Monday, 22 January 2018 08:18 am, Nepal

प्रत्यक्षतर्फको मतगणना सकियो

मेचीकाली : 2017-12-13 13:36:19


 एमाले बन्यो सबैभन्दा ठूलो दल
काठमाडौं, २७ मंसिर :

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै (१६५ वटै) निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा छ महिला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले)का १६८, नेकपा (माओवादी केन्द्र)का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ महिला उम्मेदवार विजयी भएका छन् ।

आयोगका अनुसार हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले १९ लाख ८९ हजार ५००, नेपाली काँग्रेसले १९ लाख चार हजार २०८, नेकपा (माओवादी केन्द्र) ले सात लाख ६८ हजार ३७८ र संघीय समाजवादी फोरम नेपालले दुई लाख ५२ हजार ६९८ मत प्राप्त गरेका छन् ।

दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले एक लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले एक लाख २३ हजार ६२, नयाँशक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)ले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ तथा अन्य दलले एक लाख ९४ हजार ४५३ मत प्राप्त गरेका आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु