कहिले बन्ला बनेपाको शीत भण्डार ?


मेचीकाली

काभ्रे– कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको भण्डारण गर्ने उद्देश्यले निर्माण सुरु गरिएको शीत भण्डार (कोल्ड स्टोर) निर्माणमा ढिलाई भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बनेपा नगरपालिका–८ मा निर्माण सुुरु गरिएको शीत भण्डार निर्माणको काममा ढिलाई भएको हो । 

सङ्घीय सरकारले विशेष अनुदान कार्यक्रम अन्र्तगत बनेपामा आर्थिक वर्ष २०८०/०८१ मा शीत भण्डार निर्माणको लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । शीत भण्डार निर्माणको लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट १२ लाख रुपियाँ खर्च गरेर शीत भण्डारको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गरेको थियो । पहिलो वर्ष नगरपालिकाले डिपिआर तयार मात्रै गर्न सकेकोले उक्त वर्ष सङ्घीय सरकारले पठाएको रकम काम हुन नसकी फिर्ता गएको थियो । सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१÷०८२ मा शीत भण्डार निर्माणको लागि तीन करोड रुपियाँ विनियोजन गरेको थियो । गत आवमा नगरपालिकाले शीत भण्डार निर्माणको लागि बोलपत्र आह्वान गरी दुई करोड रुपियाँमा कोल्ड स्टोरको लागि जगलगायत फलामे संरचना निर्माण गरेको थियो । गत आवमा इस्क्रा÷अभियन्ता÷थाक जेभीले कोल्ड स्टोरको जग तथा फलामे संरचनाको काम गरेको बनेपा नगरपालिकाले जनाएको छ । 

बनेपा नगरपालिकाका ईन्जिनियर चन्दन ह्योजुले शीत भण्डार निर्माणको लागि चालु आर्थिक वर्षका लागि दुई करोड रुपियाँ विनियोजन भएको बताउनुभयो । उहाँले जेन्जी समूहको आन्दोलनका क्रममा कार्यालयका कार्यालयका कागजात जल्ने क्रममा शीत भण्डारको डिपिआर समेत नष्ट भएको, निर्वाचनको कारण, एक महिना प्रमुख प्रशासकिय अधिकृतविहिन हुँदा शीत भण्डार निर्माणको लागि नयाँ ठेक्का सम्झौता गर्न ढिलाई हुँदा शीत भण्डारको काममा ढिलाई भएको बताउनुभयो । उहाँले केही दिनअघि शीत भण्डार निर्माणको लागि ओम अग्नी वर्मे कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रालिसँग नयाँ सम्झौता भएको बताउनुभयो । उहाँले चालु आवको लागि दुई करोड रकम विनियोजन भएकोमा भ्याट बाहेक एक करोड १३ लाख रुपियाँमा नयाँ सम्झौता भएको बताउनुभयो । ई. ह्योजुले डिपिआर अनुसार शीत भण्डार निर्माणको लागि २४ करोड ६० लाख नौ हजार रुपियाँ खर्च हुने बताउनुभयो । चालु आवमा शीत भण्डारको जस्ताको छानो हाल्ने, र दोस्रो तल्लाको स्ल्याब ढलान गर्नुको साथै वरपरी पर्खाल लगाउने काम गरिने नगरपालिकाले जनाएको छ । ई. ह्योजुले सङ्घीय सरकारले बार्षिक पठाउने दुई÷तीन करोड रुपियाँले थोरै मात्रै काम गर्न सकिने भएकोले शीत भण्डारको कामलाई छिटो सम्पन्न गर्न बार्षिक दश करोड भन्दा बढी रकम विनियोजन गर्न आग्रह गरिएको बताउनुभयो । 

बनेपामा निर्माणाधिन शीत भण्डारमा मासुजन्य, तरकारी, फलफुलजन्य एक हजार मेट्रिक टन कृषि उपजहरु भण्डारण गर्न सकिने क्षमता रहेको छ । डिपिआरमा पर्याप्त बजेट विनियोजन गरिएको खण्डमा डेढदेखि तीन वर्षभित्र काम सम्पन्न गर्न सकिने भएपनि हरेक वर्ष थोरै बजेट विनियोजन भएकोले काम सम्पन्न गर्न अझै केही वर्ष लाग्ने देखिन्छ । यसैबीच जिल्लाको नमोबुद्ध नगरपालिका–३ मा निर्माणाधिन शीत भण्डार आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । जलवायु अनुकुल कार्यक्रम अन्र्तगतको करिब एक करोड रुपियाँ र नगरपालिकाको सात करोड २३ लाख ९३ हजार रुपियाँको लागतमा शीत भण्डार निर्माणको काम भैरहेको नगरपालिकाका ई. उज्वल अर्यालले बताउनुभयो । उहाँले जलवायु अनुकुल कार्यक्रम अन्र्तगत एक करोड रुपियाँमा भवन निर्माण भएको र नपाले सात करोड २३ लाख ९३ हजारको नयाँ ठेक्का मार्फत शीत भण्डारको काम सम्पन्न गर्न लागेको बताउनुभयो । हाल जनजागृति अकृत स्क्रा जेभीले शीत भण्डारको काम गरिरहेको छ । ई. अर्यालले हालसम्म सिभिल काम सम्पन्न भई ईलेक्ट्रिक र कोर काम (एसी, अन्य उपकरण) को काम बाँकी रहेको बताउनुभयो । 

उहाँले निर्माण व्यवसायी कम्पनीलाई हालसम्मको काम वापत दुई करोड दुई लाख भुक्तानी गरेको बताउँदै बजेट सुनिश्चितता भएको र बजेट अभाव नभएको खण्डमा आगामी पुस मसान्तभित्र शीत भण्डारको काम सम्पन्न हुने बताउनुभयो । नगरपालिकामा बजेट अभाव भएपछि शीत भण्डार निर्माणको लागि प्रदेश सरकारसँग बजेट माग गरेको छ । एक हजार मेट्रिक क्षमताको उक्त शीत भण्डार निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि आएपछि नमोबुद्ध नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् ।


प्रतिक्रिया



थप समाचारहरु

 

नयाँ JAECOO J6T अब बनेपामा