dashain
Wednesday, 17 October 2018 01:06 am, Nepal

अस्पतालमा पानी चुहिन थालेपछि बिरामीको बिजोग

मेचीकाली : 2011-07-08 08:31:20


सप्तरी, २४ असार : सप्तरीको सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको भवनभित्र पानी चुहिन थालेपछि बिरामीहरुको बिच्चली भएको छ । विगत एकसातादेखि परेको अविरल वर्षाका कारण अस्पतालका प्रायःजसो कोठामा पानी चुहिन थालेपछि उपचारमा पनि कठिनाइ भइरहेको छ ।

बिरामीलाई राख्ने १५ वटा कोठा रहेको यस अस्पतालको आठ कोठामा पानी चुहिने समस्या छ भने प्रसूतिको शल्यक्रिया गर्ने कोठामा अत्यधिक पानी जमेको छ ।

अस्पतालका चिकित्सकहरुका अनुसार पानी चुहिन थालेपछि उपचारमा कठिनाइ भएको छ । भारत सरकारको सहयोगमा विसं २०२८ मा निर्माण गरिएको अस्पतालमा उपचारका लागि आउने बिरामीलार्ई सुरक्षित ठाउँमा सार्दासार्दै कुरुवाहरु हैरान बन्ने गरेका छन् भने उपचार गर्न आएका स्वास्थ्यकर्मीलाई छाता ओढ्नुपर्ने विवशता छ ।

वर्षाैदेखि चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालका कोठाभित्र पानी चुहिन सुरु भएपछि थप जटिलता उत्पन्न भएको हो । ‘उपचार गराउन आएका बिरामीलाई भरपुर आरामको व्यवस्था हुनुपर्नेमा यताउता सरेर हैरान बन्नुपरेको छ’, पोलेर घाइते भएका एक जना बिरामीका कुरुवा सप्तरीको हनुमाननगर गाविस– ५ निवासी प्रमोदकुमार साहले भन्नुभयो–‘‘वर्षा भएपछि खाट सार्दासार्दै फुर्सद हुँदैन् ।”

आकस्मिक कक्ष पनि पानी चुहिनबाट अछुतो छैन । अधिकांश शय्यामा पानी चुहिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।  स्वास्थ्यकर्मीका अनुसार विद्युत् कटौती भएको समयमा धेरै सास्ती खेप्नुपर्छ । सबैभन्दा बढी प्रभावित प्रसूति गराउन आएका महिलाहरु भइरहेका छन् । व्यथाले च्यापिएकी यस्ता महिलालाई पानीबाट निक्कै हम्मेहम्मे पर्ने गरेको तिनका परिवारहरु बताउँछन् । श्रीमतीलाई प्रसूति गराउन सप्तरीकै मानराजा गाविस– ५ बाट आएका देवनारायण प्रमाणीले शिशु जन्मेपछि पानीबाट जोगाउन एकदमै कठिनाइ भएको अनुभव सुनाए ।

एक्सरे गर्ने, रगत जाँज्ने प्रयोगशालाको छत पनि जीर्ण भइसकेको छ । धेरै वर्षा भएपछि यी कोठाहरुमा पनि पानी चुहिने गरेको छ । अस्पतालको अर्काे नयाँ भवन पनि छ । तर, अस्पताललाई हस्तान्तरण नगरिएको उक्त भवनका कोठाहरुमा पनि पानी चुहिन थालेको मेडिकल सुपरिटेन्डेन्ट शैलेस झा बताउनुहुन्छ ।

राष्ट्रपति डा रामवरण यादव स्वास्थ्य मन्त्री रहेको बखत २०५५ सालमा शिलान्यास गरिएको उक्त भवन चार वर्ष अगाडि निर्माण गरिएको हो । सुपरिटेन्डेन्ट झाका अनुसार भवनको निर्माण गर्ने ठेकेदारले अस्पताललाई हस्तान्तरण नगरिएका कारण प्रयोग गर्न नसकिएको हो ।

‘भवनको विषयमा धेरै ठाउँमा जानकारी गरायौं, कसैले वास्ता गरेको छैन’, दुःखित मुद्रामा सुपरिटेन्डेन्ट झाले भन्नुभयो – मबाट हुने सबै प्रयास सकियो, जे हुन्छ हुन दिनुस्, अब म यस विषयमा केही गर्न सक्दिनँ । पचास शय्याको उक्त अस्पतालमा १९ जना चिकित्सकको दरबन्दी रहेकोमा अहिले ८ जना मात्र कार्यरत छन् ।

वर्षाको समयमा झाडापखाला तथा ज्वरोका बिरामीहरुको चाप यस अस्पतालमा निक्कै बढ्ने गर्छ । रासस

यो विषयका प्रतिक्रियाहरु

Om Nath Lamsal:Jul 9, 2011 07:44:08 AM

राम्रो यस्तै गर्नु पर्छ नेपाल सरकारले .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु