Wednesday, 20 September 2017 06:44 pm, Nepal

विश्व चर्चामा सन् २०१४

मेचीकाली : 2014-12-27 17:07:55


-एकराज पाठक

यस वर्षको विश्व राजनीतिको चर्चा गर्दा चर्चाको शिखरमा रहे संयुक्त राज्य अमेरिका र रसिया । यसको कारक थियो युक्रेनको क्रिमिया क्षेत्र । यस वर्षको मार्च महिनाअघिसम्म युक्रेनको रहेको क्रिमिया प्रायद्वीप त्यसपछि रसियाको भाग बन्ने प्रयोजनका लागि सुरु भएको जनमत सङ्ग्रहले विश्व राजनीतिलाई हपक्कै ततायो ।     पहिले रसियाकै रहेको यो भूभाग सोभियत सङ्घ विघटन हुँदा युक्रेनको अधिनमा रह्यो र सन् २०१४ को सुरुवातसँगै रसियाकै बन्ने अभियान थाल्यो ।
यस अभियानले विश्वका दुई शक्तिसम्पन्न राष्ट्र अमेरिका र रुसको आन्तरिक राजनीतिलाई पनि सतहमा ल्याइदियो । यतिसम्म कि यी दुई देशका राष्ट्रपतिबीच तिक्तता नै पोख्ने अवस्था आयो ।

      यसै वर्षको मार्च महिनामा यस प्रायद्वीपले औँपचारिक रूपमा रसियाको भूभाग भएको वैधानिकता प्राप्त गरेसँगै त्यसको वैधताको प्रश्न अमेरिका र प्रायः सबैजसो पश्चिमा राष्ट्रले उठाए । यसरी भाषा र संस्कृति मिलेकै आधारमा कुनैपनि देशको कुनै भूभागले जनमतसङ्ग्रहका नाममा निर्णय गरी अर्कै देशसँग विलय हुन पाइने हो वा होइन भन्ने बारेको यो बहस रसिया र अमेरिकाको सीमाक्षेत्र नाघी विश्वमा नै फैलियो ।

    यसो गर्न पाइने हो वा होइन भन्ने यो बहस एकातर्फ चलिरहँदा अमेरिका र रसियाका पक्ष र विपक्षमा विश्व नै लागेको परिदृश्यले तेस्रो विश्वयुद्ध त निम्त्याउँदैन भन्ने चिन्ता र चासोले अर्काेतर्फ मानौँ कि विश्व नै ढाकेको थियो । यही विवादकै पृष्ठभूमिमा युक्रेनकै पूर्वी भागका बासिन्दाले पुनः नयाँ विवादलाई जन्मदिए आफूहरू पनि रसियामा विलय हुनपाउनुपर्छ भनेर ।

    यसरी युरोपको एक देशको अस्तित्वकै प्रश्नको पक्ष र विपक्षमा पूरै युरोपसहितका पश्चिममा राष्ट्र र रसिया उभिए । पूर्वी युक्रेनको त्यो विवाद अहिले पनि कायमै छ र त्यसले विद्रोहको रूप लिएको अवस्था छ । त्यहाँ रसियाको घुसपैठ छ भन्ने आरोप अमेरिका र सबै पश्चिमा राष्ट्रको छ भने रसिया सधैँं त्यसको विपक्षमा छ । यो पक्ष र विपक्षले गत अक्टोबरमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा पनि स्थान पायो । त्यहाँ पनि विश्वसमुदाय यसको पक्ष र विपक्षमा उत्रियो ।

    यसै कारणले केही महिनामात्र अघि अष्ट्रेलियाको मेलबर्नमा भएको जि२० को बैठक छिटै छोडेर रसियाली राष्ट्र भ्लादिमिर पुटिन भाग्नुपरेको थियो । क्रिमियालाई रसियाले अवैध तरिकाले आफ्नो देशमा गाभेको भनी पश्चिमा राष्ट्रले निरन्तर रूपमा आक्रमण गरेपछि उहाँ छिटै सो बैठक छोडेर भाग्नुभएको थियो ।    

    मध्यपूर्वले यस वर्ष पनि विश्व राजनीतिको ध्यान तानेको छ । सिरिया सन् २०११ पछिदेखि नै निरन्तर रूपमा चर्चाको शिखरमा छ । तर त्यस देशले राम्रो काम गरेर विश्वव्यापी रूपमा यो चर्चा पाएको होइन । नागरिक हत्याको शृङ्खला यस वर्ष पनि सिरियामा रोकिएन र चारवर्षे अघिदेखि प्रजातन्त्रको माग गरी आएका सिरियाली नागरिकमा यस वर्ष पनि वर्षैभरि मारिने, देश छोडेर भाग्ने तथा देशभित्रै शरणार्थीको नारकीय जीवन बिताउने नियती कायम रह्यो ।

    यस वर्षको अर्काे चर्चा छायो इजिप्टमा । सेनाले दुई तिहाइ बहुमत हासिल गरेको सरकारलाई अपदस्थ गरी आफैँ सरकार निर्माण गरेको इजिप्टमा आन्दोलनमा उत्रिएका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका कार्यकर्ता हजारौँलाई मृत्युदण्ड दिने निर्णय भयो र यसलाई मानवअधिकारको कसीमा राखेर विश्वव्यापी रूपमा प्रश्न उठाइयो ।

    विश्वको राजनीतिमा चर्चाको शिखरमा रहेको अर्काे घटना हो हङकङको आन्दोलन । त्यहाँका विद्यार्थीले आगामी आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठ्न पाउनुपर्ने भनी प्रजातन्त्रको मागगर्दै सुरु गरेको सो आन्दोलनले कयौँ हप्ता लिइसकेको छ । तर पनि त्यसमा कुनै पनि अवस्थामा चिनियाँ सरकार तयार नभएपछि आन्दोलन अहिले पनि जारी छ । लाखौँलाख विद्यार्थीले हप्तौँसम्म सडकमै बिताएको खबर विश्वका सञ्चारमाध्यमको आमुख पृष्ठ नै प्राप्तगर्न सफल भएका थिए ।

    गैरराजनीतिक चर्चाको कुरा गर्ने हो भने विश्वलाई सताएको घटना हो इबोलाको सङ्क्रमण । पश्चिम अफ्रिकी देशबाट सुरु भएको यस सङ्क्रमणले विश्वका धेरै देशमा ठूलो तनाव उत्पन्न ग¥यो र पाँच हजारभन्दा बढी व्यक्तिको ज्यान लियो । यस रोगले विशेषगरी पश्चिम अफ्रिकी देशलाई नराम्रोसँग थला पा¥यो । जनको मात्र नभई त्यहाँ धनको पनि ठूलो क्षति भयो । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र नर्स नै यसका शिकार बनेपछि विश्वमा नै ठूलो त्रास फैलियो । अहिले पनि यसको त्रास बाँकी छ र यो महामारीको मुखबाट उम्किनसक्ने भरपर्दाे ओखती पत्ता लाग्न सकेको छैन ।        

    वर्षको सुरुतिर मलेसियाली विमान हराएको समाचार आयो र त्यो समाचारले सन् २०१४ लाई नै रहस्यको भुमरीमा छोडेर गयो । त्यति ठूलो जेट बिमानको एउटा पनि टुक्रा कतै नभेटिनुले अहिले पनि विश्वमा यो रहस्यमय घटना बनेको छ । त्यस्तै युक्रेनको पूर्वी क्षेत्रमा विद्रोह गरिरहेका विद्रोहीले मलेसियाकै अर्काे विमान खसालेको घटनाले पनि चर्चा पायो । यद्यपि उनीहरूले अहिले पनि त्यसको जिम्मेवारी लिएका छैनन् ।

    चिनियाँ अर्थतन्त्रको उकालो यात्राले पनि विश्वका सञ्चारको ध्यान तान्न सफल भएको छ । यो समृद्धिको यात्राले उकालो लागेको मात्र नभई विश्वको पहिलो अर्थतन्त्र बन्ने शुभयात्राको सुरुवात गरेकाले पनि यसले चर्चा पायो । एसियाली अर्थतन्त्रका लागि यो ठूलो समाचार हो र निकै पहिलादेखि नै पहिलो अर्थतन्त्रका रूपमा रहेको शक्ति राष्ट्र अमेरिकालाई उछिन्न लागेको यस तम्तयारीले चर्चा पाउनु स्वाभाविकै हो ।    

    पछिल्ला वर्षमा विश्वको चर्चित पुरस्कार नोवेल शान्ति पुरस्कारले पनि सकारात्मक या नकारात्मक चर्चा पाउन थालेको छ । तर केही वर्षयता भने यस पुरस्कारले बढी आलोचनाको सामना गर्नु परिरहेको छ । यसवर्ष यो पुरस्कार प्राप्त गर्ने १७ वर्षीया युवती पाकिस्तानी मलाला युसफजईका कारण यस वर्ष यस पुसस्कारले चर्चा पाएको हो । त्यति ओजिलो पुरस्कार लगभग बालिकाकै उमेरकी ती युवतीलाई दिनुहुन्थ्यो वा हँुदैनथ्यो भन्ने बारेको बहसले विश्वसम्म नै स्थान पाएको थियो ।

    वर्षको उत्तरार्धतिर अथवा भनौँ यसै महिना आएर पनि चर्चाको शिखरमा अमेरिका नै देखिएको छ । दशकौँदेखि आर्थिक नाकाबन्दी लगाई लगभग पानी बाराबारको अवस्थामा रहेको अमेरिकाको छिमेकी राष्ट्र क्युबासँग सम्बन्ध सुधारका लागि अमेरिकाद्वारा गरिएको प्रयास साँच्चिकै चासोकै समाचार थियो । यससँगै उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि पनि एकाध प्रयासहरू भएको पाइएकाले यस विषयले पनि पछिल्लो समयमा केही चर्चा पाएको हो ।

विश्व चर्चाको यस वार्षिक यात्रालाई दक्षिण एसियाको घेराभित्र ल्याउने हो भने पक्कै पनि भारतमा मोदीको उदयले सबै चर्चालाई उछिन्ने छ । भारतमा दस वर्षको काँग्रेस शासनपछि भारतीय जनता पार्टीले प्राप्त गरेको बहुमतले दक्षिण एसियाली भूगोलमा चर्चा पायो र अहिले पनि उहाँको आर्थिक विकासको मोडेलको भारतीय मात्र नभई यहाँका क्षेत्रीय राष्ट्रले पनि प्रतिक्षापूर्ण अवस्थामा छन् । 

    त्यस्तै पाकिस्तानको पेसावरमा अवस्थित एक विद्यालयमा तालिवानले गरेको आक्रमण र बालबालिकाको हत्याको समाचारले विश्वका करोडौँ आमाबुबाको मन रुवायो । यसले विश्वमा यसअघि भन्दै आएजस्तै आतङ्कवादीको मुटु र भावना हँुदैन भन्ने भनाइलाई थप पुष्टि गर्न सघाएको छ । दक्षिण एसियाली अर्काे राष्ट्र अफगानिस्तानमा दिनहूँजसो हुने गरेका तालिवानको आक्रमण तथा सैनिक कारबाहीमा उनीहरूको मृत्युको समाचार गएको दशकयताका दुःखद घटना हुन् । रासस÷विभिन्न समाचार समितिको सहयोगमा   

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु