Wednesday, 23 May 2018 03:06 am, Nepal

डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश

मेचीकाली : 2018-01-08 19:18:20


केसीद्वारा आमरण अनशन शुरु
काठमाडौँ, २४ पुस :

सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।

आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन प्रा डा शशी शर्मालाई आइतबार पुनःवहाली गराउने अदालतको फैसलाविरुद्ध डा केसीले आजदेखि अनसन शुरु गर्नुभएको थियो ।

आज अनसन शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको समेत माग गर्नुभएको थियो ।

केसीद्वारा आमरण अनशन शुरु

 त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आजदेखि आफ्नो १४ औँ अनशन शुरु गर्नुभएको छ ।

अस्पतालमा पत्रकार सम्मेलन गरी प्रा डा केसीले सर्वोच्च अदालतले आइतबार आइओएमको चार वर्षअघिका डीन प्रा डा शशि शर्माको पुनःबहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएको हो ।

उहाँले भन्नुभयो,‘‘ चार वर्षपछि आएओएमको डीन पदमा बर्खास्त व्यक्तिलाई फर्काइनुका पछाडि भागबण्डाले धराशायी भएको आइओएमलाई पुन धराशायी र मनपरी रुपमा मेडिकल कलेजलाई सम्बन्धन दिने नियत लुकेकाले सो फैसला हामीलाई कदापि मान्य छैन ।’’

प्रा डा केसीले विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका डीन नै अहिले पनि वास्तविक डीन भएको बताउनुभयो ।

आइओएमका डीनबाट बर्खास्तमा पर्नुभएका प्रा डा शर्मालाई त्रिवि कार्यकारी परिषद्को २०७० पुस २५ गते बसेको बैठकले सोही साल पुस २८ गतेदेखि लागु हुने गरी चार वर्षका लागि अर्थात् यही पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।

परिषद्कै २०७० पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा डा राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेपछि शर्मा न्यायका लागि २०७० फागुन १ गते सर्वोच्च अदालत जानुभएको थियो । प्रा डा शर्माको नियुक्तिलाई बदर गरिएपछि वरिष्ठताका आधारमा प्रा डा श्रीवास्तवलाई डीन नियुक्त गरिएको थियो । प्रा डा श्रीवास्तवले राजीनामा दिएपछि हाल प्रा डा जगदीशप्रसाद अग्रवाल डीनका रुपमा रहनुभएको छ ।

प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि प्रा डा शर्मालाई पुनःबहाली गर्न आदेश दिएको थियो ।

प्रा डा केसी प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको तत्काल गठन र आइओएमका डीन पुनःबहाली खारेज माग गर्दै विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त डीनको निरन्तरतालगायत सातबुँदे मागका साथ त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन बस्नुभएको छ ।

पुनःबहाली हुनुभएका डीन प्रा डा शर्माले आफूले चार वर्षपछि न्याय पाएको जनाउँदै वरिष्ठताका आधारमा पनि आफू नै वरिष्ठ भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘‘ मैले चार वर्षपछि न्याय पाएको छु, चार दिनका लागि भए पनि म नै अहिले आइओएमको डीन हुँ ।’’

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु