दैलेख, १८ पुस : छोराले अन्तरजातीय विवाह गरेका कारण हत्या गरिएका दैलेखको तोली गाविस–२ धनीगाउँका सेते दमाईलाई शहीद घोषणा र राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिलाउन दैलेखमा दलित नागरिक समाज संगठनहरुले सेते दमाई शहीद संघर्ष समिति गठन गरिएको छ ।
दैलेख, १० पुस : दैलेख कटी गाविस ४ चिपिनका मानबहादुर रोकाय सुुदूरपश्चिम क्षेत्रीय प्रहरी गण मुख्यालय धनगढी मातहतको २ नं गुल्म धनगढीबाटै बेपत्ता पारिएको भन्दै परिवारले खोजी गरिदिन दैलेखस्थित नेपाल मानव अधिकार सङ्गठनलाई आग्रह गरेको छ । प्रहरी जवानका बाबु टोपबहादुर रोकायले खोजतलास गरी पाऊँ भन्दै सङ्गठन जिल्ला शाखा दैलेखमा बिहीबार निवेदन दर्ता गराएको अध्यक्ष दीर्घराज अधिकारीले जानकारी दिनुभयो ।
दैलेख, १४ मंसिर : दैलेख जिल्ला अदालतले दैलेखमा अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउने छ जनालाई जनही रु पाँच–पाँच हजार जरिवाना र आठ–आठ महिना जेल सजाय तोकेको छ । दैलेखको जगनाथ गाविस वडा नं. ६ निवासी अमृत विक र त्यही कै सविता शाहीको अन्तर्जातीय विवाहलाई जातीय हिसाबले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासँग विवाह गराएको मुद्दामा जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले मङ्गलबार सो सजाय तोकेको हो ।
दैलेख, १५ कात्तिक : बिष्कुट चोरेको निहुँमा दैलेखमा एक् बाबुले छोराका औंला काटिदिएका छन् । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिका वडा नं. २ का लोकबहादुर थापाले आफ्नो ८ वर्षो जेठो छोरा केशव थापाले एउटा पसलमा बिष्कुट चोरेको आरोपमा अचानोमा राखेर बायाँ हातका २ वटा औंला काटी दिएका हुन् । पसलेले छोराले बिष्कुट चोरेको सुनाए लगतै घरमा पुगेर लोकबहादुरले छोराका औंला काटेका हुन् ।
दैलेख, १३ कात्तिक : दैलेखको दुर्गम गाउँ तोलीजैसी आग्राका एक शिक्षकले भीरबाट हामफालेर आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार तोलीजैसी गाविस–५ निवासी ४१ वर्षीय धीरबहादुर शाहीले शनिबार घर नजिकैको अँधेरीखोलामा हामफालेर आत्महत्या गरेका हुन् । प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ ।