नमोबुद्ध–१० बालमैत्री वडा घोषणासँगै जेष्ठ नागरिकलाई सम्मान


मेचीकाली , 

काभ्रे-नमोबुद्ध नगरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई बालमैत्री वडाको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरेका हुन्। नमोबुद्ध नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर १० अन्तिममा बालमैत्री घोषणा भएको वडा बनेको छ। सबै वडालाई बालमैत्री घोषणा गर्ने प्रक्रिया पूरा भएसँगै अब नगरपालिकालाई नै बालमैत्री नगर घोषणा गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

घोषणा कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामालगायतले मन्तव्य राखेका थिए। बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार बालबालिकाको अधिकार संरक्षण, उनीहरूको सहभागिता तथा बालमैत्री वातावरण निर्माणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने कार्यक्रममा जोड दिइएको थियो।


एकल महिला र ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बालमैत्री वडा घोषणा कार्यक्रमकै अवसरमा सामाजिक सहयोगका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। एकल महिला तथा ज्येष्ठ नागरिक गरी २ सय ७५ जनालाई कम्बल वितरण गरिएको छ।

त्यस्तै, स्थानीय समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिएको छ। यसले स्थानीय सांस्कृतिक परम्परा र बाजागाजाको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण उपाध्यायले व्यक्तिगत खर्चमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा वडा कार्यालयका कर्मचारी र महिला जनप्रतिनिधि गरी १९ जनालाई एक–एक सेट कपडासमेत हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया



थप समाचारहरु

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?