dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

नौमुठे गाईको उचित संरक्षण नहुँदा लोप हुने चिन्ता

रासस : 2012-02-12 14:43:33


अछाम, २९ माघ : विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने नौमुठे गाई (अछामी)ले विगत लामो समयदेखि स्थानीयस्तरदेखि एसियामै चर्चा चुम्न सफल भए पनि आवश्यक संरक्षण र प्रवद्र्धन हुन नसकेका कारण अहिले यो गाई नै लोप होला भन्ने चिन्ता बढेको छ ।

    अछाममा उत्पत्ति भएको यो नौमुठे गाई (अछामी)लाई छोरीको विवाहसँगै दाइजोस्वरुप दिइने प्रथाले गर्दा अहिले बझाङ, बाजुरा र डोटी जिल्लामा समेत यो गाई पाइन्छ । यो गाईको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक प्रचारप्रसार गर्न सकेमा मुलुकको पर्या–पर्यटन (इको–टुरिज्म)मा उल्लेखनीय फड्को मार्न सकिने बताइन्छ ।

    लामो समयदेखि अछामको समग्र विकास तथा पर्यटन क्षेत्रमा काम गर्दै आएका अछाम कुसकोटका धर्मराज ताम्राकार भर्खरै सम्पन्न पयर्टन वर्ष, २०११ मा समेत यस गाईको प्रचारप्रसारमा उल्लेखनीय कार्य गर्न नसकिएकाले सुदूरपश्चिममा अपेक्षा गरेअनुसार विदेशी पर्यटकहरु भित्र्याउन नसकिएको बताउनुहुन्छ ।

    ‘संसारकै सबैभन्दा सानो यो गाई फुर्तिलो एवम् जुझारु स्वभावको हुने भएकाले अन्य गाईको तुलनामा यो गाई निरोगी हुन्छ,’ उहाँ भन्नुहुन्छ–‘यस्तो अनौठो र पर्यटकीय दृष्टिकोणले पनि अतुलनीय यस गाईको आवश्यक प्रचारप्रसार गरी संरक्षण तथा प्रवद्र्धन गर्न नसक्दा कतै लोप हुने हो कि भन्ने चिन्ता जन्माएको छ ।’

     नेपालको सुदूरपश्चिमी पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो गाईको अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुट्ठीले नाप्दा जम्मा नौ मुट्ठी हुने भएकाले यो गाईलाई स्थानीयवासीले नौमुठे गाईकारुपमा चिन्दछन् ।

    सरकारी कामको सिलसिलामा अछाम र डोटी जिल्लामा खटाइएका कर्मचारीहरुले पाएसम्म भैँसीको भन्दा गाईको दूध मन पराउँथे । अछामी गाईको धार्मिक महत्व धेरै भएका कारण कम्तीमा एउटा गाई पाल्नुपर्ने चलन अहिले यस क्षेत्रमा बढ्दै गए पनि उचित संरक्षण र सम्वद्र्धन हुन नसकेकाले समस्या उत्पन्न भएको छ ।

    अछाम, डोटी, बैतडी र बाजुराका केही स्थानमा मात्र पाइने यो प्रजातिका साँढेको उचाइ ३५ देखि ३७ इन्च, गोलाई ४२ देखि ४३ र लम्बाइ ३२ देखि ३६ इन्चसम्म हुन्छ भने गाईको उचाइ ३० देखि ३६, गोलाई ४० देखि ४५ र लम्बाई २५ देखि ३० इन्चसम्म रहने गरेको पाइएको छ । साँढेको तौल १६० केजी र गाईको तौल १५० केजी औसत हुने गरेको छ ।

    अछामको जल्पादेवी, वैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाबला, मष्टामाडौँ, देवीस्थान गाविसहरुमा मात्र यस प्रजातिको गाईको सङ्ख्या ८६३ रहेको छ । यदि कुनै पनि प्रजातिमा पोथीको सङ्ख्या ५०० भन्दा कम र भालेको सङ्ख्या २० भन्दा कम भएमा सो प्रजाति संरक्षणका दृष्टिकोणले खतराको स्थितिमा रहने पशु प्रजनन महाशाखाको दाबी छ ।

    जस्तोसुकै सुख्खा मौसममा पनि चरन गर्न सक्ने र अछाममा नै उत्पत्ति भएकाले भिरपाखामा चरन गरेर आफ्नो पेट भर्न सक्ने प्रजातिका रुपमा रहेको यो गाई सामान्यतयाः यो गाई फुर्तिलो र जुझारु स्वभावको हुने जानकारी दिँदै बाबला गाविस–८ का कृषक पे्रम बाब्ली भन्नुहुन्छ– ‘सामान्य रोगका कारण यसको मृत्यु नहुने र थोरै घाँसपात खुवाएर पनि पाल्न सकिने भएकाले अहिले यस क्षेत्रका कृषकहरु यसप्रति आकर्षित हुँदै गएका छन् ।’

    ‘धार्मिक महत्वको दृष्टिकोणले यो गाईको गोबरले लिपेको ठाउँलाई पवित्र मानिने र यो गाईको पालनपोषणले गर्दा सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ,’ उहाँ भन्नुहुन्छ– ‘बच्चा पाएको र मानिसको मृत्यु भएको घर चोखो पार्न यस गाईको गोबरलाई पञ्चगव्य बनाउन तथा मरेको मान्छेको घर परिवारले ब्राह्मणलाई दानकारुपमा दिनाले पे्रतात्मा स्वर्ग जाने (बैतरणी पार गर्ने) विश्वाससमेत छ ।’

    यस गाईलाई अन्य गाईको तुलनामा सस्तो मूल्यमा समेत किन्न सकिन्छ । यस गाईलाई रु १५०० देखि रु २००० सम्ममा किन्न सकिने भएकाले यसको लोकप्रियता अझै बढी हुन पुगेको छ । यसले अन्य गाईको तुलनामा धेरै दूध दिने र पोषिलोसमेत हुने गर्छ ।

    करिब १५० किलोग्राम तौलको यस गाईले दुईदेखि चार लिटरसम्म दूध दिनु भनेको उन्नत जातका गाईको तुलनामा बढी मानिन्छ ।

    विदेशी पर्यटक र सरोकारवालालाई पर्यटन विस्तारका साथै यसबारे जानकारी गराउने, अछाम जिल्लाका साथै छिमेकी जिल्लामा यसको पहिचान अझ सशक्त बनाउने र पर्यटनसम्बन्धी नीति निर्माणका तहमा सहयोग पु¥याउने, अछामलगायत यस क्षेत्रको पर्यटकीय महत्व अभिवृद्धि भई स्थानीय जीविकोपार्जनमा टेवा पुग्ने र नौमुठे गाईको विश्वस्तरमा प्रचारप्रसार गरी पर्यटकमाझ यसको छुट्टै पहिचान बनाउन सकिने स्थानीयवासीको ठम्याई छ ।  

    जनाली कोट गाविस–१ अछामका कल्लाने टमाटा यो गाई तीन वर्षमा प्रजननका लागि तयार हुने र साधारणतया मार्च र अप्रिल महिनामा बच्चा जन्माउने तथा जुलाई र अगष्टमा प्रजननका लागि उपयुक्त महिना मानिने बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– ‘यो प्रजातिका गाईहरु गर्भधारण अवधि २७० देखि २८० दिन हुने र एउटा बच्चा जन्मेको सामान्यतया छ महिनापछि अर्को बच्चाका लागि तयार हुन्छन् ।’ अहिले उचित वासस्थान र चरनका लागि समस्या भएपछि यस गाईको संरक्षण र प्रवद्र्धनमा समेत कठिनाई उत्पन्न भइरहेको छ ।

    नौमुठे गाई संरक्षण र सम्वद्र्धनका क्षेत्रमा ताजा बहस गर्ने÷गराउने र नीति निर्माणका लागि सहयोग पु¥याउन सकेमा नेपाल भित्रिने सबै पर्यटक यस क्षेत्रमा आउन सक्ने तथा स्थानीयवासीको जीवनस्तरमासमेत सुधार आउनुका साथै नौमुठे गाई (अछामी) को महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुग्न सहयोग हुने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु