Friday, 24 November 2017 12:27 am, Nepal

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

मेचीकाली : 2017-10-20 07:52:53


भक्तपुर, ३ कात्तिक :

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन् ।

यतिखेर नेपाली समाज तिहारमय भएको छ । सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ ।

म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।

म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ । मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ ।

त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ । म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा काँचो धागोमा रंङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ ।

म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा शरीरमा तीनपटकसम्म मुटुमारी (चामलको रोटी) सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ । अनि टीका लगाई माला लगाइन्छ ।

आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ । यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ । यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ ।

नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ । स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । उहाँका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भनी यो पूजा गरिन्छ ।

“आत्म सन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । यही म्हःपूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं”– उहाँ भन्नुहुन्छ, “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । यी पाँच तत्वका रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौँ ।” म्हःपूजा चेतनशील प्राणीले आफ्नो शरीरको रक्षा गर्न र शरीरलाई सधैँ स्वस्थ राख्न गर्ने भएकाले यसलाई सम्पूर्ण मानव समुदायले गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

म्हःपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको पाइन्छ, किनभने पञ्च मकारका रुपमा लिँदा अण्डालाई मैथुनका रुपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको देखिन्छ ।

म्हःपूजाको दिन नेपाल संवत् शुरु हुने दिन पनि हो । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैँ तन्दुरुस्त होस् भन्ने कामनाले पनि म्हःपूजा गर्ने प्रचलन शुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

म्हःपूजा कहिलेदेखि शुरु भएको वा कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउनुुहुन्छ ।

म्हःपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् शुरु भएको कथन पाइन्छ ।

सो कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ति चढाउँछन् । सोहीअनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन् । ती भरिया बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले ।

उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाको भारी आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाए । सोही खुशियालीमा आज पनि नेपाल संवत्लाई धुमधामका साथ मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु