Friday, 22 September 2017 05:36 pm, Nepal

‘कानपुरे पाउडर’ एक घातक विष

मेचीकाली : 2013-07-08 08:31:30


- मधु सूदन पौड्याल 

काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका गाँउघर वस्तीका वस्तुभाउ र गोठमा उडुस उपियाँ, जुम्रा एवं किर्ना परेमा कानपुरे पाउडर छर्ने चलन वर्षौँ देखि चलि आएको छ । कानपुरे पाउडर घरेलु औषधीका रुपमा घर घरमा प्रयोग भएको पाईएको छ भने हाल २०७० साल सम्म आउँदा यस धुलो को प्रयोग आलुको जोतुवा किराको प्रकोप बाट बचाउन आलुको भण्डारणमा तथा गाई भैसी कुकुर वाख्राकोलागि  परजिवी किरामार्न समेत उत्तिकै प्रयोग भएको सुनिएको छ । 

कानपुरे पाउडर को नाम कानपुरे कसरी रहयो भन्ने  आगामी लेखमा उल्लेख गरिनेछ । यस लेखमा यसको परिचय, दुरुपयोग, र कसरी निरुत्साहित गर्ने भन्ने बारे चर्चा गर्न खोजिएको छ । 

कानपुरे पाउडर भनेको के हो ?

यस लाई गाँउघरमा कुनै हानि नपुरयाउने औषधीका रुपमा चलनचल्ती मा ल्याएको पाईन्छ । नेपाली कागजको प्याकेट बनाई ५० देखि १०० ग्रामको प्याकमा विक्री वितरण गरिएको पाईएको छ । गाँउघरमा अत्यन्त उपयोगी औषधीका रुपमा लिईने गरिन्छ । हेर्दा सामान्य सेतो धुलोको रुपमा देखिने यो धुलो लाई मानिसहरुले जुम्रा मार्न कपालमा दल्ने, र आङ शरीर र टाउकोमा सोझै प्रयोग गर्ने प्रवृति हटेको छैन घातक विष को धुलो लाई कस्मेटीक पाउडर जस्तै गरि प्रयोग गर्दा कति हानि पुगिरहेको छ भन्ने अनुमान गर्न कठीन छ ।   

काभ्रे जिल्लाको पाँचखालमा २०५६ सालमा जर्मनीको प्राविधिक विश्व विद्यालय ब्रान्चविग, कृषि विभाग, सिप्रेड र त्रिभुवन विश्व विद्यालय को संयुक्त सहयोगमा संचालित विषादी व्यवस्थापन परियोजनाले कानपुरे पाउडरको बढदो लोकप्रियता देखेर कानपुरे पाउडरको परिक्षणका लागि जर्मन को प्रयोगशालामा अवशेष परिक्षण गर्न पठाइएको थियो । परिक्षणको नतीजा हेर्दा लिण्डेन (Lindane) नामक तत्व भएको पत्तो लाग्यो । यसरी कानपुरे पाउडर के हो भन्ने कुरा आधिकारिक रुपमा जानकारीमा आएको हो ।  

लिण्डेन नामक तत्व क्लोरिनेटेड हाईड्रोकार्वन समूहमा पर्ने अत्यन्त हानिकारक विषादी हो । खास गरि बि.एच.सी.,अल्ड्रिन,क्लोरडेन, डि.डि.टी, हेप्टाक्लोर, डाईएल्ड्रीन आदि जस्ता भयकंर हानिकारक विषादी जस्ले मानवस्वस्थ र वातावरण ध्वस्त बनाउँछन । क्लोरिनेटेड हाईड्रोकार्वन समूहमा पर्ने समूहमा पर्ने धुलो विषादी नै कानपुरे पाउडर भएको रहस्य खुलेपछि त्यसको प्रयोगमा निकै कमी आएको थियो । तर धेरै अन्तराल पश्चात  हाल आएर शुरुकै अवस्था देखिनु चिन्ताको विषय बनेको छ । 

कानपुरे पाउडर कसरी बन्छ ?

माथि उल्लेखित गरिए अनुरुप क्लोरिनेटेड हाईड्रोकार्वन समूहमा पर्ने विषादी लाई पुन ः प्याकेजिङ गरि ग्रामीण भेगमा फैलाईएको हुन सक्ने धेरैको ठम्याई छ । क्रयशक्ति अति कम भएका सामान्य मानिस लाई लक्षित गरि बनाईएको उक्त सानो प्याकेट रु. ३ देखि ५ रु. सम्म पर्ने कृषकहरुले बताउँदै आएका छन । हाल आएर सो समुहका पुरै विषादी हरु को ठूलो परिमाण एक्कासी आएर नेपालमा विक्री वितरण गर्न प्रतिवन्ध लागेपछि विषादी व्यवसायमा लागेका माफियाहरुले ति विषादीहरुको पुनः प्याकेजिङ गरि  गाँउ गाँउमा अवैध व्यापार गरिरहेको थाहा हुन आएको छ । 

कानपुरे पाउडर प्रयोग गर्दा के असर हुन्छ ?

कानपुरे पाउडर माथि उल्लेखित गरिए अनुरुप क्लोरिनेटेड हाईड्रोकार्वन समूहमा पर्ने भएकोले कानपुरे पाउडर को प्रयोग बाट मानव स्वास्थमा अति भयानक समस्याहरु आउँछन । खास गरि क्यान्सर रोग लाग्ने, बच्चाहरुमा सुस्तमनस्थिति हुने, आँखाको ज्योती नाश हुँदै जाने, गर्भ नरहने वा गर्भ तुहिने, मानसिक रोग, मूटू सम्बनधी रोग र पक्षाघात जस्ता असाध्य रोगहरु लाग्दछन । माटोमा यो दशकौं सम्म नगलि रहन सकछ । माटोमा हुने जीवाण्ुाहरुलाई नाश गरि माटो लाई निर्जीव तुल्याउँछ । विशेषतः जैविक विविधता र पर्यावरण मा नराम्रो असर पुरयाउँछ । 

कानपुरे पाउडर कानुनी हैसियत के छ ?

