विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज भएको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ४१ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । यसअघि टस जितेर स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् । नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यस्तै दोस्रो ओभरको दोस्रो बलमा दिलिप नाथलाई नेपाललाई गुमायो । आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो । नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको नाजुक स्थितिलाई अघि बढाएका थिए । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बाबेसम्ग पराजित भएको थियो ।
आजको पराजदयसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।