर्वे आउनुअघि नेपालमा संचारकर्मीको हैसियत पनि भएको रवाफैले बताएं । उनले कान ठा-ठाडा पारे र नेपाली मिडियाबारे खुब चाख लिएर अनेक सवाल गरे (बिशेष गरी श्रब्य-द्रिश्य अर्थात टेलिभिजन, चलचित्र बारे) । जानेको, बुझेको बताएँ । जसै काम सकियो फर्कने क्रममा उनैले मेरो वसस्थानसम्म उनकै सवारीमा छोडिदिने शर्त राखे । मैले मेरो वासस्थानमा एक कप नेपाली चियाको प्रस्ताव राखेँ जो उनले खुशीसाथ स्वीकारे । आए, एक्छिन बसे, कुराकानी गरियो (धेरैजसो आमसन्चारकै बारेमा) र फर्कने बेलामा एउटा पोको खोले । त्यसभित्रको आयाताकर वस्तु निकाले र मेरो हातमा थमाए- यो राम्ररी हेर्नु अङ्ग्रेजी सब्-टाइटलमा छ, र अर्को भेटमा मलाई यस्को रिभ्यु देखाउनु या सुनाउनु ; नेपाली संचारकर्मिलाई हाम्रो उत्पादन कस्तो लाग्छ त्यो मलाई जान्न मन छ । यत्ती भनेर मेरो ईमेल ठेगाना लिएपछी बाँकी दुई घुट्को चिया कपमै छोडेर उनी बाहिरिए । त्यो एउटा नर्वेली चलचित्र "इस्क्य्स" को डि भि डि थियो । सो फिल्म हेर्ने मौका मिलेको थिएन भनुँ या जाँगर चलेको थिएन । तीन दिनपछी ईमेलको इन्बक्स्मा एउटा मेसेज आयो- कस्तो लाग्यो मैले निर्देशन गरेको चलचित्र ? डिभीडिको खोलमा हेरें निर्देशकको नाम क्न्युत एरिक जेन्सेन थियो जब कि परिचयका क्रममा उनले आफ्नो नाम एरिक बताएका थिए (तर उनले मसँग त्यसअघी आफु फिल्म निर्देशक भनेर चिनाएनन् र हेर्दा अत्यन्तै साधारण ती बुढा मान्छे निर्देशक होलान भन्ने मेरो कल्पनामा आउने खालकै थिएनन । अझ पछील्लो ईमेलमा त उनले अरु कुरा पनि खुलाए- सोही फिल्मबाट नायिकाले नर्वेमा वर्ष २०१० को सर्बोत्क्रिश्ट नायिकाको उपाधी जितेकी रहिछन र उनी आफुले पनि ३-४ वटा सान्त्वना पुरस्कार पाएका रहेछन । इन्टर्नेटमा उनको प्रोफाइल हेरेर थाहा लाग्यो, उनी त निकै प्रसिद्ध र नर्वेका एक उत्कृष्ट चलचित्र उत्पादक, निर्देशक र अनुसन्धानकर्ता रहेछन । 

# गत जुनको मध्यतिर उत्तरि नर्वेको राजधानी मानिने ट्रोम्सो शहरमा एक्कासी नर्वेका राजा-रानी सडकमा पैदल हिडिरहेका भेटिए । न कुनै तडकभडक न बिशेष सुरक्षाका नाममा सुरक्षाकर्मीको लर्को ! उही अघिपछीभन्दा अलिकती मान्छेको भिड देखेर आँखा तन्काउंदै 'के हो त्यहा' भनेर सोधेको एक नर्वेलिले भन्यो- हाम्रा राजा-रानी स्वीडेनका राजा-रानीलाई बजार डुलाउँदै ! एक्छिन त पत्याउनै गार्हो भो, नजिकै पुगेपछी पक्का भयो- हो रहेछ !

# यही अगस्त ११ को दिन नर्वेको राजधानी ओस्लोमा एक यस्ता ट्याक्सी ड्राइभर देखिए, ट्याक्सीमा सवार कसैले उनको आँखा, कसैले उनको नाक, कसैले उनको बोली त कसैले उनको पुरै अनुहार प्रधानमन्त्री जेन्स स्तोल्तेन्बेर्गसँग ठ्याक्कै मिलेको महसुस गरे । ति ट्याक्सी ड्राइभरले हाँस्दै त्यो सम्योग मात्र भएको बताइरहे । तर अन्त्यमा यात्रुमध्य कसैले उनी प्रधानमन्त्री नै भएको ठोकुवा गरेपछी आफुले जनमत र जन-आकान्क्षा बुझ्न त्यो रुपमा सडकमा आएको बताए । 

उनिहरु बिकशित मुलुकका राष्ट्रप्रमुख, राज्यप्रमुख, प्रबुद्ध लेखक र प्रख्यात निर्देशक भएर पनि उनिहरुमा कुनै घमन्ड, ढर्रा, रवाफ नहुनु, हामीलाई चाँही सानै भए पनि पदको टाइँफुइँ लाउनु पर्ने ? उल्लेखित केही द्रिश्टान्तहरु पाठकमाझ किन पनि राख्न मन लाग्यो भने केही बिकशित मुलुकका केही बिकशित मानसिकताहरु, चलनहरु, व्यवहारहरु तथा व्यवस्थाहरुबाट छानेर राम्रा-राम्रा कुरा सिक्नुपर्छ जस्ले आफ्नो, आफ्नो समुदायको र आफ्नो देशको हित गर्दछ । सोचौं त, कतै हामी बढ्ता आडम्बर र कम्ति गाम्भीर्यताकै कारणले पछाडी परेका हौँ कि ! त्यसो त, बिकशित भनिने यिनै मुलुकहरुभित्र केही त्यस्ता व्यवधानहरु पनि छन जुन बिकासशील देशका नागरिकहरुको अपेक्षाभन्दा कम छन (ती कुराहरु पनि बेलामौकामा लेख्दै गरौला) । तर असल कुराहरुको त तारिफ गर्नुपर्यो र व्यवहारिक ज्ञान लिनुपर्यो नि, परेन ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु