Wednesday, 26 September 2018 02:52 pm, Nepal

वित्तीय सहयोग गर्न चीनसँग महाथिरको आग्रह

एजेन्सी : 2018-08-20 13:16:29


बेइजिङ, ४ भदौ :

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गर्नुभएको छ । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले पूर्व प्रधानमन्त्री नजीब रजाकले चिनीया राज्य–प्रबद्र्धित परियोजना स्वीकृत गर्दा ठूलो आर्थिक हिनामिना गरेको र मलेसियाको आर्थिक परिस्थितिलाई दाउमा राखेको आरोप लगाउँदै आउनुभएको छ ।

महाथिरको सरकारले चिनीया सहयोगमा सञ्चालित २२ अर्ब डलरभन्दा बढीका परियोजना निलम्बित गर्नुभएको छ जसमा एउटा प्रमुख रेलसेवाको निर्माण समेत रहेको छ । महाथिरले आफ्नो पाँच दिने चीन भ्रमणका क्रममा उहाँकै शब्दमा “अन्यायपूर्ण” सम्झौताहरुका विषयमा चीनसमक्ष औपचारिक कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनीया समकक्षी ली केक्वाङसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा महाथिरले विशेष कृषि उत्पादनहरु मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएकोमा धन्यवाद दिनुभयो । तर उहाँले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।

“मेरो विश्वास छ चीनले हाम्रा समस्यामा सहानुभूतिपूर्वक विचार गर्नेछ र हाम्रो आन्तरिक वित्तीय समस्या सुल्झाउन हामीलाई मद्दत दिनेछ,” उहाँले भन्नुभयो ।

नौ वर्षीय शासनकालमा पूर्व प्रधानमन्त्री नजीबमाथि चीनसँग साँठगाँठ गरी ठूलो मात्रामा ऋण लिएको र त्यही ऋणको चेपुवामा पारेर मुलुकको अर्थतन्त्र बर्बाद पारेको आरोप लाग्ने गरेको छ ।

गत साता, महाथिरले चीनसँग विगत सरकारले गरेका सम्झौताहरु रद्द गर्ने वा परिमार्जन गर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो, “हाम्रो सर्वाधिक महत्वपूर्ण कुरा नै पैसा बचाउनु हो ।”

महाथिरले मलेसियाको राष्ट्रिय ऋण कटौती गर्न खोजिरहनु भएको छ, जुन २५० अर्ब डलर पुगिसकेको छ ।

चीनसँग जोडिएका ठूला परियोजनाका करार तोड्ने चेतावनीका बाबजूद महाथिरले आफ्नो चीन भ्रमणका क्रममा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ गर्न प्रयास गरिरहनु भएको छ ।

उहाँले चीन भ्रमणका क्रममा विशाल ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माँ सँग भेट गर्नुभएको छ । उहाँ चिनीया सवारी साधन निर्माता कम्पनी गिली र मलेसियाली कार निर्माता प्रोटोनबीचको सहयोग सम्झौता कार्यक्रममा सहभागी हुनुभयो । मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो, र मलेसियाको ठूलो जनसंख्या चिनीयामूलको छ ।

द्विपक्षीय सम्बन्ध विगतको सरकारसँग ज्यादै न्यानो थियो, र प्रमुख पूर्वाधार र निर्माण परियोजनामा चीनसँग हस्ताक्षर भएसँगै चिनीया लगानी पनि बढेको थियो । तर आलोचकहरुले यस्तो लगानीमा पारदर्शिता र शर्तहरुका बारेमा प्रस्ट नभएको बताउँदै आएका छन् जस्तै, ऋणको ब्याजदर ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु