काभ्रेपलाञ्चोक-काभ्रे प्रहरीले अवैध रूपमा ओसारपसार गरिएको ठूलो परिमाणको पटाकासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कात्तिक १० गते राति करिब ८ बजेर ५० मिनेटको समयमा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा चेकजाँचका क्रममा पटाका बरामद गरिएको हो।
काभ्रेभञ्ज्याङबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०२–००१ ख १२२६ नम्बरको यात्रुवाहक ईभी हाइसलाई अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले रोकेर जाँच गरेको थियो। सो क्रममा हाइसमा सवार धनुषाको जनकपुर उपमहानगरपालिका–६ बस्ने १९ वर्षीय राहुलकुमार साहको साथमा रहेको झोलामा पटाका फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साहले झोलामा लुकाएर ल्याएका विभिन्न ब्रान्डका पटाका बरामद गरिएको हो। बरामद सामग्रीमा CHORSHA CRACKERS लेखिएका २५ बन्डल, एक पेटीमा ५० प्याकेटका दरले जम्मा १ हजार २५० प्याकेट पटाका, High Speed Spinner Deluxe, The Classic Fire Works Industries Sivakasi, SRI AYYAMMAL FIRE WORKS SIVAKASI र Crackling Sparklers लगायतका पटाका छन्।
त्यसैगरी Rocket Bomb लगायतका अन्य पटाका पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पटाकाको कुल तौल करिब २० किलो रहेको प्रहरीको प्रेस नोटमा उल्लेख छ। पक्राउ परेका साहलाई बरामद पटाकासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट कात्तिक १० गते नै जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको छ। अदालतबाट लागू हुने गरी दिन ६ (छ) को म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।