जलवायु सहनशील भविष्यका लागि जल–खाद्य–ऊर्जा प्रणालीको एकीकृत विकासमा अन्तर्राष्ट्रिय विज्ञहरूको जोड


मेचीकाली

धुलिखेल- जलवायु परिवर्तनका कारण बढ्दो पानी संकट, खाद्य असुरक्षा, ऊर्जा चुनौती तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी जोखिमलाई प्रभावकारी रूपमा सामना गर्न खाद्य–ऊर्जा–जल (Food–Energy–Water: FEW) प्रणालीको एकीकृत व्यवस्थापन अपरिहार्य रहेको निष्कर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले व्यक्त गरेका छन्।

काठमाडौं विश्वविद्यालयमा सम्पन्न ग्लोबल फ्यूचर एलायन्स को तेस्रो वार्षिक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०२६ मा नेपाल, संयुक्त राज्य अमेरिका, इजरायल, अष्ट्रेलिया तथा तान्जानियाका वैज्ञानिक, अनुसन्धानकर्ता, नीति निर्माता, विश्वविद्यालय तथा विकास साझेदारहरूले जलवायु उत्थानशील विकासका लागि विज्ञान, प्रविधि, नीति र समुदायबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेका हुन्।

"जलवायु उत्शीथानलता अभिवृद्धिका लागि पुन-र्चक्रिय जल, नवीकरणीय ऊर्जा तथा कृषि नवप्रवर्तनको एकीकृत उपयोग: स्रोत चक्रलाई पूर्णता दिने प्रयास" मूल विषय रहेको सम्मेलनको उद्घाटन गर्दै नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर, काठमाडौं विश्वविद्यालयका निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठले Food–Energy–Water Nexus कुनै सैद्धान्तिक अवधारणा मात्र नभई जलवायु परिवर्तनको प्रभावसँग जुधिरहेका समाजका लागि जीवनरेखा भएको बताउनुभयो।

उहाँले आगामी दुई दिनमा पानी, सरसफाइ तथा स्वच्छता (WASH), फोहोरपानी प्रशोधन तथा पुनःप्रयोग, नवीकरणीय ऊर्जा, सार्वजनिक स्वास्थ्य, कृषि तथा जलवायु अनुकूलनका विषयमा हुने वैज्ञानिक छलफलले दिगो विकासका लागि नयाँ मार्गचित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रा. डा. श्रेष्ठले सम्मेलनअघि नै काभ्रेपलाञ्चोकको श्री जनक माध्यमिक विद्यालयमा इजरायली Laguna प्रविधिमा आधारित नेपालकै पहिलो सौर्य ऊर्जाद्वारा सञ्चालित पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली स्थापना गरिएको उल्लेख गर्दै यसले प्रयोग भइसकेको पानीलाई प्रशोधन गरी पुनः सिँचाइ तथा अन्य प्रयोजनमा उपयोग गर्ने नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो। उहाँका अनुसार यो परियोजना संयुक्त राज्य अमेरिका, इजरायल, तान्जानिया र नेपालबीचको ज्ञान, प्रविधि तथा अनुभव आदानप्रदानको उत्कृष्ट उदाहरण हो।

ग्लोबल फ्यूचर एलायन्स की निर्देशक तथा मेरील्याण्ड विश्व-बिद्यालय, स्कुल अफ पब्लिक हेल्थ की प्राध्यापक डा. एमी आर. सापकोटाले सन् २०२३ मा स्थापना भएको ग्लोबल फ्यूचर एलायन्स को उद्देश्य खाद्य, ऊर्जा र जलको सुरक्षा अभिवृद्धि गर्नु, वातावरण तथा सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नु र जलवायु परिवर्तनका बीच समुदायको सहनशीलता सुदृढ बनाउनु रहेको बताउनुभयो।

उहाँले अघिल्ला दुई वार्षिक सम्मेलन अमेरिकाको मेरील्याण्ड विश्व-बिद्यालय मा सम्पन्न भए पनि यस वर्ष नेपाललाई सम्मेलन स्थलका रूपमा छनोट गर्नुको उद्देश्य परियोजना कार्यान्वयन भइरहेका समुदायसँग प्रत्यक्ष संवाद, स्थानीय साझेदारी सुदृढीकरण तथा ज्ञान तथा अनुभब आदानप्रदानलाई विस्तार गर्नु रहेको स्पष्ट पार्नुभयो।

डा. सापकोटाले सम्मेलनलाई केवल अनुसन्धान प्रस्तुत गर्ने मञ्चका रूपमा नभई नयाँ सहकार्य निर्माण गर्ने, कार्यान्वयन विज्ञान (Implementation Science) का अनुभव आदानप्रदान गर्ने, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने तथा बहुक्षेत्रीय तथा बहु-आयामिक  समाधान खोज्ने साझा प्लेटफर्म का रूपमा व्याख्या गर्नुभयो। उहाँले खाद्य, ऊर्जा र पानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले यी सेवाबाट वञ्चित समुदायसम्म दिगो समाधान पुर्‍याउनु नै ग्लोबल फ्यूचर एलायन्स को मूल उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बासले नेपाल र इजरायलबीच कृषि, जल व्यवस्थापन तथा नवप्रवर्तनका क्षेत्रमा बढ्दो सहकार्यको प्रशंसा गर्दै इजरायलले सीमित जलस्रोतका बाबजुद प्रविधि, अनुसन्धान र नवप्रवर्तनमार्फत कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो। उहाँले नेपालमा जलवायु परिवर्तनका चुनौती सामना गर्न आधुनिक सिँचाइ प्रणाली, पानीको दक्ष उपयोग, फोहोरपानी प्रशोधन तथा पुनःप्रयोग (Wastewater Reuse) जस्ता प्रविधिहरूको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो।

राजदूत बासले उद्यमशीलता (Entrepreneurship), अनुसन्धान तथा नवप्रवर्तन (Innovation) लाई दिगो विकासको प्रमुख आधारका रूपमा व्याख्या गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै नवीन प्रविधिहरूलाई व्यवहारमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो। उहाँले युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूलाई जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने समाधान विकास गर्न आग्रह गर्दै नेपाल–इजरायल सहकार्य आगामी दिनमा कृषि, जल व्यवस्थापन, नवीकरणीय ऊर्जा तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।


सम्मेलनका प्रमुख वक्ता तथा गेट्स फाउनडेशन का पूर्व-उपनिर्देशक डा. रोशन राज श्रेष्ठले जलवायु अनुकूलनका रणनीतिहरूमा पुनःप्रयोग योग्य पानी (Wastewater) लाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै यसलाई फोहोर नभई ऊर्जा, कृषि, जल सुरक्षा तथा हरित अर्थतन्त्रसँग जोड्न सकिने बहुमूल्य स्रोत का रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले विकास परियोजनामा देखिने "Pilot Trap" (पाइलट परियोजनाको जाल) बारे चेतावनी दिँदै परीक्षण चरणमा सफल भएका परियोजनाहरूलाई दीर्घकालीन रूपमा सञ्चालन, विस्तार र संस्थागत गर्न नसकिए वास्तविक परिवर्तन सम्भव नहुने बताउनुभयो। “रिबन काटेको दिनभन्दा त्यसपछिका एक हजार दिन प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने विषय नै सफलताको वास्तविक मापन हो,” उहाँले उल्लेख गर्नुभयो।

काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस तथा धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. बिराज कर्माचार्यले जलवायु सहनशील पूर्वाधार निर्माणमा सञ्चालन तथा मर्मतसम्भार सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो। उहाँले “राम्रो प्लम्बर भेट्टाउनु कहिलेकाहीँ अस्पतालमा राम्रो न्युरोसर्जन भेट्टाउनु जत्तिकै कठिन हुन्छ” भन्ने उदाहरण प्रस्तुत गर्दै प्रविधिको सफलता उपकरणमा मात्र नभई दक्ष प्राविधिक जनशक्ति, स्थानीय क्षमता विकास तथा भरपर्दो सञ्चालन प्रणालीमा निर्भर रहने स्पष्ट पार्नुभयो।

सम्मेलनमा ग्रे-वाटर पुनःप्रयोग, वर्षाको पानी संकलन, विकेन्द्रीकृत फोहोरपानी प्रशोधन, नवीकरणीय ऊर्जा, बायोचार, दिगो कृषि, कृत्रिम बुद्धिमत्ता (AI), सार्वजनिक स्वास्थ्य, जलवायु अनुकूलन तथा खाद्य-उर्जा-जल (FEW) नेक्सस सम्बन्धी तीन दर्जनभन्दा बढी वैज्ञानिक अनुसन्धान, पोस्टर तथा प्रविधिगत अभ्यासहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले विज्ञानमा आधारित नीति निर्माण, अन्तर्राष्ट्रिय सहकार्य तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत मात्र जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरेका थिए।

सम्मेलनको समापन गर्दै आयोजक संस्था संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टरका निर्देशक इन्जिनियर श्रीकृष्ण धितालले विश्वविद्यालयमा हुने अनुसन्धान समुदायका वास्तविक आवश्यकता र समस्यामा आधारित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अनुसन्धानको उद्देश्य केवल शैक्षिक प्रकाशन वा प्रयोगशालामा सीमित नभई स्थानीय समुदायले भोगिरहेका चुनौतीहरूको दिगो, व्यावहारिक र किफायती समाधान विकास गर्नु हुनुपर्ने बताउनुभयो।

उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र, स्थानीय सरकार तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समुदायका समस्या र आवश्यकतालाई अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका प्रमुख आधार बनाउनुपर्ने धारणा राख्नुभयो। स्थानीय स्रोत, सीप र ज्ञानको अधिकतम उपयोग गर्दै कम लागतका, स्थानीय रूपमा सञ्चालन गर्न सकिने र दिगो प्रविधिको विकास आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।

इन्जिनियर धितालले सरकारले अनुसन्धानमा आधारित स्टार्टअप, नवप्रवर्तन र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै विश्वविद्यालयमा विकसित प्रविधिलाई उद्योग, कृषि र समुदायसम्म पुर्‍याउने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ गर्दै ज्ञान, प्रविधि, लगानी र अनुभवको आदानप्रदान विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले जलवायु परिवर्तन, पानी, कृषि, ऊर्जा र जनस्वास्थ्यका चुनौतीहरूको समाधान चक्रीय अर्थतन्त्र (Circular Economy) मा आधारित विकास अवधारणाबाट सम्भव हुने उल्लेख गर्दै पुनःप्रयोग गरिएको पानी, नवीकरणीय ऊर्जा, कृषि नवप्रवर्तन, स्रोत पुनःप्रयोग तथा फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने अभ्यासहरूलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। विश्वविद्यालयबाट सिर्जना हुने ज्ञान र प्रविधि प्रत्यक्ष रूपमा समुदायमा पुगेर जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सके मात्र अनुसन्धानको वास्तविक मूल्य स्थापित हुने उल्लेख गर्दै उहाँले विश्वविद्यालय र समुदायबीचको दूरी घटाउँदै अनुसन्धानलाई प्रयोगशालाबाट समुदायसम्म पुर्‍याउनु नै जलवायु उत्थानशीलता, आत्मनिर्भर र दिगो नेपालको आधार हुने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनमा नेपाल, संयुक्त राज्य अमेरिका, इजरायल, अष्ट्रेलिया र तान्जानियाका विश्वविद्यालय, अनुसन्धान संस्था तथा विकास साझेदार संस्थाका ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विषयविज्ञहरूले आफ्ना अनुसन्धान, अनुभव प्रस्तुत गरेका थिए। सम्मेलनमा खाद्य–ऊर्जा–जल समन्वित प्रणाली, जलवायु उत्थानशीलता, प्रयोगोपरान्त पानीको प्रशोधन तथा पुनःप्रयोग, नवीकरणीय ऊर्जा, दिगो कृषि, बायोचार, वर्षाको पानी सङ्कलन, जनस्वास्थ्य, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, उद्यमशीलता तथा समुदायमा आधारित दिगो विकास सम्बन्धी अनुसन्धानमूलक कार्यपत्र, अनुभव आदानप्रदान तथा सफल अभ्यासहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले विज्ञानमा आधारित नीति निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण र समुदायमुखी अनुसन्धानमार्फत जलवायु परिवर्तनका चुनौतीहरूको दिगो समाधान सम्भव हुने निष्कर्ष व्यक्त गरेका थिए।

दुईदिने सम्मेलनको निष्कर्षले नवीकरणीय ऊर्जाको विकासलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी जल, कृषि, सार्वजनिक स्वास्थ्य र वातावरणसँग एकीकृत गर्नुपर्ने, साथै पुनःप्रयोगयोग्य पानी, नवीकरणीय ऊर्जा र कृषि नवप्रवर्तनलाई जोड्ने बहुक्षेत्रीय तथा बहुआयामिक सहकार्य नै जलवायु उत्थानशिलता र दिगो विकासको आधार हुने साझा सन्देश दिएको छ।


प्रतिक्रिया



थप समाचारहरु