कानपुरे पाउडरको विक्री वितरण पूर्णतः अबैधानिक हो । नेपालमा विक्री हुने सबै विषादी हरुको आयात, र तिनको व्यावसायिक उपयोग र  विक्री वितरण गर्न लाईसेन्स लिनु पर्दछ । प्याकेजिङ गर्नका लागि कस्तो भाँडोमा कति परिमाणमा प्याकेजिङ गर्नुपर्ने हो यथार्थ विवरण नेपाल सरकारको विषादी पंजिकरण तथा व्यवस्थापन शाखाबाट स्वकिृति लिई सो को लागि ईजाजत पत्र प्राप्त गरेपछि मात्र विषादी विक्री वितरण गर्न पाईन्छ । यस सन्दर्भमा कानपुरे पाउडर विना कानुनी हैसियत खुलेआम रुपमा विक्री वितरण भैरहेको हुनाले, विषादी ऐन र नियमावली, खाद्यपदार्थ गुणस्तर ऐन नियमावली र राजस्व मा समेत ठगी भैरहेको कारण राजस्व ठगी सम्बन्धी कानुन र नेपाल सरकारले प्रतिवन्धित भनि तोकेको वस्तुको उत्पादन विक्री वितरण गरे वापत सार्वजनिक अपराध मुद्दा लाग्न सक्ने तथा मानव अधिकार माथि खेलवाड गरेको ठहर्छ । 

कानपुरे पाउडरको कारोवारमा को जिम्मेवार छ ?

कानपुरे पाउडरको विक्री वितरण पूर्णतः अबैधानिक हो भन्ने कुरा सरकारी स्तरबाट प्रचार प्रसार गरिदै आएको छ । तर पनि यसको लुकिछिपी  अवैध उत्पादन  गर्नु र यसको कारोवार गर्ने मुख्य कार्य विषादी विक्रेताहरुबाट हुदै आएको खुल्न आएको छ । अवैध कार्य भएकोले यस्को उत्पादन र वितरण पनि गोप्य हिसावले हुने हुँदा  मैले आजसम्म कहिल्यै विषादी पसलमा कानपुरे पाउडर  भेटाएको छैन ।   

एकातर्फ पढेलेखेका शिक्षित जनसमूदाय समेतले कानपुरे पाउडर का नकारात्मक पक्षमा जान्दा जान्दै पनि पनि प्रयोग गर्ने गरेका छन भने ग्रामीण भेगमा भने अनभिज्ञताको  फाईदा उठाई यसको व्यापार हुने गरेको छ ।   

अवको अभियान 

कानपुरे पाउडर कहिल्ये वैध हुन सक्दैन किनकी संसार भर यस समूहको विषादी प्रतिवन्ध भै सकेका छन । विषादीका माफियाहरुले भारतको सिमानाहरुबाट म्याद नाघेका बि.एच.सी., अल्ड्रिन,क्लोरडेन, डि.डि.टी, हेप्टाक्लोर, डाईएल्ड्रिीन आदि जस्ता भयकंर खतरनाक विषादी कारोवार गरि नै रहने हुँदा को निर्मूल गर्न ढीला भैसकेको हुनाले सबै क्षेत्रको एकिकृत प्रयासले मात्र यो सम्भव छ अन्यथा एउटा निकायबाट यो कहिल्यै नियन्त्रण सम्भव छैन । मेरो यस क्षेत्रको अनुभवमा निम्न प्रयासहरु गर्न सकिएमा नेपालबाट यो अवैध र खतरनाक विष तथा प्रवृति बाट मुक्त हुन सकिनेछ । 

१. सर्वसाधारण स्तरबाट 

क. कानपुरे पाउडरको प्रयोग गर्दै नगरौं र यसलाई सामाजिक रुपमै वहिष्कार गरिनुपर्ने  ।

ख. कानपुरे पाउडर उत्पादन र यसको कारोवारमा  लाग्नेहरुको नाम र ठेगाना गोप्य रुपमा नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गतका कुनै पनि निकायमा सूचना दिने । यसो गर्न सकिएमा यस किसिमका अवैधानिक कार्य लाई रोक्न सहयोग पुग्नेछ । 

ग. सम्भव भए सम्म एक अभियान कै रुप दिई गाँउ गाँउमा यसको उन्मूलन गर्नुपर्ने भएको छ ।

२. सरकारी तथा गैरसरकारी स्तर बाट

क.जिल्ला कृषि विकास कार्यालय तथा कृषि सेवा केन्द्रहरु साथै स्वास्थ सम्बन्धी निकायहरु र गैरसरकारी संस्थाहरुबाट कानपुरे पाउडरको खराव पक्ष बारे गाँउ गाँउमा जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने ।

३.कानुनको  पालना गराउने गर्ने सरकारी निकायहरु बाट यस किसिमको अवैधानिक कार्य गर्ने लाई कसुर माफिकको सजायँ जरिवाना वा दुवै तदारुकताका साथ  गराउनु पर्ने देखिन्छ । 

४.जीवनाशक ऐन र नियमावली लाई समसामयिक परिवर्तन गरिनु पर्दछ । र विषादी क्षेत्रमा काम गर्ने निकाय र संस्था लाई साधन श्रोतले सम्पन्न बनाईनु पर्दछ । 

 

-लेखक जिल्ला कृषि विकास कार्यालय, काभ्रेका वरिष्ठ बाली संरक्षण अधिकृत हुन्

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु