Wednesday, 18 October 2017 11:25 am, Nepal

आठराई गाउँपालिकालाई जग्गा दिन होडबाजी

मेचीकाली : 2017-10-13 14:23:16


तेह्रथुम, २७ असोज :

तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो ।

गाउँपालिकाको भवन निर्माणसँगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीबीच होडबाजी चलेको हो ।गाउँपालिकालाई छ रोपनीदेखि ३१ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउछु भन्दै छवटा निवेदन परेको छ । बजार नजिकको आफ्नो ३१ रोपनी जमिन गाउँपालिकालाई उपलब्ध गराउने भन्दै स्थानीय रमेश सिटौलाले आवेदन गर्नुभएको छ ।

यस्तै, गोपाल गुरुङ, कोषराज प्याकुरेल, तुलसा सिटौला, महेन्द्र विमली र झुमनाथ काफ्लेले पनि छ÷छ रोपनी जमीन दिने आवेदनमार्फत बताएका गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चौलागाईंले बताउनुभयो ।वरिपरि सरकारी जग्गा नरहेको जग्गामध्ये बजार विस्तारका लागि उपयुक्त हुने जग्गा छनोट गरी लिइने सामान्य मापदण्ड तयार भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

“गाउँपालिकालाई एउटामात्रै जग्गा चाहिएको हो,” उहाँले भन्नुभयो, “छ जना जग्गाधनीले आवेदन गर्नुभएको छ, हामी एउटा आधार तय गरेर उहाँहरुको जग्गा लिन्छौँ ।” गाउँपालिकाले कम्तीमा छ रोपनी जग्गा उपलब्ध गराइनुपर्ने सर्त राखेको छ ।तर गाउँपालिकाको पहिलो सभाले जग्गा अधिग्रहणका सम्बन्धमा निर्णय लिएपछि मात्रै जग्गा लिने प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अहिले आफ्नै भवन नहुँदा घर भाडामा लिएर कार्यालय सञ्चालन भइरहेको छ । साँघुरा कोठामा कार्यालयको कार्यसम्पादन गर्नुपर्दा समस्या हुनेगरेको कर्मचारी बताउँछन् ।गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि यसअघि नै सरकारले रु छ करोड बजेट उपलब्ध गराउने जनाइसकेको छ । जग्गा लिएपछि यही वर्षबाट भवन निर्माणको काम पनि सुरु गरिने अध्यक्ष लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु