अमेरिकी डलर देखाई ठगी गर्ने समूहका सदस्य पक्राउ


मेचीकाली

काभ्रेपलाञ्चोक– जिल्लाको बनेपा नगरपालिकाको विभिन्न स्थानमा अमेरिकी देखाई नेपाली रुपियाँ ठगी गर्ने समूहमध्येका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकाका विभिन्न वडामा रहेको जङ्गलमा सर्वसाधारणलाई अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ३ बस्ने २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले सुनिललाई भक्तपुरबाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन बिष्टले अमेरिकी डलर देखाई विभिन्न व्यक्तिसँग लाखौँ रुपियाँ ठगी गर्ने समूहका थप तीन जनाको समेत पहिचान भएको बताउनुभयो । उहाँले अमेरिकी डलर देखाई ठगी गर्ने समूहले विभिन्न व्यक्तिलाई ९७४३९८१५१३, ९७४७७०६०४४, ९८५२०२३७५३, र ९७४७४५०२९१ नम्बरबाट विभिन्न ब्यक्तिहरुलाई फोनबाट प्रलोभनमा पारी लाखौँ रुपियाँ ठगी गरेको बताउनुभयो ।

उक्त समूहले चैत २४ गते बनेपा नगरपालिका– ३ नगरकोटको जङ्गलमा ९७४३९८१५६० नम्बरको प्रयोग गर्ने व्यक्तिले ५० रुपियाँ अमेरीकन डलरको नोट देखाई पाँच हजार डलर दिन्छु भनि रुमालको पोको देखाई झुक्याइ पाँच लाख रुपियाँ ठगी गरेका थिए । यस्तै असार ५ गते बनेपा नगरपालिका– ३ शसिपानीस्थित जङ्गलमा ९७४३९८१५१३ नम्बर प्रयोग गर्ने ब्यक्तिले अमेरीकन डलर ५० को नोट देखाई ५५ हजार डलर दिन्छु भनि रुमालको पोको देखाई २३ लाख रुपियाँ र असार ६ गते बनेपा नगरपालिका– १ को रानिकोट स्थितमा जङ्गलमा ९७४७४५०२९१ नम्बर प्रयोग गर्ने ब्यक्तिले अमेरीकन डलर बीस हजार दिन्छु भनी रुमालको पोको देखाई २० लाख रुपियाँ ठगी गरेको प्रहरी नायव उपरीक्षक बिष्टले बताउनुभयो । 

पक्राउ परेका सुनिलबाट उनीहरुले घटना घटाएको बेलामा गाएको सेतो चप्पल– एक जोर, निलो ट्रयाक र कालो हाफ पाईन्ट, पेपर काट्ने ब्लेड दुई थान, काटिएको अवस्थामा रहेको कापी एक बुक, घटनामा प्रयोग भएको बा.प्र. ०२–०६३ प. ८१९० नम्बरका टिभिएस कम्पनीको स्कुटर एक थान, किप्याड, मोबाईल दुई थान, स्क्रिन टच मोबाईल एक थान, सिम कार्ड तीन थान र नगद २३ हजार रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले सामुहिक रुपमा आर्थिक लाभको लागी योजनाबद्ध तरिकाले सङ्गठित रुपमा विभिन्न व्यक्तिहरुलाई आर्थिक प्रलोभन पारी ठगी गरेकोले उनीहरु बिरुद्द ‘ठगी तथा संगठित अपराध’ मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक बिष्टले बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु