ओमान- कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी शतकप्रेरित प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ। रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक पूरा गर्दै तीन शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन्।
ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमा समेटिएपछि नेपालले महत्त्वपूर्ण जित हात पारेको हो।
नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले १२५ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। सुरुवाती तीन विकेट छिट्टै गुमाएर दबाबमा परेको नेपाललाई उनले बसिर अहमदसँग मिलेर उकासेका थिए। यी दुईबीच चौथो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो। बसिरले ३० रन जोडे।
त्यसपछि गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४८ रन बनाए। अन्य ब्याट्सम्यानबाट उल्लेख्य योगदान हुन नसके पनि रोहितको शतक र गुल्सनको आक्रामक इनिङ्सले नेपाललाई सम्मानजनक योगफलसम्म पुर्यायो।
रोहितले यसअघि त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी तथा दुबईमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा शतक बनाएका थिए। क्यानडाविरुद्धको शतकसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडीका रूपमा आफ्नो नाम लेखाएका छन्।
नेपालको इनिङ्स रोक्ने क्रममा क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद श्रीजादले दुई विकेट लिए। २३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि आरोन जोहनसनले ४४, समित गोहेलले ३५ तथा अखिल कुमारले अविजित ३० रन बनाए। तर, नेपाली बलरको कसिलो प्रदर्शनसामु क्यानडाको ब्याटिङ टिक्न सकेन।
नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिएपछि क्यानडा लक्ष्यसम्म पुग्न असफल भयो। यस जितसँगै नेपालले विश्वकप लिग–२ को अङ्कतालिकामा सुधार गरेको छ। ३३ खेलबाट १२ जितसहित २६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ।