मधेशमा नयाँ सरकार गठनको तयारी


मधेशमा नयाँ सरकार गठनको तयारी
मेचीकाली , 

जनकपुरधाम- मधेश प्रदेशमा चार वर्ष नपुग्दै पाँचवटा सरकार परिवर्तन भएका छन् । पाँचौँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि विश्वासको मत पाउने अवस्था नदेखिएपछि शनिबार पदबाट राजीनामा दिएका छन् । उनको राजीनामासँगै प्रदेशमा छैटौँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । 

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले आगामी ४ मंसिर शुक्रबार अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् । २०७९ पुस २७ मा जसपा नेपालका सरोजकुमार यादवको नेतृत्वमा बनेको पहिलो सरकार २०८१ जेठमा ढलेको थियो । त्यसपछि जनमतका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनल, एमालेका सरोजकुमार यादव र कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री बने । तर, कुनै पनि सरकारले कार्यकाल पूरा गर्न सकेनन् । 

नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल सुरु भए पनि समीकरण निश्चित भइसकेको छैन । जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ । जसपाभित्रै एमालेसँग मिलेर सरकार बनाउने कि एमालेबाहेकका दलसँग सहकार्य गर्ने भन्नेमा मतभेद छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा छन् भने अध्यक्ष उपेन्द्र यादव एमालेबाहेकका दलसँग सहकार्य गर्ने पक्षमा रहेको बताइएको छ । लोसपाका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने विकल्पमा पनि छलफल भइरहेको छ । 

जनमत पार्टीले भने निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । कांग्रेसले जसपाले सहयोग मागे सकारात्मक निर्णय लिन सक्ने संकेत दिएको छ । एमाले र नेकपाको भूमिका पनि नयाँ समीकरण निर्माणमा निर्णायक हुने देखिन्छ । दलहरूले छठ पर्वपछि मात्रै सरकार गठनबारे औपचारिक छलफल अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु