Wednesday, 20 September 2017 06:36 pm, Nepal

'भारत भ्रमण सफल भयो'

मेचीकाली : 2013-05-01 12:49:07


-पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष एनेकपा माओवादी

भारत भ्रमणबाट स्वदेश फर्किएका एमाओवादी अधयक्ष पुष्पकमल दाहालले भ्रमणबाट आफू धेरै आशावादी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भारतसंग विश्वासको आधार तयार पार्ने, निर्वाचनको निम्ति सहयोग र आर्थिक विकासका एजेन्डा लगायतका विषयमा सार्थक छलफल भएको बताए । अर्को छिमेकी मुलुक चीनको भ्रमण लगत्तै भारत पुगेका दाहालले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिद लगायतका शीर्ष नेताहरु तथा उच्च पदस्थ सरकारी अधिकारीहरुसंग भेटवार्ता गरेका थिए । उनको भारत भ्रमणको सेरेफोरमा रहेर दाहालसंगको संक्षिप्त कुराकानी:

भारत भ्रमण समग्रमा कस्तो रह्यो ?

असाध्यै राम्रो भयो । म सुरुमा जुन सोचका साथ आएको थिएँ, त्यो उद्देश्य प्राप्ति गर्नेतर्फ वातावरण बन्योजस्तो लाग्छ । पहिलो त, विश्वासको आधार तयार पार्ने, दोस्रो निर्वाचनका निम्ति सहयोगको वातावरण मिलाउने र तेस्रो आर्थिक विकासका निम्ति छलफल गर्ने तथा द्विपक्षीय सहयोगलाई गुणात्मक ढंगले बढाउने भन्ने मेरो मूल उद्देश्य थिए । अझ विश्वासको वातावरण बनाउने हिसाबले त मैले जति सोचेको थिएँ, त्योभन्दा माथि नै गयो भन्ने मैले ठानेको छु ।

त्यो नयाँ विश्वासको आधार के हो ?

पार्टी महाधिवेशनबाट आर्थिक विकासलाई जोड दिएर अघि बढ्ने रणनीति लियौं हामीले । अब प्रगतिशील राष्ट्रवादलाई जोड दिनुपर्छ, अन्धराष्ट्रवाद र सामन्ती राष्ट्रवादले नेपालको हित गर्दैन भन्ने लाइन हामीले लिएका छौं ।

कस्तो अवधारणा हो यो प्रगतिशील राष्ट्रवाद ?

एकले अर्कोलाई खेलाउने होइन, छिमेकीहरूको सहयोग लिएर नेपालको छिटो विकास गर्ने भन्ने हो । आफ्नो राष्ट्र हितका लागि सबैको सहयोग जुटाउने भन्ने नै हो ।

भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग यहाँको के कुरा भयो ? उहाँको चासो खास केमा रहेछ ?

उहाँले सुरुमा त, नेपालमा शान्ति प्रक्रिया टुंगियो, लडाकुको समायोजन र पुनःस्थापना भयो भन्ने कुरामा मलाई बधाई भन्नुभयो । दलहरू मिलेर चुनावी सरकार गठन गरेको पनि राम्रो भयो भन्नुभयो । मैलेचाहिँ जे कुरा बाहिर भनें, त्यही बताएँ । चुनाव सम्पन्न गर्नु अहिलेको मुख्य आवश्यकता हो, त्यसका लागि सबैको सहयोग चाहिन्छ र भारतको झन् बढी सहयोग चाहिन्छ भनें मैले । अहिले जुन राजनीतिक प्रक्रिया नेपालमा छ, त्यो नयाँदिल्लीमा हस्ताक्षर भएको १२ बुँदे समझदारीबाटै सुरु भएको हो । भारतीय सुरक्षा चिन्ताका कुराहरू पनि भए । मैले राजनीतिक स्थिरता भएपछि आर्थिक विकास गर्ने र त्यसले भारतको सुरक्षा चिन्ता प्रभावकारी ढंगले सम्बोधन गर्ने वातावरण सिर्जना गर्छ भनें । त्यसका लागि भारतले सहयोग गर्छ भनेर उहाँले कुरा राख्नुभयो ।

भारतीय प्रधानमन्त्रीसँग त्रिदेशीय साझेदारीबारे कुरा भयो कि भएन ?

त्रिदेशीय साझेदारीको विषय मैले उठाइनँ । त्यसबारे प्रसंग नै नउठेपछि मैले कुरा नगरेको हो ।

तपाईंले त सार्वजनिक रूपमै त्यो कुरा उठाउँछु भन्नुभएको थियो । अहिलेचाहिँ किन पछि हट्नुभएको ?

म पछि हटेको होइन । मैले भारतीय जनता र बुद्धिजीवीमाझ भनेको छु त्रिदेशीय साझेदारीको कुरा । सोमबार भारतीय विश्व मामिला परिषद्मा दिएको भाषणमा पनि मैले त्यो कुरा प्रस्टै राखेको छु । भारत सरकारका अरू उच्च अधिकारीहरूसँग उठाएँ । खासगरी राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवसँग पनि मैले यो कुरा राखें ।

ठूला जलविद्युत् आयोजना र लुम्बिनीको बृहत्तर विकासबारे पनि कुरा भयो ?

विशाल जलविद्युत् आयोजना र लुम्बिनीको विकासका लागि नेपाल र भारतबीच विशेष ढंगको सहयोग हुनुपर्छ भन्ने कुरा मैले भारतीय प्रधानमन्त्रीलाई भनें । त्यसमा चीनलाई पनि साथै लिएर जाँदा राम्रो हुन्छ भन्ने मैले राखें । यो त्रिदेशीय साझेदारीतर्फ जाने विषय हो ।

पञ्चेश्वरजस्ता आयोजनाहरू अलपत्र अवस्थामा छन् । पुराना समस्याहरूको चाङ हुँदाहुँदै अब फेरि नयाँ ठूला आयोजनाहरूको परिकल्पना कति व्यावहारिक होला ?

पुरानोको समीक्षा जरुरी छ, तर ताजा सुरुआत गर्न पनि जरुरी छ । त्यस हिसाबले नयाँ ठूला आयोजनाहरू सम्भव छन् । 

पाँच वर्षअघि दिल्ली आउँदा तपाईंले उठाउनुभएको सन् १९५० को सन्धि पुनरावलोकनको विषयबारे यसपटक एक शब्द उच्चारण गर्नुभएन । के त्यससम्बन्धी यहाँहरूको अडान बदलिएको हो ?

शब्द उच्चारण गर्दा झन् बिग्रन गयो । तर भारतीय विश्व मामिला परिषद्मा मैले सोमबार दिएको भाषणमा गहिरो रूपमा हेर्नुभयो भने त्यो विषय छ । इतिहासको समीक्षा हुनुपर्छ भन्ने मैले उल्लेख गरेको छु । १९५० को कुरा गर्‍यो भने प्रोभोक गर्ने काम हुन्छ । त्यसैले मैले जोड दिएको के भने आजका नेपाली र भारतीय जनताको चेतनाअनुसार रिडिफाइन गर्नुपर्छ भनेको हुँ । कूटनीतिक हिसाबले हेर्दा यो अत्यन्तै गम्भीर ढंगले भनिएको छ ।

यहाँ नेपाली राजनीतिको केन्द्रमा हुनुहुन्छ । अहिले मुलुक संक्रमणमै रहेका बेला त्यसलाई निकास दिन एउटा शीर्ष नेताका रूपमा यहाँको भूमिकाबारे भारतीय पक्षको बुझाइ के रहेछ ?

अहिले मलाई कुनै पार्टीको अध्यक्षको रूपमा मात्रै नभई राष्ट्रको प्रतिनिधिका रूपमा यहाँ बोलाइएको मैले महसुस गरें । अहिले हामी संक्रमणबाट गुज्रिरहेका छौं र राजनीतिक स्थिरतासँगै मुलुकलाई विकासतिर लैजाने खाँचो छ । जस्तो व्यवहार, भेटघाट, सुरक्षाप्रबन्ध मिलाइयो यसबाट मलाई के लाग्यो भने यो नेपाल राष्ट्रको प्रतिनिधिका रूपमा मलाई सद्भाव देखाइएको हो । एमाओवादीका प्रचण्डलाई होइन, नेपाली जनतालाई गरिएको सद्भाव हो । यसले नयाँ आधार खडा गर्नेछ ।

पार्टी महाधिवेशनमा हालसालै लिएका नयाँ नीतिबारे भारतीय पक्ष, खासगरी प्रधानमन्त्रीको के धारणा रहेछ ?

विगतको अनुभवबाट शिक्षा लिने र कहाँ कमी भयो भनेर समीक्षा गर्दै पार्टीको महाधिवेशनबाट हामीले प्रतिस्पर्धात्मक र शान्तिपूर्ण ढंगको नीति लियौं । आर्थिक विकास र समृद्धिको रणनीति बनायौं र त्यसमा छिमेकीको सहयोग जुटाउनुपर्छ भन्ने हाम्रो नीति रह्यो । यी विषयहरू यथार्थपरक छन् र यसले नयाँ सम्बन्ध बन्छ भन्ने विश्वास भारतीय प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । चीनमा पनि त्यही कुरा भयो । हामीले जुन व्यावहारिक नीति लियौं, त्यसले काम गर्न थालेजस्तो देखिन्छ । भारतीय प्रधानमन्त्री, विदेशमन्त्रीदेखि नेताहरूसँगका कुराकानी हेर्दा, भारतले नेपालमा स्थिरता र विकास चाहेको प्रस्ट हुन्छ । भारतले पनि विगतको अनुभवबाट पाठ लिएको मैले पाएँ । भारतीय विदेशसचिव स्वयंले मलाई भारतले विगतको अनुभवबाट सिकेर नयाँ ठाउँमा पुग्न चाहेको बताउनुभयो ।

यहाँ चीन जाँदा चिनियाँ पक्षले संघीयताबारे चिन्ता जनाएको थियो । भारतको चाहिँ के रहेछ धारणा ?

चीनको चिन्ताभन्दा पनि चासो हो । संघीयताले के हुन्छ भन्ने चासो हो । भारतीय पक्षले भने खुलेर संघीयताबारे कन्सर्न देखाएको मैले पाइनँ । संघीयता ठीकै छ भनेर सहज ढंगले लिएको पाइन्छ । अहिले संघीयतामाथि छलफलको जुन ट्रयाक छ, त्यो ठीक छ भन्ने मैले पाएँ ।

नेपालमा महत्त्वपूर्ण प्रभाव राख्ने दुवै छिमेकी मुलुकको भ्रमण सकिँदै गर्दा अब संक्रमण छिट्टै अन्त्य हुनेबारे यहाँ कत्तिको आशावादी हुनुभएको छ ?

दुवै छिमेकीको भ्रमण सकिँदै गर्दा म धेरै आशावादी र उत्साहित भएको छु । दोस्रो, मैले ठूलो जिम्मेवारी आइपरेको महसुस गरेको छु । दुई छिमेकीले स्थायित्व र समृद्धिका लागि मलाई बोलाएर नेपालमा स्थिरता बनोस् भन्ने धारणा राखें । मैले राष्ट्रप्रति अझ जिम्मेवारी महसुस गरेको छु । नेपाललाई समृद्ध नबनाइकन आफ्नो सुरक्षा चासो सम्बोधन हुँदैन भन्ने महसुस दुवै छिमेकीका सरकार, नेताहरू र उच्च अधिकारीहरूले गरेका छन् । यस्तो महसुस हुनु हाम्रा लागि सुनौलो अवसर हो । यसलाई आ-आफैं झगडा गरेर नभत्काऔं । मिलेर देशलाई समृद्ध पारौं ।

-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु