कलैया, १३ पुस : जिल्ला प्रहरी कार्यालय बाराले अपहरणकारीलाई लुकाइ राखेको आरोपमा धर्मनगर–९ बस्ने ५५ वर्षीय नन्दलाल साहलाई आज पक्राउ गरेको छ । बारा भोडाहा–४ बस्ने ५० वर्षीय महेन्द्र चौधरीलाई केही अज्ञात व्यक्तिहरुले घरबाट अपहरण गरी साहको घरमा यही पुस १० गते लुकाइ राखेका थिए ।
बारा, १३ पुस : बाराको औराहास्थीत शान्त्ति टोलमा गएराती डाँकाको कुटपिटबाट १२ जना स्थानीयबासी घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २५÷३० जनाको सङ्ख्यामा आएको डाँकाको समूहले गएराती स्थानिय तीलप्रसाद सुवेदी र चुडामणी पौडेलको घरमा डकैती गर्ने क्रममा कुटपिट गरेका थिए ।
कलैया, १२ मंसिर : बारा जिल्ला भगवानपुर–७ मा गएराति आगलागी हुँदा छ परिवारको छ घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १४ लाख बराबरको धनसम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल बोडर आउटपोस्ट गोलगन्जका निरीक्षक पङ्कज पौडेलले बताउनुभयो । स्थानीय हरिचन्द्र साह कानुको घरबाट आगलागी सुरु भएको थियो ।
बारा, ४ कात्तिक : गएराती बाराको गञ्जभवानीपुरमा प्रहरीले चेक जांचका क्रममा तीन जनालाई हतियार सहित पक्राउ गरेको छ । वरियारपुर ९ का अनिल गिरि, जितेन्द्र गिरि र चन्द साहलाई प्रहरीले एक थान कटुवा पेस्तोल र सोको गोली दुई थान र एक थान चक्कु सहित पक्राउ गरेको हो । उनीहरुले हतियार देखाइ लुटेर ल्याएको सुनको झुम्का मंगलसुत्र र पाउजु पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ ।
बारा, २७ असोज : बीरगंज-पथलैया सडक खण्डको बाराको पिपरा सिमरा गाविसमा शुक्रवार विहान साढे ३ बजे यात्रुवाहक रात्री बस पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ । सात जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको हात-खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा वीरगंज उपमहानगरपलिका १९ का १८ बर्षीय बीवेक श्रेष्ठ र १४ बर्षीय राजधानी श्रीवास्तव छन् ।