Monday, 26 June 2017 02:27 am, Nepal

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको रुइसे

रासस : 2017-03-21 08:30:39


म्याग्दी- सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । 

समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । पूर्वमा माछापुच्छ«ेदेखि अन्नपूर्ण, नीलगिरि, धौलागिरि तथा पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजिकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख विशेषता हो । यो क्षेत्र यतिबेला जङ्गलमा फुलेको राताम्मे गुराँस फूलले थप सु–सज्जित बन्न पुगेको छ । धौलागिरि आइसफल पदमार्गको दायाँबायाँका जङ्गल गुराँस फुलेसँगै राताम्मे बनेका छन् । विशेषगरी रुइसे–भेडीओढारसम्म स्थानीयवासी पुग्ने गरेपनि आवश्यक प्रचार–प्रसारको अभावमा प्राकृतिक सौन्दयले भरिपूर्ण रुइसे–भेडिओढार क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा रहेको छ । 

रुइसे र भेडिओढार क्षेत्रमा रहेका भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिने गर्छन् भने चरन क्षेत्रमा रहेका भेडाबाख्राको दृश्य पर्यटकका लागि पनि आकर्षण बन्ने गरेको पाइन्छ । अग्ला पहाडमा हरियाली जङ्गलले सुसज्जित रुइसे क्षेत्र दन्तेलहर जस्तै देखिने आधा दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्य अवलोकन र गुराँसे जङ्गलमा रमाउनका लागि आकर्षक रहेको रुइसे–भेडिओढार पर्यटन विकास समितिका अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो । पाँच वर्षअगाडि टान पोखराको नेतृत्वमा धौलागिरि आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रका बारेमा प्रचार–प्रसार हुन थालेको हो । म्याग्दीको गलेश्वरदेखि सुरु हुने धौलागिरि आइसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनेमङ्गलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ । पदमार्गको पहिचान भएपश्चात् यस क्षेत्रमा अहिले पर्यटन पूर्वाधारको विकास भइरहेको छ ।

तीन वर्षअगाडि भगवती र पिप्लेका सरोकारवालाले रुइसे–भेडिओढार पर्यटन विकास समिति गठन गरेर यस क्षेत्रको प्रचार–प्रसार र पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । गत वर्ष जिविसको आर्थिक सहयोगमा रुइसेको रिवाङचौरमा जग्गा सम्याउने काम गरिएको र यो वर्ष नै विभिन्न क्षेत्रबाट सहयोग जुटाएर त्यसमा सामुदायिक लज निर्माण गर्ने योजना बनाएको समितिका अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार पदमार्गको नक्साङ्कन, पर्यटक बास बस्ने ठाउँमा क्याम्पिङ साइट निर्माण, खानेपानीको सुविधा विस्तार जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणको काम सम्पन्न गर्नका लागि बजेट अभाव भएको छ । गलेश्वर हुँदै सुरु हुने उक्त पदमार्गका लागि यो वर्ष पर्यटन मन्त्रालयले रु १० लाख बजेट विनियोजन गरिसकेको छ भने धौलागिरि आइसफल पदमार्गलाई समेत छुट्टै रु १० लाख बजेट विनियोजन भएको छ । भेडिओढारसम्म पुग्नका लागि पहिले स्थानीयवासीले जङ्गल जाँदा प्रयोग गर्दै आएको बाटोलाई नै मर्मत गरिएको छ भने त्यसलाई अझै व्यवस्थित बनाउने समितिको तयारी छ ।

“पहिले रुइसे क्षेत्र दाउरा घाँस र वस्तुभाउको गोठ राख्ने थलोका रुपमा चिनिन्थ्यो, धौलागिरि आइसफल पदमार्ग पहिचान भएपछि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ, अहिले प्रचार–प्रसारले समेत गति लिन थालेपछि हामी उत्साहित बनेका छाँै”– भगवती–८ सिजलगाउँका स्थानीय युवा हरि भण्डारीले भन्नुभयो । उहाँले बेनी–जोमसोम पदमार्गमा सडक सञ्जाल विस्तार भएसँगै म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले धुलो, सास्ती र पदमार्गको अभाव खेपिरहेको अवस्थामा रुइसे हुँदै लेते निस्कने धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सके वैकल्पिक र उत्कृष्ट पदमार्गका रुपमा विकास गर्न सकिने बताउनुभयो । मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेडीओढार क्षेत्रबाट म्याग्दी, बागलुङ र पर्वतका विभिन्न स्थानहरुलाई एकैठाउँबाट अबलोकन गर्न सकिन्छ भने यसक्षेत्रबाट बिहानीको सूर्योदयको दृश्य मनमोहक देखिन्छ । पूर्वको माछापुच्छे्र नजिकबाट उदाएको सूर्यका किरण पश्चिममा रहेको धौलागिरि, चुरेन र गुर्जा हिमालमा ठोक्ँिकदा मुस्कुराउँदो हिमालको लोभलाग्दो दृश्यावलोकन गर्न पाउँदा त्यहाँ पुग्ने जो कसैको मन फुरुङ्ग हुने रुइसे–भेडीओढार पर्यटन विकास समितिका सदस्य रिम मल्लले बताउनुभयो । उहाँका अनुसार भगवतीसम्म यातायात सहज गराउन सके सडक र पदयात्रा दुवैमार्फत पर्याप्त पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । 

भगवतीको सिजलगाउँ र साझापानी बस्तीदेखि माथि थाप्लोमा घनाजङ्गल, पहाडी भूबनोट र ठूला घाँसेमैदान रहेको रुइसे भेडिओढार क्षेत्रसँग पिप्ले, बेगखोला र दग्नाम गाविससमेत जोडिएकाले यो क्षेत्रको पर्यटन विकास गर्न सकेमा अहिले घोषणा गरिएको रघुगङ्गा गाउँपालिका क्षेत्रकै विकासमा महत्वपूर्ण टेवा पुग्ने सम्भावना रहेको हालै रुइसे क्षेत्रको भ्रमणमा पुगेका स्थानीयवासी विनोद केसीको भनाइ छ । विशेषगरी भगवती, कलेजाबाङ, सिजलगाउँ, साझपानी र बेगखोलामा होमस्टे र रुइसेमा सामुदायिक लज निर्माण गर्नुपर्नेछ भने भगवती हुँदै रुइसेको डिलसम्म पुगेको सडकलाई स्तरोन्नति गरी सहजरुपमा यातायातका साधन आवतजावत गर्न सक्ने बनाउनुपर्ने देखिन्छ । भेडिओढारमा ठूलो चट्टाने प्राकृतिक भ्युटावरबाट देखिने सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिने यो क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छ । जिल्लाकै पुरानो कोटमन्दिरका रुपमा चिनिने भगवती कोट मन्दिरसँगै भूमे मन्दिर, नौली बराह, देउराली मन्दिर लगायतका धार्मिकस्थल रहेकाले यस क्षेत्र धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको भगवतीका अगुवा देवेन्द्रबहादुर मल्ल बताउनुहुन्छ ।

नौली बराह नजिकै रहेको एक ढुङ्गाको खोप्टीमा कहिल्यै नसुक्ने पानीले सबैलाई आश्चर्यमा पार्ने गरेको छ । बाइसे चौबिसे राज्यको पालामा तत्कालीन राजाले राज्य गरेको रुइसेमा तत्कालीन राजाले हात्ती बाँध्ने स्थान, पानीखाने कुवा, राजाका सहयोगीले आराम गर्ने स्थान लगायतका अवशेष रहेका छन् । यस क्षेत्रमा रहेका प्राचीन सम्पदाको खोजी गर्न सकेमा यस क्षेत्रको पर्यटन विकासले थप गति लिने स्थानीयवासीको भनाइ छ । गलेश्वर हुँदै पदयात्रामार्फत साढे एक घन्टामै भगवती पुग्न सकिने र त्यहाँबाट केही समयमै रुइसे भेडिओढार क्षेत्रमा पुग्न सकिने भएकाले एक दिनको पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यको खोजीमा रहेका पर्यटकका लागि यस क्षेत्रमा भम्रण गर्नु उत्तम हुने भगवतीका अगुवा रिम कटुवाल बताउनुहुन्छ ।

भगवतीको सिजलगाउँ र साझापानी तथा पिप्लेको कलेजाबाङ र अक्षताबाट पनि रुइसे सजिलैसंग पुगिन्छ । पदयात्रा गर्नको लागि गलेश्वरबाट पिप्ले, भगवती हुँदै रुईसे पुगेर कलेजाबाङ – मौवाफाँट र अर्कोतर्फ बेगखोला हुँदै फर्कन पनि सकिन्छ । त्यसका लागि पदमार्ग लगायतका पूर्वाधार निर्माण गर्नु अति आवश्यक देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु