बेथानचोकमा रोडा ढुङ्गा उद्योगकै कारण बस्तीमा क्षति पुगेको गाउँपालिकाको निष्कर्ष


बेथानचोकमा रोडा ढुङ्गा उद्योगकै कारण बस्तीमा क्षति पुगेको गाउँपालिकाको निष्कर्ष
मेचीकाली , 

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेखोलामा सञ्चालित चालाल गणेशस्थान रोडा ढुङ्गा उद्योगले उत्पादनका क्रममा निस्किएको फोहोर (वेस्ट मटेरियल) उचित व्यवस्थापन नगर्दा स्थानीय बस्तीमा बाढीपहिरोको विपत्ति निम्तिएको गाउँपालिकाको स्थलगत प्रतिवेदनले निष्कर्ष निकालेको छ। उद्योग क्षेत्रमा अव्यवस्थित रूपमा थुपारिएको फोहोर अविरल वर्षासँगै बगेर बस्तीमा पस्दा ६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने दुई घर उच्च जोखिममा परेका छन्।

बेथानचोक गाउँपालिकाले कात्तिक १७ गते बिहान ११ बजेदेखि गरेको स्थलगत अवलोकन तथा प्रभावित क्षेत्रका १३ जना स्थानीयसँगको छलफलपछि तयार पारेको प्रतिवेदनमा उद्योगबाट निस्किएको फोहोरको उचित व्यवस्थापन नहुँदा घटना भएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार नेपाल मौसम विज्ञान विभागले २०८३ कात्तिक १२ गतेदेखि १४ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान जारी गरेको थियो। सोही अवधिमा परेको अविरल वर्षाका कारण उद्योगले उत्पादन गरी अव्यवस्थित रूपमा थुपारेको वेस्ट मटेरियल बगेर कात्तिक १४ गते बिहान ढुङ्गा र माटोसहितको लेदो बस्तीमा पुगेको थियो।

गाउँपालिकाको प्रतिवेदनले उद्योगले फोहोरको उचित व्यवस्थापन नगरेको र त्यसबाट बस्तीमा जोखिम निम्तिएको औँल्याउँदै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यकता समेत देखाएको छ।


१३ जना प्रभावित, घरदेखि जग्गासम्म क्षति

स्थलगत अवलोकनका क्रममा १३ जना स्थानीय प्रभावित भएको विवरण संकलन गरिएको छ। प्रभावित हुनेमा पोते तामाङ, जीतबहादुर तामाङ, हर्कबहादुर तामाङ, सानुबाबु तामाङ, पुष्पामाया तामाङ, मछमली लामा, सुमन तामाङ, राजु तामाङ, जगत तामाङ, पूर्णबहादुर लामा, सागर तामाङ, हेमबहादुर तामाङलगायत रहेका छन्।

प्रहरी सर्जमिन मुचुल्का तथा स्थलगत निरीक्षणका आधारमा तयार पारिएको विवरणअनुसार सेते तामाङको ५२ वर्ष उमेर उल्लेख भएको काठ र जस्ताले बनेको कटेज तथा दुई कोठे डीपीसी पूर्ण रूपमा क्षति भएको छ। पोतेबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्ताको छानो भएको अढाई तले घर, कटेज र करिब ३.५ रोपनी जग्गामा क्षति पुगेको छ।

त्यस्तै, हर्कबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्ताको छानो भएको अढाई तले घर, कटेज र दुई रोपनी जग्गा पूर्ण क्षति भएको छ। पुष्पामाया तामाङको काठ तथा जस्ताले बनेको कटेज र घर निर्माणका लागि तयार पारिएको १५×३० फिटको डीपीसीसहित एक रोपनी जग्गामा क्षति पुगेको छ।

जगतबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्ताको छानो भएको दुई कोठे एकतले कच्ची घर र घर निर्माणका लागि तयार पारिएको १५×३० फिटको डीपीसी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख छ। सुमन तामाङको काठ तथा जस्ताले बनेको कटेजसमेत पूर्ण रूपमा क्षति भएको छ।

यी क्षतिमा मानवीय तथा चौपाया क्षति नभएको प्रहरी सर्जमिन मुचुल्कामा उल्लेख गरिएको छ। अन्य प्रभावित परिवारका घर तथा संरचनासमेत बाढीपहिरोको चपेटामा परेका छन्।


सडक, खानेपानी र विद्युत् संरचनामा पनि क्षति

बाढीपहिरोले स्थानीय सडक सञ्जालमा समेत क्षति पुर्‍याएको छ। खानेपानीको इन्टेक र ट्याङ्की पाइप पूर्ण रूपमा पुरिएको प्रतिवेदनमा उल्लेख छ। एउटा विद्युत् पोल ढलेको र अन्य पोलहरू आधा–आधा पुरिएको अवस्था छ।

प्रभावितमध्ये पोते तामाङ, जगत तामाङ र सेते तामाङको घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उनीहरू आफन्तको घरमा आश्रय लिएर बसेका छन्। पूर्णबहादुर लामाको एउटा पक्की र एउटा कच्ची घर तथा दुर्गादास तामाङको छानो भएको कच्ची घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।

क्षति पुगेका घरभित्रका सामग्री पूर्ण रूपमा निकाल्न नसकिएको भए पनि चौपाया तथा मानवीय क्षति भने नभएको प्रतिवेदनमा उल्लेख छ।


बस्ती स्थानान्तरण र उद्योगबाट क्षतिपूर्ति दिनुपर्ने सुझाव

गाउँपालिकाको स्थलगत अवलोकन टोलीले प्रभावित बस्तीको दीर्घकालीन सुरक्षाका लागि खहरेखोलाको आसपास सिमेन्टको पर्खाल निर्माण गर्नुपर्ने वा जोखिममा रहेका बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै, रोडा ढुङ्गा उद्योगले प्रभावित परिवारलाई रोजगारी उपलब्ध गराउनुपर्ने र वैकल्पिक आवास निर्माणमा सहयोग गर्नुपर्ने मागसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्थलगत निरीक्षणका क्रममा उद्योग सञ्चालकको तर्फबाट समेत विस्थापित परिवारलाई खाद्य तथा गैरखाद्य राहत सामग्री वितरण गरिएको पाइएको प्रतिवेदनमा जनाइएको छ। गाउँपालिकाको विपद् कोषमार्फत प्रभावित परिवारलाई तत्काल खाद्य तथा गैरखाद्य राहत सामग्रीको व्यवस्था गरिएको छ।

बस्ती स्थानान्तरणको काम गाउँपालिकाबाट मात्रै सम्भव नहुने भएकाले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट समेत थप सहयोग र समन्वय आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

गाउँपालिकाको स्थलगत अवलोकन टोलीमा वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामा, वडा सदस्य कर्ण तामाङ, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना, वडा प्राविधिक सव–इन्जिनियर दीपककुमार हुमागाईं र विपद् सम्पर्क व्यक्ति विश्वनाथ दाहाल सहभागी थिए।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा समेत क्षतिको विवरणसहित प्रतिवेदन पेस गरेको छ। आजै जिल्ला विपद व्यवस्थापन समिति बैठकमा प्रतिवेदन पेश भएको छ । प्रतिवेदनले उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगर्दा स्थानीय बस्तीमा गम्भीर जोखिम सिर्जना भएको देखाउँदै उद्योगको फोहोर व्यवस्थापन, प्रभावित परिवारको पुनर्स्थापना र बस्ती सुरक्षाका लागि तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

बैठकले प्रतिवेदन कार्यान्वयन गर्दै खानी सञ्चालनमा तत्काल रोक लगाउने निर्णय गरेको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?