काठमाडौं — असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको सन्देश बोकेको बडादशैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
दुर्गापक्षका नौ दिनसम्म दशैँघर तथा पूजाकोठामा विधिपूर्वक दुर्गा भवानीको पूजा आराधना गरी घटस्थापनाका दिन राखिएको जमरा र पूजाको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ। घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी टीका लगाउने धार्मिक मान्यता छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउन चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको छ। टीका लगाउनुअघि घटस्थापनाका दिन आह्वान गरिएका देवीदेवताको विसर्जनका लागि बिहान ८ बजेर ४९ मिनेटको साइत निर्धारण गरिएको छ।
समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार साइतमा टीका लगाउनेहरूले पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। यद्यपि, विजयादशमीका दिन देवी विसर्जनपछि दिनभर नै टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिने धार्मिक मान्यता रहेको छ।
विजयादशमीलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद लिने गरिन्छ। आपसी सद्भाव, पारिवारिक एकता र आत्मीयता अभिवृद्धि गर्ने पर्वका रूपमा समेत दशैँको विशेष महत्त्व रहेको छ।
रातो टीकालाई शुभता र विजयको प्रतीक तथा जमरालाई समृद्धि, उर्वरता र सुखको प्रतीकका रूपमा लिने चलन छ। विजयादशमीले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै समाजमा प्रेम, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।